अल्पमतका अध्यक्षसँग बैठकको माग र लोक हँसाइ ! सरकार र पार्टीको बहुमत ‘बोकाको मुखमा कुभिन्डो’ !!

लाेकसंवाद टिप्पणी

अल्पमतका अध्यक्षसँग बैठकको माग र लोक हँसाइ ! सरकार र पार्टीको  बहुमत ‘बोकाको मुखमा कुभिन्डो’ !!

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २७, २०७७

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद यति बेला विस्फोटको अवस्थामा पुगेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू रुष्ट बन्दै आएका छन् । 

पछिल्लो समयमा कर्णाली प्रदेशमा देखिएको नेकपाको आन्तरिक विवादको आवरणमा पार्टी केन्द्रीय तहमा तीव्र विवाद सिर्जना भएको हो । अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल एकातिर अर्थात् नाम मात्रका 'कार्यकारी' अध्यक्षले बोलाएको बैठकलाई 'गुटको बैठक' भनी उपस्थिति भइरहेका छैनन् । 

उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय बहुमत एकातिर बैठक गर्ने र अल्पमतका अध्यक्ष केपी ओली समक्ष बैठक गरिदिन माग गरेर लोक हँसाउने काम गरिरहेका छन्  । प्रचण्डसहित बहुमत  ५ नेताले पार्टी सचिवालय बैठक बोलाएर सबै समस्याको हल खोज्नुपर्ने बताइरहेका छन् भने ओली भने विभिन्न बहानामा सचिवालय बैठक टार्दै आएका छन् । 

प्रचण्ड पक्षधरले पत्र लेखेरै बैठक बोलाउन माग गरे पनि ओलीले अनेक बहानामा बैठकलाई छल्ने वा पछि सार्ने कोसिस गरिरहेका छन् । बुधवार ओलीले गरेको किमाथांका भ्रमण यस्तै प्रकारको एक भ्रमण हो, जसले राज्य कोषको अनावश्यक दुरुपयोग गर्दै  अरुण तेस्रे बनाउने भारतीय सतलज कम्पनीलाई खुशी पार्नु  बाहेक केही पनि गरेको देखिएको छैन । यसबाट ओली नेकपाको सचिवालय बैठक छल्नका लागि कुन स्तरको अभियानमा छन् भन्ने प्रस्ट देखिन्छ । 

२२ कात्तिकमा प्रचण्डसहितका नेताले सचिवालय बैठक बोलाउन ओलीलाई अल्टिमेटम नै दिए पनि त्यसलाई ओलीले टेर पुच्छर नलगाएपछि पुनः ३ दिने अल्टिमेटम दिएका छन् । तर बैठक बोलाउन अल्टिमेटम दिए पनि त्यसलाई बेवास्ता गर्दै ओली बुधवार सङ्खुवासभाको किमाथांका घुमघामका लागि पुगे । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ओली पहिलो पटक राजधानी बाहिर गएका हुन् । त्यहाँ गएर उनले आफू रहरले नभई जनमतका आधारमा प्रधानमन्त्री भएकाले राजीनामा नदिने अडान दोहोर्‍याए । 

ओली सरकार गठनको झन्डै ३ वर्षको मूल्याङ्कन गर्ने हो भने जनआकाङ्क्षा पूरा गर्न सरकार पूर्णतः असफल छ । पछिल्लो समयमा कोभिड–१९ र यसबाट उत्पन्न अवस्थालाई हेर्ने हो भने सरकारको क्रियाकलाप सुखद छैन । तर सरकार आफूले ठुलै मात्रामा सुशासन कायम गरेको भन्न पछि पर्दैन । 

जनआकाङ्क्षा पूरा गर्न असफल ओली सरकार मात्रै होइन यति बेला त ओली नेतृत्वको नेकपा नै सङ्कटमा गुज्रिएको छ । यो पार्टीभित्र चलिरहेका गतिविधि हेर्ने हो भने जनताले दिएको दुई तिहाइ नजिकको बहुमत ‘बोकाको मुखमा कुभिन्डो’ भन्ने उखानसँग ठ्याक्कै मेल खान्छ । 

त्यसमाथि नेकपाभित्र चलिरहेको बेमौसमी विवादले समर्थकहरूमा समेत निराशा पैदा गरेको छ । विवाद समाधान गर्नका लागि बैठक समेत बस्न सकिरहेको छैन । प्रचण्ड पक्षधरले पत्र लेखेरै बैठक बोलाउन माग गरे पनि ओलीले अनेक बहानामा बैठकलाई छल्ने वा पछि सार्ने कोसिस गरिरहेका छन् । बुधवार ओलीले गरेको किमाथांका भ्रमण यस्तै प्रकारको एक भ्रमण हो, जसले राज्य कोषको अनावश्यक दुरुपयोग गर्दै अरुण तेस्रे बनाउने  भारतीय सतलज कम्पनीलाई खुशी पार्नु  बाहेक केही पनि गरेको देखिएको छैन । यसबाट ओली नेकपाको सचिवालय बैठक छल्नका लागि कुन स्तरको अभियानमा छन् भन्ने प्रस्ट देखिन्छ । 

