बिहार विधान सभा : जितेर ‘हारेका’ तेजस्वी अनि हारको ‘ताज’ पहिरिँदै नीतीश

बिहार विधान सभा : जितेर ‘हारेका’ तेजस्वी अनि हारको ‘ताज’ पहिरिँदै नीतीश

ज्ञानमित्र  |  दृष्टिकोण  |  कार्तिक २६, २०७७

तमाम राजनीतिक विश्लेषक, पण्डित, महापण्डित, ‘प्री–पोल’ र ‘पोस्ट–पोल’का हावा वैज्ञानिक एवं मोदी विरोधकै लागि बाँची रहेका स्वनामधन्यहरूको अनुमान, भविष्यवाणी र कयासमा अस्वीकृतिको ठप्पा लगाउँदै बिहारका जनताले भर्खरै सम्पन्न भएको बिहार विधान सभा चुनावमा (मोदी– नीतीश)कै एनडीए गठबन्धनलाई निरन्तरता दिने जनादेश दिए ।

सात नोभेम्बरमा तेस्रो चरणको निर्वाचन सम्पन्न हुनासाथ ‘इडियट बक्स’मा देखाइएका  अधिकांश चुनावी सर्वेक्षणले बिहारमा लालटिन युग फर्किने दावी गरेका थिए ।  

अधिकांश सर्वेक्षणले सत्ताको साँचो महागठबन्धन (लालुको छोराको दल– काँग्रेस–वाम घटक) ले उछिट्ट्याउने आँकलन गरेका थिए ।

एउटा मात्रै होइन, सबै मिडियाका ‘पोस्ट पोल’ले महागठबन्धनलाई स्पष्ट बहुमत प्राप्त हुने दावी गरिरहेका थिए । २४३ सदस्यीय बिहार विधान सभामा बहुमतको लक्ष्मण रेखा ‘क्रस’ गर्न १२२ स्थानमा जीत आवश्यक हुनेमा ‘पोस्ट पोल’ले महागठबन्धनलाई १८० विधान सभा  क्षेत्रमा विजय प्राप्त हुने सम्भावनासम्म व्यक्त गरेका  थिए ।

दस नोभेम्बरका दिन मतगणना प्रारम्भ भएर दिनभरि नै अन्यौलकै स्थिति रह्यो । साँझ ६ बजेसम्म महागठबन्धन ११० सिटमा र एनडीए गठबन्धन १२३ सिटमा ‘लिड’ गरिरहेका थिए ।

साथै भंयकर अन्योलको स्थिति कुन कारणले थियो भने मतगणना भइरहेका २६ स्थानमा प्रत्याशीको अग्रता एक हजार भोट भन्दा पनि कम रहेको थियो । 

टेलिभिजनमा बसेका विभिन्न विश्लेषक र न्युज एङ्कर बारम्बार, ‘पिक्चर अभी बाँकी है मेरे दोस्त’ भनी रहेका थिए ।

हुन पनि यी हजार भन्दा कम मतान्तर भएका विधान सभा क्षेत्रका परिणामले नीतीशको तीरले लक्ष्य भेदन गर्ने अथवा वर्षौँ देखि कुनामा थन्किएको लालटिन प्रज्वलित हुने दुबै  सम्भावना उत्तिकै प्रबल थिए ।

पिक्चर राति १ बजेतिर बाँकी रहेन, सम्पूर्ण परिणाम घोषित भए । यस अनुसार नीतीशले अगुवाइ गरेको एनडीए गठबन्धनले स्पष्ट बहुमतको आँकडा ‘क्रस’ गर्दै १२५ स्थानमा विजय हासिल गर्‍यो । लालुका सुपुत्र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनले ११० स्थानमा विजय प्राप्त गरेर विपक्षमा बस्ने जनआज्ञा पायो ।

एक पटक पुनः चुनावका दौरान करोडौँ खर्च गरी गरिने सर्वेक्षणको औचित्य माथि प्रश्न उठ्यो, आखिर यी हवाई किल्ला बनाउनुको अर्थ के ?

यी ५९ स्थान मध्ये मोदीको भारतीय जनता पार्टीले उत्तर प्रदेशका ७ मध्ये ६ स्थानमा ,तेलांगानाको १ मध्ये १ स्थानमा , मणिपुरको ५ मध्ये ४ स्थानमा , मध्य प्रदेशको २८ मध्ये १९ स्थानमा ,कर्नाटकको २ मध्ये २ स्थानमा र गुजरातको ८ मध्ये ८ वटै स्थानमा गरी ५९ मध्ये ४० स्थानमा विजय पाएको छ ।

