वर्गीय खाडल र समानताको राग : आदर्श, नैतिकता र कर्तव्यपालन फगत ढोँग हुन् !?

वर्गीय खाडल  र समानताको राग : आदर्श, नैतिकता र कर्तव्यपालन फगत ढोँग हुन् !?

ज्ञानमित्र  |  साहित्य  |  कार्तिक २८, २०७७

मार्क्सवाद , समाजवाद लगायतका अनेकौं वाद एवम् मतले जति सुकै समानताको राग अलापे  पनि वर्ग विशेष त मेंटिएन । कानून एवम् निरन्तरको अभ्यास र प्रयासले  एक किसिमको वर्ग उन्मुलन भएको देखिए पनि वास्तविकतामा भने त्यो अर्को कोटिमा  परिणत  मात्र भएको हुन्छ ।

 सभ्य-असभ्यको वर्ग खाडल पुरिए जातिको खाडल खडा हुन्छ। त्यो मेटिए शिक्षित - अशिक्षितको वर्गले टाउको उठाँउछ ।

त्यसको शिशेच्छेदन हुँदा धनी-गरिव जन्मन्छ।  यहाँ पनि  के कुनै प्रकारको  'इभोल्युसन ’ सिद्धान्तले काम गर्दो रहेछ ? पूराका पूरा साम्यवाद् नै स्थापित भएको खण्डमा पनि खेतिहर  मजदुर हुन्छन् भने 'म्यानेजर' पनि हुन्छन् । सडक बनाउने कामदार हुन्छन् भने डिजाइन परिकल्पना गर्ने इन्जिनियर पनि हुन्छन् । उनीहरू बीच कामकै वर्ग विभेद हुन्छ । कसैको काम सजिलो होला, कसैको अति परिश्रमजन्य । कलम चलाउने, कोदालो चलाउने र बन्दुक चलाउनेको बिचमा समानता कसरी हुनसक्छ ?  कोदालो चलाउने र बन्दुक बोक्ने बिच ईर्ष्या, डाहा, प्रतिष्पर्धा   वैमनस्य हुन्न  र ?

ट्याक्सी चलाउने र बोइङ उडाउने बीचको खाडल कसरी मेटिन्छ ? विमान यात्रा गर्ने एवं सड़क  मार्गबाट गुड्ने बीच फरक क्लासको स्टेटस हुनु नैसर्गिक नै हुन्छ । प्रोफ़ेसर,डाक्टर, इन्जिनियर वा म्यानेजरको  रबाफ र जीवनशैली प्रति  पाले, कुल्ली, मजदुर र तिनका  सहायकको मन लोभिन कुन वाद् र सिद्धान्तले रोकिन सक्छ !

पुरानो समाजमा धर्मको अवधारणा कर्म, भाग्य, पुनर्जन्मको अमूर्त व्यख्या र विवेचनाले तल्लो वर्गलाई सन्तुष्टि दिने कार्य गरेको  थियो । आधुनिक युगका विचारकहरूले यसको सारा दोष राज्यलाई दिएर राज्य सञ्चालन पद्धति बदलेर समानता स्थापित गर्ने सपना देखे । समानता  स्थापित भयो कि भएन यसको मूल्याङ्कन पाठकहरु कै जिम्मा !  तर उनीहरू भने यो सपना देखेर विशिष्ट  वर्गमा स्थापित भएको जग जाहेर नै छ ।

गजानन भने यस्ता स्थिति बाट अनेको पटक गुज्रिसकेका खग्गू साधू ! उनले तुरुन्तै सहयात्रीलाई हपार्दै  भने - शान्तिसँग बस बच्चा सन्यासीले शिव बूटी सेवन गरी हाल्छ। सहयात्रीले पुनः विनम्रतापूर्वक भन्यौ -  गुडेको बसभित्र नखानुस, तपाईले बस रोकाएर खादा   कसैलाई आपत्ति हुँदैन।

समानताको नारा आफु सामान्यबाट छलाङ्ग लगाइ शासक वर्गमा पुग्ने साधनका रुपमा खुबै प्रयोग, प्रचलित  र सफल पनि भयो । कम्युनिष्ट पार्टीका अध्यक्ष, महासचिव जस्ता उच्च ओहोदाधारीहरूले देखाउनको लागि वर्षमा १-२ पटक सामान्य कार्यकर्तासँग चियापान गरेको नाटक मञ्चन गरेपनि उनको दैनिक उठबस त उनले परिलक्षित गरेको सुकिला मुकिला वर्गसँगै हुने गर्छ । कल कारखाना एवम् धेरैलाई काम हुनसक्ने व्यापारतिर  उनका आँखा  नगइ नाफामुलक व्यापार भवन, अपार्टमेन्ट ,मल, शपिङग  कम्पेलेक्स खडा गर्नुमैं  केन्द्रित हुने रहेछन् ।

