‘अब मर्नु पदैन’ ! वैकल्पिक क्यान्सर उपचारका पद्धतिका ‘हिरो’ अर्थात् विश्व बस्नेतका समावेशी विकल्प

‘अब मर्नु पदैन’ ! वैकल्पिक क्यान्सर उपचारका पद्धतिका ‘हिरो’  अर्थात् विश्व बस्नेतका समावेशी विकल्प

आशिष पौडेल  |  दृष्टिकोण  |  मंसिर २, २०७७

नाम, प्रतिष्ठा सबै आर्जन गरिसक्नु भएका निर्माता, निर्देशक तथा पुराना अभिनेता विश्व बस्नेत अहिले  भोगाइको क्रममा जीवन यात्राको अर्को मोडमा हुनुहुन्छ ।  यो बदलाव ज्ञान, ध्यान, आध्यात्मिकता प्रतिको रुचि अनि मानव सेवा र धर्म प्रतिको समर्पणको कारक रहेको उहाँको ठम्याई छ । 

यसको पुष्टि आफ्नो पछिल्लो चलचित्र ‘स्कूल’ हो भन्नुहुन्छ उहाँ । चलचित्र 'स्कूल'को पृष्ठभूमि पनि स्कूलकै रहेको छ । साथै यो आध्यात्मिकतामा आधारित पहिलो नेपाली चलचित्र समेत हो ।  चलचित्र कलाकार सङ्घ, निर्माता सङ्घ, निर्देशक समाज लगायत चलचित्र क्षेत्रका थुप्रै सङ्घसंस्थामा उहाँको अग्रणी भूमिका थियो कुनै बेला । र, आधिकारिक रुपमा नभए पनि धेरै संस्थाको संस्थापक र अभियानकर्मी हो उहाँ । खोतल्दै जाँदा यो इतिहासले बोल्ने कुरा हो ।

अर्को कुरा नेपालको पहिलो सिने मासिक मधुरम, पहिलो पर्फमिङ आर्ट्स स्कुल कला सङ्गम प्रतिष्ठान, पहिलो बाल चलचित्र एकादेशमा, बैङ्कबाट कर्जा लिएर बनेको पहिलो चलचित्र अन्याय, पहिलो आध्यात्मिकतामा आधारित चलचित्र 'स्कूल', आदि थुप्रै उहाँका कामका अघि पहिलो जोडिएर आउँछन् । त्यस्तै हिरो खेलेर पहिलो निर्माता । अनि हिरो र निर्माताबाट पनि पहिलो निर्देशक । तर अब यो विगत भैसकेको कुरोलाई उक्काएर केही फाइदा छैन भन्नुहुन्छ, उहाँ । 

यी सबै नाम, सम्मान, प्रतिष्ठा अनि कुनै बेला हात्ती, घोडा र सयौँ बिघा जमिन भएको एउटा प्रतिष्ठित परिवारको सदस्य उहाँ हाल भने परिवारसँग समेत अलग रहेर आफ्नै मर्जीको स्वतन्त्र अनि अरूका नजरबाट ओझेल परेर ‘बिन्दास’ जीवन बिताइरहनु भएको छ । अभिनय उहाँको अब्बल रह्यो । चलचित्र निर्माण तथा निर्देशन पनि सबल रहे । तर, आर्थिक उर्पाजनको मामिलामा उहाँ सफल देखिनु भएन । उहाँलाई समयले साथ दिएन भनौँ वा भाग्यले धोखा दियो । 

कतै यो आर्थिक असफलता वा परिवारसँगका मनमुटाब त उहाँको यो स्वतन्त्र जीवनको पर्याय होइन भनेर सोध्दा उहाँ यसलाई सोझै नकार्नु हुन्छ, उहाँ भन्नुहुन्छ, यस कुरा प्रति मलाई अलिकति पनि गुनासो छैन । पैसा हुने मानिसहरू त्यसैमा यति व्यस्त हुन्छन् कि उनीहरूलाई सुखको अनुभव गर्ने फुर्सद नै हुँदैन । रात दिन पैसा पैसा भन्दैमा जीवन जान्छ । सुख पैसामा हुने होइन । जति भौतिक कुराहरूमा सुख खोज्यो सुख त्यति टाढा हुँदै जान्छ । सन्तोषम् परम् सुख । 

