‘न्यायाधीशमा ‘हीरा’ टिपेर ल्याएँ’

‘न्यायाधीशमा ‘हीरा’ टिपेर ल्याएँ’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन्। न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रहसमेत गरे।

काठमाडौंमा शनिबार आयोजित न्यायाधीश समाजको वार्षिक साधारणसभामा प्रधानन्यायाधीश जबराले उच्च अदालतमा न्याय परिषद्ले सम्मान गरेका न्यायाधीश ल्याउने वातावरण नभएको पनि बताए। ‘न्यायाधीशको अनुभव भएको, कानुन व्यवसायीको अनुभव भएको, हामीमध्येबाट नै बलजफ्ती गरेर पठाएको, डक्ट्रेड गरेको व्यक्तिलाई लिएर आउनु भनेको भेस्टे«ट इन्ट्रेस्ट छ,’ प्रधानन्यायाधीश जबराले भने, ‘तपाईहरू बीचमा रहेका राम्रा व्यक्तिहरूलाई ल्याउने परम्परा सुरु गर्न सकुँ भन्ने मेरो पवित्र लक्ष्य हो।’

प्रधानन्यायाधीशले न्यायाधीशहरूलाई प्रतिप्रश्न गर्दै थपे, ‘आज मैले एउटा न्यायाधीशबाट बाहिर गएको व्यक्तिलाई स्थान दिँदा स्वीकार्य हुँदैन भने तपाईहरू बीचमा गएर, समुद्रको तल्लो फेदमा गएर, नियुक्त गरेर, लिएर आएँ भने तपाईहरू स्वीकार्नुहुन्छ ? मान्नुहुन्छ ? तपाईहरू बीचमा हीरा हुनुहुन्छ, तर त्यो हीरा टिप्ने प्रवृत्तिलाई किन निरुत्साहित गरिन्छ ? मैले बुझ्न सकिनँ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।