 दोष विचारधारा र नेतृत्व वर्गको होइन । मानिसको  स्वभाव नै क्रूर , हिंस्रक, लोभी, स्वार्थी रहेको छ । मन मस्तिष्कको ’भेरी  ट्रयुली नेचर ’ नै तानाशाह प्रवृतिको   छ । हाे त मानिस प्रकृतिमा रहेका अन्य प्राणी सरहको प्राणी नै हो, फरक यत्ति  उसँग विकसित मन र मस्तिष्क रहेको  छ जसले उसलाई झनै कुटिल एवम् धूर्त  बनाएको  छ।

विकास क्रममा मन मस्तिष्कको  क्षमता प्रयोगले उ अन्य प्राणीभन्दा फरक’आजको भाष'मा विकसित हुँदै   गयो ।  उसको हिंस्रक, जङगली स्वभावलाई नियन्त्रण गर्न केही नियम मर्यादा  र कानुनको आवश्यकता अपरिहार्य भयो र जन्मियो धर्म । तत्कालीन  मानवलाई, समुदायलाई, समाजलाई व्यवस्थित गर्न जे नियम कानुन बने   अहिले संविधान जस्तै ती अलिखित र लिखित नियमलाई धर्मको संज्ञा दिइयो ।

धर्मले त्यसबेलाका मानव र समाजलाई एकाङगी नभएर बहुआयामी निर्देशनमा बाधेको थियो । तत्कालीन   दैनन्दिन   जीवनका  नियम, आदर्श धर्मले निर्देशित गर्थ्यो । राज्य पद्धतिलाई उसले नै सञ्चालित गर्थ्यो ।  कला, विज्ञान, शिक्षा, आहार, विहार, युद्ध, न्याय, व्यापार, जन्म, मृत्यु, विवाह, इहलोक, परलोक सबैको व्याख्या-विश्लेषण र नियन्त्रण एकमेव  धर्म कै अधीन  थिए ।

ठ्याक्कै पुराना समयका  चिकित्सक र आधुनिक चिकित्सकजस्तै । पुरानो युगको एउटै चिकित्सकले  मानव शरीरका सबै  अंग र अवयवको रोग व्याधि पत्तो लगाइ  तिनको  निदान  गर्थ्ये । आँखा, कान, पेट, मुटु, टाउको,  ढाड, नसा,  दाँत, किड्नी आदि आदि रोग निदान  गर्न एउटै चिकित्सक  निपुण  हुन्थ्यो ।

आजको एककाइसौ शताव्दीमा पनि यस्ता चिकित्सक  उपलब्ध नभएका होइनन् । सिनामंगल स्थित पाथिभरा औषधालयका चिकित्सक बीपी तिमिल्सिना नाडी छामेर  सबै रोग थाहा पाउछ।  आफैले उत्पादन गरेका औषधिबाट 'जुन संख्यामा २० किसिमका  पनि छैनन् ’ समस्त रोगको निदान  गर्छन् । मेरो स्वयम कै पेट रोगको उपचार उनको परामर्शले शमित भयो ।

आधुनिक चिकित्सा  शास्त्रले निदान  गर्न नसकेका धेरै रोगी पाथिभरा  पुगेर बीपी तिमिल्सिनालाई   भेटेर  लाभान्वित बनेका छन् । विकास क्रममा चिकित्सा  विज्ञानले प्रगति गर्दै विभिन्न दिशामा पुष्पित  पल्ल्वित  बनायो  आफूलाई  फरक फरक अंगका फरक फरक चिकित्सक/ विशेषज्ञ हुन थाले।  'ग्यास्ट्रोलिस्ट',  'न्युरोलोजिस्ट', 'काड्रियोलोजिस्ट', 'गाइनोलोजिस्ट', 'युरोलोजिस्ट', 'इएनटी', 'साइकोलोजिस्ट', 'पेडियाट्रिक', 'डेन्टिस्ट’  लगायत अनेको किसिम रोग निदान शाखा र तिनका  विशेषज्ञ बने ।