तसर्थ सन्तोष अनि सुख आफैंले लिनु पर्छ र लिन जान्नुपर्छ । वर्तमान अवस्था नै सुख दुख सबैको कारक हो । वर्तमानमा बाँच्न जान्यो भने मात्र सुख हुन्छ । अन्यथा भूत र भविष्य हेर्न थालियो भने त्यसले निराशा, अशान्ति र दुःख दिन्छ भन्ने उहाँको मान्यता छ । 

मानिसले आखिर मरेर पनि केही लाने होइन । ‘हु विल क्राइ, व्हेन यु डाई’, किताबमा भनेजस्तै तिमी मर्दा को रुन्छ त्यसले केही हदसम्म माने राख्छ भन्ने आदर्श बोकेको उहाँ विगत पाँच, छ वर्षदेखि भने क्यान्सरको वैकल्पिक उपचार विधिका बारेमा निरन्तर अध्ययन र अनुसन्धानमा जुटिरहनु भएको छ ।मानिसको स्वास्थ्य सबल हुनुपर्छ भन्ने कुरामा उहाँ पहिलेदेखि सचेत हुनुहुन्थ्यो । आखिर जतिञ्जेल बाँचिन्छ स्वस्थ भएर बाँच्नुपर्छ भन्ने उहाँको भित्री मान्यता हो । 

शायद स्वस्थ भएर बाँच्ने उहाँको हुटहुटी नै यो खोजको पर्याय हुनसक्छ । इन्टरनेटको सहजताले यसलाई झनै सहज बनाएको छ । कहिले त उहाँ बिहान सात बजेदेखि राति एघार बजेसम्म पनि इन्टरनेटमै बसिरहनु हुन्छ । यही शोध, खोज, अध्ययन अनि अनुसन्धानका कारण होला क्यान्सरका बारे डाक्टरले थाहा नपाएका, नजानेका तथा अवगत नभएका अन्य धेरै उपचारका बारेमा समेत आफूलाई संज्ञान भएको दाबी गर्नुहुन्छ उहाँ । 

हाम्रो शरीरमा पहिलेदेखि नै क्यान्सरका सेलहरू रहेका हुन्छन् । तथा दैनिक दश हजारदेखि एकलाखसम्म सेलहरू बन्ने र त्यसलाई मार्ने काम हाम्रो प्रतिरक्षा प्रणालीले गरिरहेको हुन्छ । जब प्रतिरक्षा प्रणाली कमजोर हुन थाल्छ तब क्यान्सरको सेल विकसित हुन थाल्छ । तर, यो हामीले थाहा पाए जस्तो आजको भोलि भने हुँदैन यसका लागि कम्तीमा पाँचदेखि दश वर्ष लाग्छ, उहाँ भन्नुहुन्छ । 

अब ज्ञान त भयो । तर, ज्ञानको उपयोग भएन भने त्यो आफूसँगै समाप्त भएर जाने डर हुन्छ । यस कारण उहाँको यो ज्ञानका जानकार केही साथीहरूले यसलाई संस्थागत गर्ने उद्देश्यले सबै मिलेर एउटा वैकल्पिक उपचार केन्द्र खोल्ने सुझाव र सहमति समेत दिनुभयो । सोही अनुरूप एउटा कम्पनी दर्ता भयो, ‘रिभाईव हेल्थ एण्ड वेलनेस एण्टी क्यान्सर एण्ड एण्टी एजिङ सेन्टर’ । 

क्यान्सरको एलोपेथिक उपचारबाट मानिस बाँच्ने वास्तविक तथ्याङ्क भनेको दुईदेखि अढाई प्रतिशत मात्रै हो । यो मैले भनेको होइन, यस बारे खोजी गर्दा पाइन्छ, उहाँ भन्नुहुन्छ  । तर यो कुराको प्रचार हुँदैन । अनि अधिकांश मानिसहरूलाई पनि थाहा छैन । क्यान्सरको उपचारमा उपचार पछि पाँच वर्ष बाँचेकोलाई सफल मानिन्छ । 

