‘परराष्ट्रले बोल्नै दिएन’

‘परराष्ट्रले बोल्नै दिएन’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

काठमाडौँ । मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले ‘एकपक्षीय र प्रायोजित मनसाय राखेर मौनता साधेको’ आरोप लगाएकी छन् । राजदूत शेर्पाका निजी चालक वाङ्छु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी लक्कीमाथिका आरोपबारे छानबिन गर्न मन्त्रालयले विशेष समिति गठन गरे पनि त्यसको प्रतिवेदन सार्वजनिक गरेको छैन ।

‘चालक वाङ्छुका अनधिकृत गतिविधिसँगै उनले दूतावास छाडेर भाग्नासाथ गत वर्ष मंसिर ५ मै परराष्ट्र मन्त्रालयमा मैले सबै विषय अवगत गराएकी हुँ,’ शेर्पाले कान्तिपुरसँग भनिन् । उनले चालक वाङ्छु र उसकी श्रीमती फुल्हमले अस्ट्रेलिया लैजाने भन्दै ६ जना नेपालीसित २० लाख रुपैयाँभन्दा बढी ठगेको भन्नेबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको विषयमा राजदूत हुँदै आफूलाई जानकारी भइसकेको बताइन् ।

सीआईबीले वाङ्छुको खोजी गर्दै अस्ट्रेलिया सरकारसमक्ष पत्राचार गरेको र उनकी श्रीमती मानव तस्करीकै अभियोगमा काठमाडौंमा थुनामा रहेको जानकारी हुँदाहुँदै परराष्ट्रले उल्टै आफूमाथि छानबिन समिति गठन गरेकोमा आश्चर्य लागेको उनले बताइन् । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।