टेन्टले धान्ला हुरी र पानी ?

टेन्टले धान्ला हुरी र पानी ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

बारा । असिना पानीसहित आएको हुरीले यहाँ वितण्डा मच्चाएको एक साता भएको छ । प्रभावित क्षेत्रका अधिकांश गाउँलेको बास अहिले टेन्टमा छ । ओत लाग्ने अस्थायी व्यवस्था भए पनि उनीहरूमा सम्भावित हुरी र वर्षात्‌ले निम्त्याउन सक्ने विपत्तिको त्रास भने हटेको छैन । ‘हुरी दोहोरिएर आए के गर्ने ? हामीसँग विकल्प नै छैन,’ भरबलियाका ७० वर्षीय रामचन्द्र मुखियाले भने, ‘अहिले हावाहुरीको मौसम छ । वर्षातको समय नजिकिँदै छ ।’

बासस्थानको समस्या बालबालिका र वृद्धवृद्धालाई बढी छ । गर्मी बढदो छ । शीतल ताप्ने छहारीसम्म छैन । रुखबिरुवा समेत हुरीले ढालेको छ, कतै हाँगाबिँगा उडाएको छ । ‘राति हावा आउँदा टेन्टसितै उडाएर लग्ला जस्तो हुन्छ,’ स्थानीय श्यामप्रसाद कुर्मीले भने, ‘डरैडरले रात काट्छौं ।’

दिउँसो सहज देखिए पनि साँझ परेपछि स्थानीय बासिन्दा त्रासैत्रासमा टेन्टभित्र पस्छन् । भत्किएका घरबाट सामान निकाल्ने काम सकिएको छैन । सेना, सशस्त्र र नेपाल प्रहरीले स्थानीयलाई बासस्थान व्यवस्थामा सहयोग गर्दै आएका छन् । विद्यार्थी संगठनहरूले गाउँमै पुगेर सफाइमा समेत सघाउँदै आएका छन् । अब दिगो र बलियो बासको मात्र खाँचो रहेको स्थानीय बताउँछन् । तराईमा हावाहुरीको समय टरिसकेको छैन । तराई डुबानमा पार्न सक्ने वर्षात् आउँदै छ । शनिबार वर्षा भएकाले पनि स्थानीय बढी चिन्तित छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।