पाँच वर्ष पुगेर त्यसको एक महिना भित्र मृत्यु भयो भने पनि त्यसलाई उपचारको सफलतामा सूचित गरिन्छ । यसरी क्यान्सरको उपचारमा पाँच वर्ष भित्र पैसा पनि सकिन्छ अनि मान्छे पनि, उहाँ भन्नुहुन्छ । उहाँ स्वास्थ्य सम्बन्धी कुराको अध्ययनमा पहिले देखि नै रुचि राख्नुहुन्थ्यो । तर, जब पाँच वर्ष अगाडि उहाँको नजिकको आफन्तलाई घाँटीको क्यान्सर भयो । त्यसपछि उहाँको अध्ययन भने केवल क्यान्सरको वैकल्पिक उपचार पद्धतिमा मात्र केन्द्रित भएको छ । यसको अध्ययनमा नै तीव्रता ल्याउनु भएको छ, उहाँले ।

क्यान्सरको वैकल्पिक उपचार पद्धतिका बारेमा पहिलो त मान्छेलाई बुझाउनै गाह्रो छ, उहाँ भन्नुहुन्छ । यत्रो हस्पिटल अनि अध्ययन गरेर आएका डाक्टरले नजानेको कुरो यसले कसरी जान्यो भनेर मान्छेले पहिले त विश्वास नै गर्दैनन् । कतिपय मान्छे उहाँको कुरा सुनेर विश्वस्त भएर  घर गए पश्चात् भने के हुन्छ थाहा हुँदैन । कसको कुरा सुन्छन् अनि आउँछु भनेर गएकाहरू पनि फर्केर आउँदैनन् । 

अधिकांश मानिसहरू एलोप्याथीमा यति समर्पित हुन्छन् कि उनीहरूलाई क्यान्सरको अन्य वैकल्पिक उपचारका विधिहरू पनि छन् भन्ने बारेमा पहिले त जानकारी नै हुँदैन् । जसलाई जानकारी छ उसलाई पनि अन्य विधि वा उपचार पद्धतिका बारे विश्वास गर्नै पनि गाह्रो हुन्छ । उहाँको सम्पर्कमा आएका मानिसहरूलाई पनि उहाँले केवल विकल्पहरू बारे अवगत गराउने मात्रै हो । उपचार एलोप्याथीमा नै गराउने हो वा अन्य विधिबाट भन्ने बारेमा उनीहरूको आफ्नै स्वतन्त्रता र इच्छा रहन्छ । 

के हो त वैकल्पिक उपचार पद्धति ? 

आयुर्वेदले केवल आयुर्वेदीय पद्धति, होमोप्याथीले होमोप्याथीकै पद्धति र एलोप्याथीले एलोेप्याथी बाहेक अन्य उपायका बारेमा सुझाउँदैन । तर, उहाँको यो पद्धति भने एक प्रकारले भन्नुपर्दा सबै विधिहरूको सम्मिश्रण हो । समावेशी वैकल्पिक (integrative alternative treatment) उपचार पद्दति ।  हामीलाई निको हुनुसँग मतलब छ । कुन विधिबाट भन्ने महत्त्वपूर्ण होइन, उहाँ भन्नुहुन्छ । यसमा आवश्यकता अनुसार एलोप्याथीदेखि लिएर अन्य सबै उपचार तथा डायग्नोस्टिक विधिहरूको सहयोग लिन सकिन्छ, उहाँ भन्नुहुन्छ । 

यस विधिमा विदेशमा उपलब्ध हुने महँगो चिजहरूको साटो आफ्नै वरपर स्थानीय रुपमा उपलब्ध हुने सामग्री र उपचारको उपयोगमा जोड दिइन्छ, उहाँ भन्नुहुन्छ । यसमा आहार विहारदेखि योग, ध्यान, प्राणायाम, प्रार्थना, सौर्य ताप, माटोको उपयोगदेखि अन्य विविध कुरा समावेश गरिएको छ, उहाँ भन्नुहुन्छ ।