नीतीशको तीन वटा कार्यकालको ‘इन्टर इनकमब्यांसी  फ्याक्टर’, नीतीशको राजनीतिक अस्थिरताजन्य चरित्र, चुनावका मुखमा आएर एनडीए  गठबन्धनको घटक दल  लोक जनशक्ति पार्टी(लोजपा–चिराग पासवान)ले  विद्रोह गरी बिहारमा एक्लै चुनाव लड्ने घोषणा गर्नु, चुनावमा चिराग पासवानले भारतीय जनता पार्टीको विरोध नगरी नीतीशको मात्रै विरोध गर्ने रणनीति, चिराग पासवानको अराजक एवं शङ्कास्पद गतिविधि प्रति मोदी–शाह–नड्डाको मौनता, कोरोनाका कारण दुःख पाएका लाखौँ बिहारीजनको आक्रोश लगायत बेरोजगारी एवं विभिन्न स्थानीय स्तरका समस्या समाधान गर्न नसक्ने सत्ता पक्षीय अकर्मण्यताले एक पटक त ‘पोस्ट पोल’ कतै परिणाममै परिवर्तित हुने त होइनन् भन्ने आशङ्का जो कोहीलाई पनि भएकै हो ।

मुखर भोटर, युवा भोटरको सक्रियता पनि महागठबन्धनकै पक्षमा ओर्लेको थियो । ‘साइलेन्ट भोटर’ भनिने महिला मतदाताकै ‘करिश्मा’ भयो जसले सत्ताको साँचो पुनः एनडीएकै  हात लाग्यो । अब सम्पूर्ण चुनाव परिणाम आई सक्यो, एनडीएमा सबै कुरा ठिकठाक रहे भने नीतीशले मुख्यमन्त्री आवास छाड्नु पर्दैन ।

सत्ता गणितको खेल हो । बिहारमा तीन वटा प्रमुख राजनीतिक दल छन् । यी मध्ये २ दल जता हुन्छन् सरकार तिनकै बन्छ ।

सत्ता गणितको सन्दर्भ बाहेक चुनावमा जय पराजयको कुरा गर्ने हो भने भर्खरै सम्पन्न भएको बिहार विधान सभाको चुनावमा सबैभन्दा ठुलो पराजय मुख्यमन्त्री नीतीशको भएको छ । सय वर्षको इतिहास बोकेको सोनिया–राहुलले नेतृत्व गरेको काँग्रेसको भएको छ ।

सन् २०१५ मा सम्पन्न भएको आम चुनावले गठित भएको  बिहार विधान सभामा नीतीशको जनता दल यूनाइटेड (जेडीयूू) ले  कुल २४३ मध्ये ७१ स्थान ओगटेको थियो ।  

सन् २०२० को चुनावले नीतीशको दललाई २८ स्थानको नोक्सान भई जम्मा ४३ स्थानमा विजय प्राप्त भएको छ ।  भनौँ वर्तमान विधान सभामा नीतीशको जनता दल यूनाइटेड (जेडीयूू) ४३ सिटका साथ तेस्रो नम्बरमा खुम्चिएको छ ।

सोनिया–राहुलले नेतृत्व गरेको काँग्रेसले गत निर्वाचनमा २७ स्थानमा विजय पाएको थियो । आमा–छोराको दलले यस पटक ८ स्थान गुमाउँदै १९ सिटमा चित्त बुझाउनु परेको छ । 

बिहारको नयाँ जनादेशले नीतीशको र सोनियाको काँग्रेसलाई पराजयको ऐना देखाएको छ । यस नयाँ जनादेशले मोदीको गलामा भने ७४ वटा कमलको विजयमाला पहिराएको छ । 

यसभन्दा पहिलेको बिहार विधान सभामा मोदीको दल भाजपाले ५३ स्थान ओगटेको थियो भने यस पटक यसमा २१ स्थानको बढोत्तरी हुँदै सङ्ख्या ७४ हुन पुगेको छ ।  गत चुनावको तुलनामा यस पटकको चुनावमा सबैभन्दा बढी २१ सिटको थप ‘मार्जिन’ले विजय प्राप्त गर्ने श्रेय भाजपाले पाएको छ ।

व्यक्तिगत रूपमा बिहारको चुनावले लालुका छोराद्वयलाई बिहारको राजनीतिमा सशक्त रूपमा स्थापित गरेको छ ।  तेजस्वी यादवको नेतृत्वमा महागठबन्धनको सबैभन्दा ठुलो दल राष्ट्रिय जनता दल (आरजेडी)ले ७५ स्थानमा विजय  पाएको छ ।  

हुन त यस सङ्ख्यामा  पहिलाको भन्दा ५ स्थानको कमी आएको छ । तर २०१५ को चुनावमा तेजस्वी यादव मुख्यमन्त्री नीतीशले नेतृत्व गरेको महागठबन्धनका हिस्सा थिए । यस पटक भने उनले आफ्नै पौरखले ७५ स्थानमा विजय प्राप्त गरी आफ्नो दललाई सबैभन्दा ठुलो दल बनाउने सफलता पाएका छन् ।

भर्खरै सम्पन्न बिहार विधान सभाको चुनावमा सत्ता पक्षीय गठबन्धन र प्रमुख प्रतिपक्षी गठबन्धनको सिट सङ्ख्यामा कुनै परिवर्तन नहुनु नै यस चुनावको सबैभन्दा रोचक पक्ष रह्यो।