१६ कात्तिकदेखि निरन्तर प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले बैठक माग गरिरहेका छन् । मौखिक आग्रह बेवास्तामा परेपछि २२ कात्तिकमा लिखित रुपमा नै बैठक माग गरेका छन् । तर, ओली सचिवालयको बैठक पछि धकेलिरहेका छन् । बैठकअघि नै दुई अध्यक्षबिच एजेन्डामा सहमति गरेर बैठक बोलाउनुपर्नेमा ओलीले प्रचण्ड उपसभापति हैसियतको अध्यक्ष भएको भन्दै अन्तर्वार्ता नै दिँदै ओलीले आफूमा भएको दम्भ एक पटक पुनः बाहिर सार्वजनिक गरिरहेका छन् । 

ओलीविरुद्ध वामदेव गौतमसहित बहुमत सचिवालय सदस्य एकजुट भएपछि पुनः बैठकमा आफ्नो राजीनामा मागिने त्रासमा ओली देखिएका छन् ।त्यो त्रासका भनाई बारम्बार सार्वजनिक गिरेका छन् । त्यसैले उनले पछिल्लो समयमा हरेक सार्वजनिक अभिव्यक्तिमा ओलीले आफूले राजीनामा नदिने अभिव्यक्ति दिइरहेका छन् । ओली आफैँले राजीनामा नदिने अभिव्यक्ति बिना सन्दर्भ दिँदै आउनुका पछि यही कुराको सङ्केत गरिरहेका छन् । 

नेकपाको विवादमा वामदेव गौतमलाई ओली समूहमा ल्याउन वा ओलीविरुद्ध अप्ठ्यारो सिर्जना हुनबाट रोक्न राष्ट्रपतिले समेत वामदेवलाई बोलाएर छलफल गरेकी थिइन् । तर वामदेव शीतल निवासको छलफलबाट प्रभावित नभई प्रचण्ड–नेपाल समूहलाई साथ दिने सङ्केत त गरेका छन् । तर गौतमलाई प्रचण्ड–नेपालले  भर नभएको नेता भन्दै शङ्काको नजरले हेर्ने गरेका छन् । गौतमलाई ओली समूहमा ल्याउन सर्वोच्च अदालत मार्फत राष्ट्रिय सभा सदस्य कायम गर्न लगाई 'राेज्जा मन्त्रालय' सहितको उपप्रधानमन्त्री 'अफर' गरिसकिएको छ । 

विभिन्न आश्वासन दिएर वामदेवलाई आफ्नो पोल्टामा पार्दै आएका ओलीका गतिविधिकै कारण वामदेव उनीसँग चिढिएको भए पनि कुनै पनि समयमा प्रलोभनमा नपर्ला भनी हाल्ने अवस्था छैन । यद्यपि गौतमलाई प्रचण्ड–नेपाललाई साथ दिँदा सचिवालयमा ओली अल्पमतमा परेका छन् । त्यसैले उनले अनेक बहानामा बैठक टार्दै आएका छन् ।

सुरुमा एजेन्डा तय नभएर बैठक नबोलाएको बताएका ओलीले पछि २ अध्यक्षको सल्लाहमा महासचिवले बैठक बोलाउने भन्दै पन्छिए । अहिले उनी बैठक बोलाउनुभन्दा घुम्न जाने कामलाई प्राथमिकतामा राखेर किमाथांका पुग्न थालेका छन् । प्रधानमन्त्रीका रुपमा सम्पूर्ण कार्य बालुवाटारबाटै गरिरहेका ओलीका लागि सिंहदरबार र धुम्बाराही भन्दा किमाथांका नजिक पर्नुको कारण पनि यही नै हो । 

बैठक टार्नुका पछि ओलीले गरेका एकलौटी निर्णय पनि हुन् । उनले गत भदौमा बसेको पार्टी स्थायी समिति बैठकको निर्णयविपरित एकलौटी निर्णय गरेका छन् । बेलायत र अमेरिकाको राजदूत नियुक्त, मुख्यसचिव नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, विभिन्न राजनीतिक नियुक्तिलगायतमा ओलीले आफूखुसी गरेपछि पार्टीका अन्य नेताहरू उनीसँग रुष्ट बनेका छन् । 

यस्तै बैठकमा भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीको भेट भएको विषय पनि सचिवालयमा स्वाभाविक रुपमा उठ्ने देखिएको छ । जुन विषयमा ओली बोल्न चाहिँ रहेका  छैनन् । प्रधानमन्त्रीले नै बोलाएर आएको ठानिएका गोयलसँग भएको कुराकानीका साथै भारतीय दूतावासले समेत औपचारिक जानकारी नगराएको गोलयको भ्रमणबारे सचिवालय सदस्यले जवाफ खोजेका छन् । 

बैठक माग गर्दै प्रचण्डसहित पाँच नेताले दिएको लिखित पत्रमा पनि कोभिड–१९ नियन्त्रणको प्रयास, पर्सामा मुकेश चौरसिया मारिएको घटना, कर्णाली प्रदेशमा आएको अविश्वासका प्रस्ताव, स्थायी समितिका निर्णय उल्लङ्घन र रअ प्रमुखसँगको भेटका विषयमा छलफलको कुरा उठाइएको छ । यी पाँच वटा विषयमा नै ओली कहिँ न कहीँ चुकेका छन् । जसले गर्दा ओली बैठकको सामना गर्न हिचकिचाइरहेका छन् ।  नेकपाका कार्यकर्ता भन्न थालेका छन् प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली  दुई तिहाइ नजिकको बहुमत ‘बोकाको मुखमा कुभिन्डो’ भयो । यही उखान जस्तै भएको छ अर्का  प्रचण्डलाई  पनि सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीको बहुमत !