हाम्रो शरीरमा पहिलेदेखि नै क्यान्सरका सेलहरू रहेका हुन्छन् । तथा दैनिक दश हजारदेखि एकलाखसम्म सेलहरू बन्ने र त्यसलाई मार्ने काम हाम्रो प्रतिरक्षा प्रणालीले गरिरहेको हुन्छ । जब प्रतिरक्षा प्रणाली कमजोर हुन थाल्छ तब क्यान्सरको सेल विकसित हुन थाल्छ । तर, यो हामीले थाहा पाए जस्तो आजको भोलि भने हुँदैन यसका लागि कम्तीमा पाँचदेखि दश वर्ष लाग्छ, उहाँ भन्नुहुन्छ । 

डाक्टहरुले क्यान्सर हुनुको कारण थाहा नभएको अनि जेनेटिक रोग हो भन्ने कुरामा जोड दिन्छन् । तर वास्तवमा जेनेटिकको पाँचदेखि दश प्रतिशत मात्रै भूमिका हुन्छ । र, बाँकी अन्य भने खानपिन तथा रहनसहनले निधारण गर्छ ।  विषादी युक्त तरकारी तथा फलफूल, हामीले बाल्ने सिफएल चिम, दाँत माझ्ने फ्लोराइड युक्त मन्जन, स्याम्पु, खानेकुरामा स्वादका लागि हालिने अजिनोमोटो, हामीले खाना बनाउने सिलाभरको भाँडा आदि सबै क्यान्सर कारक् तत्त्वहरू हुन । अनि यी कुराहरूको उपयोग जति कम गर्‍याे उति क्यान्सर लाग्ने सम्भावना न्यून हुँदै हुन्छ ।  

एलोप्याथी उपचारमा खाली क्यान्सर सेल या ट्युमरलाई किमो, रेडिएसन दिएर मार्ने वा सर्जरीका माध्यमबाट काटेर फाल्ने गरिन्छ । तर, क्यान्सर के कारणले भएको हो त्यसको जरासम्म पुग्ने काम हुँदैन । त्यस कारण यो ‘ट्रिटमेण्ट’ मात्र हो ‘क्योर’ होइन्, उहाँ भन्नुहुन्छ । किमो वा सर्जरीले केही समय रोगलाई दबाए पनि पछि क्यान्सरका रुपमा  ब्युँतने सम्भावना यस कारण धेरै रहन्छ कि एलोप्याथीमा रोगको कारण पत्ता लगाउने काम हुँदैन, उहाँ भन्नुहुन्छ । 

यदि मानिसको खानपान, रहनसहनका कारण क्यान्सर भएको रहेछ भने उपचार पछि पनि उसको रहनसहनमा त परिवर्तन आएको हुँदैन र बल्झने सम्भावना प्रशस्तै हुन्छ । 

मनोवैज्ञानिक कारणले भएको रहेछ भने त झन् यसमा त किमो अनि रेडिएसनले त छुने सम्मको काम पनि गर्दैन् । यस कारण पनि क्यान्सर बल्झिने खतरा रहिरहन्छ, उहाँ भन्नुहुन्छ । 

तर, वैकल्पिक उपचार पद्धतिमा भने मानिसको खानपान रहनसहनदेखि के कारणले क्यान्सर भएको हो त्यो पत्ता लगाएर मात्र उपचार सुरु गरिन्छ । यस कारण यसबाट उपचार भएर निको भएपछि अर्को पटक क्यान्सर बल्झिने सम्भावना एकदमै न्यून हुन्छ । 

क्यान्सरको उपचारमा प्रयोग गरिने किमो आफैँमा विष हो । र यसलाई नाङ्गो हात वा छालाले छुनु हुँदैन भनेर त्यसमा नै लेखिएको हुन्छ । ‘कार्सियोजनिक’ हरेक कुरा क्यान्सरको कारक हो । त्यसमा किमो पनि पर्छ । त्यस्तै रेडिएसन पनि । 

एउटै उमेर, उस्तै शारीरिक बनावट र उही रहनसहन भएका मानिसमा समान क्यान्सर भएको रहेछ भने एलोप्याथी उपचार गराउने भन्दा नगराउने मानिस चाहिँ धेरै बाँच्छ । यसमा एउटा मनोवैज्ञानिक कारण हो भने अर्को किमोको प्रयोग नगर्नु पनि हो । 