हिजो राति ढिलो गरी घोषित परिणाम अनुसार एनडीए गठबन्धनले १२५ सिट विजय पायो । यसमध्ये राजपाले ७४ सिट, जेडीयूले ४३ सिट, हम (सेक्युलर) ले ४ सिट र भिआइपीले ४ सिट गरी एनडीए गठबन्धनले कुल १२५ सिटमा विजय प्राप्त गरेको छ ।  

गत विधान सभामा पनि एनडीए गठबन्धनसँग १२५ सिटकै बहुमत थियो । त्यस बेला जेडीयूसँग ७१ भाजपासँग ५३ र लोजपासँग एक गरी कुल सङ्ख्या १२५ नै रहेको थियो ।

यसै गरी महागठबन्धनमा यस पटक राजदले ७५ सिट (विगत भन्दा ५ नोक्सान), काँग्रेसले १९ सिट (विगत भन्दा ८ सिट नोक्सान),  भाकपाले २ सिट (दुबै लाभ), माकपाले २ सिट (दुबै लाभ), भाकपा (माले)ले १२ सिट (९ लाभ) गरी कुल ११० स्थानमा विजय हासिल गरेको छ ।गत विधान सभामा पनि महागठबन्धनका घटक दल  आरजेडीसँग ८० सिट,  काङ्ग्रेससँग २७ सिट , भाकपा (माले)सँग ३ सिट गरी  कुल ११० सिट नै रहेका थिए ।

पहिलाको विधान सभामा पनि ८ सदस्य स्वतन्त्र र विभिन्न दलका थिए भने अहिलेको विधान सभामा पनि यो सङ्ख्या जस्ताको तस्तै रहेको छ ।

बिहार चुनावमा मोदीको जादु चलेकै हो । एनडीए गठबन्धनका अर्का प्रमुख सहयोगी नीतीशलाई भने बिहारका जनताले ऐना देखाएकै हुन् ।  

अब उनको राजनीतिक भविष्य बिहारको प्रान्तीय राजनीतिमा समाप्त प्रायः नै भएको छ । उनले आफ्नो राजनीतिक भविष्य अब पटना छाडी दिल्लीमा खोज्नु नै एक मात्र विकल्प छ उनीसँग ।  

शिव सेना, अकाली दलले एनडीए छाडे पछि नीतीशलाई चाहेको पद दिन भाजपाको बाध्यता नै हुनेछ । यदि उनले मुख्यमन्त्री नै चाहे भने त्यो दिन्छ भाजपाले तर, उनले पटना छाडेर दिल्लीतिर हेरे भने पनि भाजपाले उनलाई  उप–प्रधानमन्त्री सहित ठुलै मन्त्रालय दिन सङ्कोच गर्दैन ।

नोभेम्बर महिनामा बिहार विधान सभाको चुनाव हुनुका साथै भारतका विभिन्न राज्यका विधान सभाका रिक्त रहेका स्थानका लागि पनि उप चुनाव भएको थियो । छत्तीस गढ  (१स्थान), गुजरात (८ स्थान), हरियाणा (१ स्थान), झारखण्ड, (२ स्थान), कर्नाटक (२ स्थान), मध्य प्रदेश (२८ स्थान), मणिपुर(५ स्थान), नागालैंड(२ स्थान), उडीसा(२ स्थान), तेलांगाना (१ स्थान) र उत्तर प्रदेश (७ स्थान) गरी कुल ५९ विधान सभामा उप निर्वाचन सम्पन्न भयो ।  

यी ५९ स्थान मध्ये मोदीको भारतीय जनता पार्टीले उत्तर प्रदेशका ७ मध्ये ६ स्थानमा, तेलांगानाको १ मध्ये १ स्थानमा , मणिपुरको ५ मध्ये ४ स्थानमा , मध्य प्रदेशको २८ मध्ये १९ स्थानमा ,कर्नाटकको २ मध्ये २ स्थानमा र गुजरातको ८ मध्ये ८ वटै स्थानमा गरी ५९ मध्ये ४० स्थानमा विजय पाएको छ ।

बिहार लगायत यी राज्यका चुनाव परिणामले भारतीय जनमानसमा मोदीको ‘म्याजिक’ अझै व्याप्त रहेको सन्देश दिन्छ ।  

अर्बाैँ जनसङ्ख्या भएको भारतमा कोभिड–१९ ले गर्दा भएको ‘लकडाउन’ले करोडौँ मानिसले जीवनमा कहिल्यै नभोगेको असहनीय पीडा, दुःख, सन्ताप, अभाव लगायत सबै किसिमका बाधा व्यवधान खेप्नु पर्‍यो । 

अमेरिकामै कोभिडका कारण राजनीतिक दृष्टावली परिवर्तित भयो । भारतमा पछिल्ला निर्वाचन परिणामले भने कोभिड–१९ का दौरान मोदी सरकारले गरेको आपत्कालीन प्रबन्ध र राहत कार्यलाई भारतीय जनताले हृदयले स्वीकार गरेको सङ्केत गर्दैन र ?