भागबन्डा मिल्यो, नाम टुंगिन बाँकी

भागबन्डा मिल्यो, नाम टुंगिन बाँकी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । 

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर बैठक बोलाएका थिए । यो समिति केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली संरचना हो । कुनै निर्णय या दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बेला केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समिति बैठक बोलाइन्छ ।

२९ सदस्यीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशत दिन सभापति देउवा तयार भएका छन् । देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा राखेको शीर्ष नेताहरूको छलफलमा पौडेल पक्षलाई ४० प्रतिशत दिने सैद्धान्तिक सहमति जुटेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कुन पक्षले समेट्ने भन्नेमा भने बैठकमा विवाद भएको थियो । त्यसपछि सिटौला बैठकबाट बाहिरिएका थिए । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।