क्यान्सरको वैकल्पिक उपचार पद्धतिका झन्डै छ सयभन्दा बढी प्रकारका विधिहरू छन् । यसमा ग्रिन टी मात्रैको प्रयोग देखि बेसार, घ्यूकुमारी, ईसेन्सियल आयल, घाम, पानी, माटो आदि अन्य धेरै धेरै छन् । 

तर, उही प्रकारको क्यान्सरमा पनि सबैमा उही विधिले काम गर्छ भन्ने छैन । यसमा भने अध्ययन र अनुभवको जरुरत पर्दछ । तर, एलोप्याथीमा भने सबैलाई उही किमो र रेडिएसनको प्रयोग गरिन्छ । 

यदि कोही क्यान्सर भएर वैकल्पिक उपचारका लागि आएका खण्डमा बिरामीको बाँच्ने इच्छा छ कि छैन भन्ने बाट उपचार सुरु गर्नुपर्छ । किनकि पहिले त बिरामीलाई बाँच्ने इच्छा छ कि छैन नै महत्त्वपूर्ण हुन्छ । । यदि बिरामीमा बाँच्ने इच्छा छैन भने उसलाई कुनै प्रकारको उपचार तथा विधिले काम गर्दैन् । कहीँ न कहीँ केही न केहीमा उसको जिजीविषा जोडिएको हुनुपर्छ उपचार सुरु गर्न पनि । 

अनि त्यसपछि बल्ल उसको उपचार सुरु हुन्छ । उसको लवाई कस्तो छ ? खानपिन कस्तो छ ? के खान्छ ? कस्तो ठाउँमा बस्छ, कस्तो हावामा श्वास फेर्छ ? बस्ने ठाउँमा घाम लाग्छ लाग्दैन ? व्यायाम गर्छ कि गर्दैन ? र गरिरहेको छ भने ठिक ढङ्गले गरिरहेको छ कि छैन यो सबै हेरिन्छ । त्यस कारण क्यान्सर रोगीहरूलाई यो बुझाउन मात्र पनि तीन चार घण्टा खर्चनु पर्छ । 

कोही क्यान्सरको बिरामी छ भने पहिले त उ अस्पताल नै जान्छ किनकि क्यान्सर भन्ने बित्तिकै उसको मनमा यो निको नहुने रोग हो र यो रोग लागे पछि मरिन्छ भन्ने एक प्रकारको सूचना तथा जानकारी मस्तिष्कमा पहिले देखि नै हालिएको हुन्छ ।  उ हान्निएर अस्पताल जान्छ । अस्पतालले उपचार छैन, हुँदैन भनेपछि मात्र उ वैकल्पिक विधिका बारेमा सोधखोज गर्न थाल्छ । र, यदि कोही पहिले नै आयो भने पनि उसलाई सम्झाउँदा पनि उसको मनले मान्दैन । 

यस कारण कि क्यान्सरको उपचार भनेको अस्पतालमा डाक्टरले मात्र गर्छन् । उनीहरूले नै यस सम्बन्धमा जानेका हुन्छन्, पढेका हुन्छन् भन्ने कुरो उसले देखेको छ र बुझेको छ । यस कारण पनि उ अरूले भनेको सुन्ने वाला छैन, उहाँ भन्नुहुन्छ । रोगीले पैसा पनि सिध्याउँछ, किमो र रेडिएसनले जिउ थिलथिलो बनाइसक्छ अनि मात्र बिरामी आउँछ वैकल्पिक उपचारमा । तर, त्यस्तो अवस्थामा आएको बिरामीलाई पनि पचास प्रतिशत जतिलाई बचाउन सकिन्छ वैकल्पिक विधिबाट, उहाँ भन्नुहुन्छ । 

बैकल्पिक क्यान्सर उपचारका असली हिरोहरु

अस्पतालबाट मर्ने अवस्थामा फर्काइएका नब्बे प्रतिशत क्यान्सर पीडितहरूलाई निको पारेको उदाहरण छ जर्मनीकी डाक्टर जोहाना बड्विग नाम गरेकी बैज्ञानिककाे । तर, उहाँको उपचारको सराहना र समर्थन गर्नुको साटो विपक्षीहरूले मुद्दा लगाएर अनेकौँ दुःख दिए । उहाँलाई नोबेल पुरस्कारका लागि सात पटक सूचीकृत गरिए पनि कहिले पनि पुरस्कार दिइएन । किनकि त्यहाँ पनि षडयन्त्र छ । पूँजी बजारको खेल छ । औषधि माफियाको ठूलो चलखेल छ, उहाँ भन्नुहुन्छ । 

