चटपटेको भरमा हुरीपीडित

चटपटेको भरमा हुरीपीडित

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

बारा । फेटा गाउँपालिका–६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् । गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले बिहानको खाना अबेरसम्म खान नपाएपछि भोक मार्न चटपटे खाएको बताइन् । ‘भुजा र चिउरा चपाउँदा चपाउँदै मुख दुखिसक्यो,’ उनले भनिन् ।

शुक्रबार साँझसम्म सञ्चालनमा आएको मेस शनिबार बिहानदेखि बन्द छ । टेन्टमा चामल र दालका बोरा छन् । पकाउने भाँडो र चुलो छैन । ‘हावाहुरीले घरभित्रको केही सामान बाँकी राखेन,’ उनले भनिन्, ‘चामल र दाल पायौं, पकाऊँ भने भाँडो छैन, राहतको रूपमा बाल्टिन र जग मात्र पायौं ?’

वीरगन्जको नारायणी अस्पतालमा ५ दिनको उपचारपछि शुक्रबार पुरैनियास्थित घरमा पुगेकी सालमु खातुनले शनिबार बिहानको खाना कहाँ खाने भनेर अपराह्नसम्म टुंगो थिएन । उनले शुक्रबार साँझको खाना मेसमै खाएकी थिइन् । अपराह्न कुच्चिएको बाल्टिन लिएर माहिली छोरीसँग उनी पानीको जोहो गर्न निस्केकी थिइन् ।

उनलाई सामान्य हिँड्डुल गर्न पनि समस्या भइरहेको थियो । हावाहुरीमा घर भत्किँदा उनी घाइते भएकी थिइन् । उनले भनिन्, ‘मेस बन्द भएछ । कहाँ खाने ठेगान छैन । परिवारमा ६ जना छौं ।’ पुरैनियाकै सालमा खातुनले आफ्ना दुई बच्चालाई बिहानको खानाका लागि चाउचाउ र बिस्कुट दिएको सुनाइन् । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।