चिकित्सा शास्त्रमा पूर्ण ’डिसेंट्रीलाइजेसन’ लागू भयो । यसरी नै विस्तारै मानव समाजका समस्त क्षेत्र आफू मै पूर्ण शास्त्र बन्दै गए । शिक्षा, राजनीति, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, कला, विज्ञान , व्यापार, युद्ध, शान्ती सबै सबै  आफै स्वतन्त्र ’इन्सटीट्युसन’ बने । कबीला, समुदाय, पञ्चायत, विभिन्न  समाजले एकीकृत राज्यको आकार ग्रहण गरे ।   राज्य नियन्त्रण  र संचालनको प्रकिया अनेक कोल्टे फेर्दै संसदीय प्रजातन्त्रसम्म आइपुग्यो । राजनीति र यसका पुरोधा सर्वोपरी बने ।

अर्वाचीन समाज सञ्चालनको   एकमेव शास्त्र र संस्था धर्मले पनि मानव - मानवमा भातृत्व, मित्रत्व, समनत्व स्थापित गर्ने हेतुले 'ईश्वर सर्वभूतानाम् प्राणीनाम् आश्रिता' ,'वसुधैव कुटुम्बकम्’, 'इश्यावाश्यमिद्म  सर्वम् यतिकिचित् जगत्यामजगत्’ जस्ता उद्घोष गरेका थिए  ।

मानिसमा रहेको पशुता, क्रुरता, हिंस्रकता , पाशविकता, लोभ, वैमनस्य, स्वार्थ, धनी, गरिब , लघुत्तर र श्रेष्ठको प्रकृति प्रदत्त प्रवृत्तिलाई उन्मुलन गरी समनता स्थापित गर्ने चेष्टा गरेकै  थियो धर्मले  । तर, समानता कहिल्यै  स्थापित भएन ।

कुबेर- इन्द्र आदिको अन्याय शोषण र भोग विलासको विरुद्धमा दरिद्र सर्वहारा  वर्गको प्रतिनिधित्व गर्ने  पुलस्तय ऋषि को नाती  आफू शक्तिमान बनेपछि स्वयम अत्याचारी शासक दशानन  रावण बन्न पुग्यो ।

रावण, इन्द्र, कुबेरका  समान भयो तर बांकीको  राक्षस समुदाय दरिद्र शोषित  नै रह्यो । समाजमा  शासक र शासित वर्ग रहिरह्यो । त्यसबेला टाठावाठाले धर्मको अस्त्र प्रयोग गरी  समनाताका नारा दिएर आफूलाई श्रेष्ठतर कोटिमा पुर्याए सरह एवम् रीतले  वर्तमान युगका नेताहरूले समय समयमा समानता हुने विभिन्न किसिमका आशा र सपना देखाइ   आफूलाई शासक वर्गमा स्थापित गर्ने कार्य गरेकै छन्  ।

मार्क्स , लेनिन, स्टालिन , हिटलर र रावण, भष्मासुर, बाली  र शक्राचार्यमा समानता देखिन्न  र ? वर्तमान युगकै राजनेता र धार्मिक  नेताको भनाइ र गराइमा समानता देखिन्न र ?  समानता स्थापित गर्ने कार्यमा धर्मनीति  र राजनीति दुबै सफल भएनन् ।

कतै मनको स्वभाव नै लोभी, अराजक, स्वार्थी, भीरु र तानाशाही प्रवृतिको त होइन ? कुनै बुद्ध, कबीर, नानक, रामकृष्ण, विवेकानन्दले , प्रकृति  प्रदत्त प्रवृति माथि विजय पाए भने  औलामा गण सकिने  यस्ता उदाहरण राजनीतिक वृत्तमा पनि नभएका होइनन् । महात्मा गान्धी, नेल्सन मण्डेला जस्ता केही नाम यता पनि गन्न सकिन्छ ।

आफ्नै मनको विश्लेषण गर्दा  प्रचारित गरिएका दैवीय गुणको तुलनामा दानवीय गुण नै   बढी  प्रभावी भएको पाउछु । परोपकार गर्नलाई देशकाल, परिस्थिती एवम सजगताको आवश्यवकता पर्दछ  तर लोभ वृत्ती उजागर हुन प्रकृतिले पूर्ण सक्षम बनाएको छ मेरो मनलाई  ।

ब्रह्मचर्य  कठिन अभ्यास र तदारुकताले साधनु  पर्छ तर  कामानुगानी हुन एउटा  कुनै साधन देखे पुग्छ । दया, करूणा प्रदर्शन  गर्न  बोधका साथै अन्य थुप्रै  कारण  र साधन चाहिन्छन् ।