यस्तै रिन् केष (Rene Caisse) नाम गरेकी एक क्यानडाकी नर्सले पनि यस्ता हजारौँ क्यान्सर रोगीलाई वैकल्पिक उपचार पद्धतिबाट निको बनाएको रेकर्ड छ । त्यहाँ उनको नाममा सालिक नै राखिएको छ । उनको उपचार सस्तो अनि कतिपय अवस्थामा निःशुल्क थियो । तर, उनले पनि निकै सास्ती खेप्नु परेको थियो मूलधारका औषधिव्यवसायीहरूबाट । 

यस्तै अन्य उपचारकहरुमा डा.म्याक्स गर्सन, ह्यारी होक्सी, डा. रेमन्ड राईफ तथा अन्य हुनुहुन्छ । तर, उहाँहरु सबैलाई विस्थापित गरियो । यी सबैको कथा अनि विस्तृत जानकारी छिट्टै प्रकाशन हुन गइरहेको उहाँको पुस्तक ‘अब मर्नु पदैन’ मा रहेको छ ।

उहाँका बारे कतैबाट सुनेर होला, एक पटक नायिका सारंगा श्रेष्ठले आफ्नी आमालाई क्यान्सर भएको खबर गर्नुभयो । बिरामीलाई लिएर वा आफैँ एक पटक भेट्न आउनु भन्नुभयो उहाँले । तर, पछि उहाँ आउनु भएन । उहाँ स्वयंले खबर गर्दा पनि आलटाल गरे पछि कुरा त्यहीँ समाप्त भयो  । 

त्यस्तै अर्का कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमतीलाई पनि अठ्हत्तर पटक किमो दिएको समाचार आयो । उहाँले अरु सम्पर्क सूत्रको प्रयोग गरेर कुरा गर्नुभयो । तर, खासै चासो कसैले देखाएन अनि जवाफ पनि आएन । 

अर्को, डा.उपेन्द्र देवकोटा क्यान्सरले अन्तिम अवस्थामा पुगेको खबर आएपछि उहाँले फेसबुकमा म उपचार गर्न सक्छु भनेर स्ट्याटस लेख्नुभयो । धेरैले भाउ खाएर किन बस्नुहुन्छ सक्ने भए उपचार गरेर देखाउनुस् पनि भने । उहाँलाई ठिकै लाग्यो त्यो कुरा । 

डा.देवकोटाले उहाँको ढाडको समस्या हुँदा उपचार पनि गर्नुभएको थियो । त्यस हिसाबले पनि उहाँले डा.देवकोटालाई सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य ठान्नुभयो । अनि क्यामेरा पर्सन मिन बज्राचार्य जो डा. देवकोटासँग नजिक थिए, लाई मध्यस्थता गरिदिन अनुरोध गर्नुभयो । बज्राचार्यले उहाँको परिवारसँग सम्पर्क गरेपछि आउनुस् भेट्न भनियो । उहाँले आफ्ना डकुमेन्ट सबै बोकेर न्युराे हस्पिटल, बाँसबारी जानुभयो । 

एउटा कलाकार मान्छे एक्कासि डा.देवकोटाको क्यान्सर उपचार गर्छु भन्दा नपत्याउन पनि सक्छन् भनेर उहाँले ती सरजाम बोक्नु भएको थियो । गएर देवकोटाका भाई र न्युरो हस्पिटलका सञ्चालकलाई भेटेर आफ्नो कुरा राख्नुभयो । उहाँको भाईले उहाँहरू बुढाबुढी नै डाक्टर, हामीले के भनी रहनु, म कुरासम्म राखिदिउँला भन्नुभयो । 

त्यसको दुई दिन पछि उहाँको भाई भेट्न पनि आउनु भयो । एक, दुई वटा औषधि पनि लानुभयो । तर खासै चासो दिएर अगाडी गर्नुपर्ने कार्यहरू भने गर्नुभएन अन्तिम अवस्था भनेर । तर पनि उहाँ त्यसको दुई तीन महिनासम्म बाँच्नु भयो । 

