अलजारी जोसेफको घातक बलिङमा मुम्बई विजयी

अलजारी जोसेफको घातक बलिङमा मुम्बई विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २४, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ । 

१३७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावाद म्यान अफ दि म्याच अलजारी जोसेफको घातक बलिङसामु टिक्न नसकेपछि विपक्षीलाई नतिजा सुम्पन बाध्य भएको हो । 

जोसेफले ३.४ ओभरमा १२ रन खर्चेर ६ विकेट लिए । उनको पारीमा १ मेडन पनि समावेश थियो । 

हैदरावाद १७.४ ओभरमा ९६ रनमा अलआउट भएको थियो । ४.१ ओभरमा ३३ रनमा दुई सुरुवाती ब्याट्सम्यान गुमाएपछि हैदरावादको इनिङ धरमराएको थियो । यसअघिका खेलमा आक्रामक ब्याटिङ गरेका डेबिड वार्नरले १५ र जोनी बेरस्ट्रोले १६ रन मात्रै बनाउन सके । वार्नर र बेरस्ट्रो आउट भएपछि हैदरावादले निरन्तर विकेट गुमायो । हैदरावादका लागि दीपक होडाले सर्वाधिक २० रन जोडे । 

त्यसअघि मुम्बईको इनिङ पनि खासै राम्रो हुन सकेन । १२.५ ओभरमा ६५ रनमा पाँच विकेट गुमाएको अवस्थामा क्रिजमा आएका क्यारोन पोलार्डले इनिङ सम्हालेका थिए । 
पोलार्डले २६ बलमा ४६ रनको पारी खेलेपछि मुम्बईले १३६ रनको सम्मानजनक टोटल बनाएको थियो । 

जितसँगै मुम्बई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । मुम्बईले पाँच खेलबाट ६ अंक जोडेको छ । 
अंक तालिकाको शीर्षमा चेन्नई सुपर किंग्स छ । चेन्नईको पाँच खेलबाट आठ अंक छ । यस्तै, अंक तालिकाको दोस्रो र तेस्रोमा क्रमशः सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स छन् । यी दुवैको पनि ६ अंक छ । यी दुवै टोली रनरेटका आधारमा मुम्बईभन्दा अघि छन् ।