तर, मभित्रको तानाशाहले भने  साथीसँग भएको सामान्य वार्तालाप मै आफ्नो  श्रेष्ठता साबित  गर्न फण   उचाली हाल्छ । अरुलाई नीति, नियम, अनुशासन, कर्तव्यपालन , धर्मपालन,इमान्दारिता ,सिकाउन मन सधै अग्रसरित रहन्छ । तर, स्वयंलाई भने  यी  सबै कुराले  मुक्त सम्झन्छ । आफ्ना जीवन कै केही सानातिना घटना सम्झन्छु । काठमाडौँ ट्याक्सि चढ्दा नैतिकता, इमान्दारिताको पाठ खुबै पढाइन्थ्यो ।

एकपटक बौद्धबाट एकजना विदेशी मित्रसँग ठमेलका लागि ट्याक्सी लिन खोज्दा  सबैले दोब्बर भाडा  मागे ,म दिन तैयार भइन।  पाँच -सात वटा ट्याक्सी खोजे पछि एक जना बल्ल डेढ़ी भाड़ामा जान तैयार भए।  बाटोमा मैले उनीसँग भने, विदेशी हेर्ने बित्तिकै तपाईँहरु मीटर र निर्धारित भाडा लिन किन मान्नु हुन्न,  किन भाडा बढी माग्नु हुन्छ।  नेपाली सँग लिएकै  भाडामा गए  हुन्न ,यस भाड़ामा पनि त तपाईको नाफ़ा समावेश हुन्छ, होइन र?

प्रत्युत्तरमा उनले भने-हामी तल्लो स्तरका कामदारलाई भने तपाई आदर्श, नैतिकता र कर्तव्यपालन सिकाउन खोज्नु हुन्छ।  तपाईँ आफ्नो यिनै साथीसँग प्लेनले पोखरा जाँदा  प्लेन कम्पनीले  यिनको भाडा तपाईँभन्दा बढी लिन्न र ?  रेस्टुरेन्टमै नेपाली र विदेशीलाई चियाकै दाममा दोब्बर तेब्बर फरक हुँदा त्यहाँ तपाईँ केही बोल्नु हुन्न।  अस्पतालमै नेपाली र विदेशीसँग फरक शुल्क लिने गरिन्छ ,त्यहाँ पनि कसैले गुनासो गर्दैन।  होटलकै 'टैरिफ' मा फरक शुल्क तिर्न कसैलाई आपत्ति हुन्न।  

यी त भए प्राइभेट सेक्टरका कुरा।  सरकारकै व्यवहार हेर्नुस ,नेपाली र विदेशीसँग फरक फरक शुल्क लिन्छ  सरकारले।  संग्रहालय, पार्क, राष्ट्रिय निकुन्ज ,रोमान्चकक खेल सबैतिर त विदेशीसँग दसियो गुनासम्म बढी दाम उसूल गर्छ सरकारले ,त्यहाँ तपाई केही भन्नु हुन्न। खुशी साथ भुक्तानी गरी थैंक्स भनी हिड्नु हुन्छ।  हामी जस्ता सामान्य कामदारले दस -बीस रुपैया बढ़ी  लिन खोजे भने ठगी, बेईमानी ,धांधली, कालाबाज़ारीको आरोप लाग्छ।  र हामीले तथानामका उपदेश सुन्नु पर्नेहुन्छ।  

उनको कुरा सुनेर म आवाक भए।  उनका कुराले मलाई निरुत्तर बनायो।  त्यस दिन पछि मेरो ती जस्ता सडक व्यापारीलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आयो।  आफु प्रबुद्ध नागरिक भए पनि मैले यसबारे कहिल्यै चिन्तन त के सामान्य दृष्टिपात पनि गरेको थिइन।

यस घटना पछि मैले सड़क कामदार ,सड़क व्यापारी ,साना पसलेहरुसंग कहिल्यै मोलभाउ  गरिन ,चाहिएको वस्तु  परिमाणमा मांगे र उनले भनेको मूल्य तिरेर आफ्नो बाटो लागे। आखिर उनीहरुले दुइ चार पैसा बढी लिए पनि म त्यतिले   दरिद्र हुने सम्भावना हुन्न ।  मन र बुद्धि दुबैलाई एउटा दनक पाए पछि  जीवनभरीलाई कोर्स पुग्यो पुग्यो।

मेरो मनलाई यस्तै एउटा झापड दिइ दुरुस्त बनाउने कार्य गरे बद्रीनाथ यात्राका बस सहायक एकजना भाईले ।  नेपाली मूलका एकजना सन्यासी गजानन गिरीका साथ बद्रीनाथ जाँदै थिए।