आखिर वैकल्पिक उपचार विधि अपनाएको भए यो दुई तीन महिनामा नै उहाँको रिकभर हुने थियो । आफैँ उपचार गर्ने भन्दा पनि उहाँलाई भने बाटो देखाइदिने काम गर्न सक्थेँ मैले, उहाँ भन्नुहुन्छ । संसारका उच्च कोटीका वैकल्पिक क्यान्सर उपचार सेन्टरका बारे थाहा भएको हुनाले उहाँलाई त्यहाँ रिफर गरिदिन सक्थेँ । समन्वय पनि गरिदिन सक्थेँ, उहाँ भन्नुहुन्छ । 

किनकि त्यहाँ अनुभवी, उपचार गराइराखेका डाक्टर, वैज्ञानिक, अनुसन्धानकर्मीहरू छन् । उहाँहरूसँग उपचार गराउँदा विश्वास पनि हुन्छ । म त भर्खर अध्ययन गरेर सुरु गरेको मान्छे । मैले त गरिब, असहाय, पैसा नभएकालाई मात्र गर्ने हो, उहाँ भन्नुहुन्छ । क्यान्सरको उपचार भन्ने बित्तिकै धेरैले महँगो होला भनेर सोध्छन् उहाँलाई पनि । तर, निको हुनु ठूलो कुरा हो पैसाको बारेमा चिन्ता नगर भन्ने जवाफ रहन्छ उहाँको । 

क्यान्सरको परीक्षणका लागि नयाँ अनि सुरक्षित प्रविधिहरू छन् जस अन्तरगत क्यान्सर धेरै अगाडि पत्ता लाग्न सक्छ तर ती प्रयोग हुँदैन । 

वायोप्सी गर्ने भनेको यदि क्यान्सर भएको रहेछ भने त्यसलाई फैलिन दिएर चाँडै मृत्युको मुखमा पुर्‍याउनु हो भन्नुहुन्छ, उहाँ । यो कुरा विशेष गरी पुरुषको प्रोस्टेटमा लागु हुन्छ । त्यस्तै महिलाहरूको म्यामोग्राम गराउनु पनि खतरनाक हो, यसले क्यान्सर नभएका अनि नहुने स्वस्थ महिलाहरूलाई पनि छिट्टै क्यान्सरको मुखमा पुर्‍याईदिन्छ । यो क्यान्सर उद्योगको ठूलो ठगी धन्दा हो । 

जबकि थर्मोग्राफी भन्ने प्रविधिले सहजतापूर्वक कुनै खतरा मोल्न नपरीकन स्तन क्यान्सर भए नभएको पत्ता लाग्छ । प्रोस्टेट अनि स्तन क्यान्सर बारे छुट्टै अध्यायहरू उहाँको छिट्टै प्रकाशन हुन लागेको वैकल्पिक उपचार विधिको पुस्तक 'अब मर्नु पर्दैन'  मा पनि उल्लेख गरिएको छ ।

उहाँको मुख्य उद्देश्य भनेको क्यान्सरको वैकल्पिक उपचारका लागि एउटा अस्पताल निर्माण गर्नु रहेको छ । तर, त्यसका लागि पनि अहिले नै महँगो ढङ्गले निर्माण सुरु गर्ने नभईकन केही खुला ठाउँ सहितको एउटा भवन भए पुग्ने उहाँको विचार छ । 

साथै केही उपकरण पनि जरुरत पर्छ । यदि कोही दाता यसका लागि उपलब्ध हुने हो भने यो काम चाँडोभन्दा चाँडो सुरु गर्ने सोचमा हुनुहुन्छ उहाँ ।  आफूले यो कामको शुरुवात गराएर भावी पिँडीलाई हस्तान्तरण गर्ने अर्थात् यो ज्ञान सुम्पेर जाने उहाँको सोच हो । नत्र आफू अस्ताएका दिन आफूसँगै यो ज्ञान पनि मर्ने हुनाले उहाँलाई यो कुराले भने धेरै पटक सोच्न बाध्य गराएको छ ।