म  थिए शिकारु सन्यासी, उनी भने जुन 'ऐंगल'ले हेरे पनि 'परफेक्ट' सन्यासी। पुरानो बानेश्व देखि गौशाला बिचमा पैतृक घर भएका उनी भारतमा गई सन्यासी बनेका थिए।  

उनले  भारतको आसाम राज्यमा आश्रम बनाई जीवनयापन  गरी रहेका थिए।  हरिद्वारमा हामी दुबैको भेट भयो।  दुबैले त्यहाँको गर्मी खप्न नसकेर बद्रीनाथ जाने योजना बनाएका थियो ।

उनी गाँजाका अत्यन्त पारखी, आफ्नो जिउ चिलिम जस्तो भए पनि उनले जुनसुकै कालो पदार्थले भरिएको  चिलिम किन नहोस भोलेशंकरको नाममा  उनी सहर्ष उडाइ दिन्थे। यात्राका दौरान बसमा चिलिम तान्ने सुविधा उपलब्ध हुन्न भनेर उनले एक बट्टा चुरोटमा अप्रेसन गरी कालो पदार्थ भरेर राखेका थिए।

धूम्रपान गर्ने नियत र मनशायले हामी दुबैजना बसको अन्तिम सीटमा विराजमान भएका थियो।  गुड्दै गरेको बसमा हामीले धूमावतीको आवाह्वान गर्यौ।  २-३ पटकसम्म चुरोट तनाईमा  कुनै सहयात्रीले आपत्ति गरेन।

पछाडि पटीको झ्याल खोलेर हामी आनन्दपूर्वक चुरोट उडाउदै  यात्रा गरी रहेका थियो।  चौथो अथवा पाचौ पटकको हाम्रो यस आनन्द लिने क्रममा एकजना सहयात्रीले विघ्न हाले।  उनले बसभित्र चुरोट नखान भने।

गजानन भने यस्ता स्थिति बाट अनेको पटक गुज्रिसकेका खग्गू साधू ! उनले तुरुन्तै सहयात्रीलाई हपार्दै  भने - शान्तिसँग बस बच्चा सन्यासीले शिव बूटी सेवन गरी हाल्छ।
सहयात्रीले पुनः विनम्रतापूर्वक भन्यौ -  गुडेको बसभित्र नखानुस, तपाईले बस रोकाएर खादा   कसैलाई आपत्ति हुँदैन।

मनको अराजक, तानाशाही प्रवृति ! सहयात्रीको विनम्रतामा  उसलाई हप्काउँदै गजानन कड्किये-तिमी पागल हो, यति लामो यात्रा छ आधी आधी घण्टमा शिव बूटी ग्रहण गर्न बस रोकाउने  हो भने बद्रीनाथ कहिले पुगिन्छ ?

अब सहयात्रीको मन पनि के कम ? उनी पनि चर्किए र विवाद गर्न थाले।  विवाद सुनेर बसका सहायक आई पुगे।  गलती पूर्णरूपेण हाम्रै थियो तर उनले दुबै पक्षलाई सम्झाउने प्रयास गरे। तर बिचरा उसको कुरा कस्ले सुनने ? गजानन र सहयात्री दुबै विवाद गरी रहे।  अन्तमा ती बस सहायकले दुबैजनालाई बसको सीट माथी लेखिएको पंक्तितिर इशारा गर्दै हेर्न भने।  त्यहाँ रातो रंगमा लेखिएको थियो- तपाईको व्यवहार नै तपाईको असली परिचय हो।  पढेर दुबै शान्त भए, मेरो टाउको लाजले निहुरियो।

शेष यात्राभरी न गजाननले कालो पदार्थ ताने न मैले चुरोट।  कति ठूलो सीख दियो त्यस बस सहायक भाईले ! हाम्रो लुगा लगाई ,हाम्रो भनाइ  र हाम्रो व्यवहारमा ठूलो अन्तर थियो, हाम्रा नेता जस्तै ,हाम्रा गुरु जस्तै  हाम्रो समाजका तथाकथित ठेकेदार जस्तै।

मेरो जीवनका सैद्धांतिक पक्ष र मेरो आफ्नै व्यवहारमा रहेका असमानताको ठूलो खाडल मेटी दिन सहायक बने  बद्रीनाथ यात्राका ती बस सहायक।
मैले जीवनमा भेटेका गुरुहरुको लिस्टमा एउटा नाम थपियो जसको मलाई नामसम्म थाहा भएन।