जडिबुटी सङ्कलनलाई बनाएको भवन भाडामा

जडिबुटी सङ्कलनलाई बनाएको भवन भाडामा

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ३, २०७७

म्याग्दी । जडिबुटी सङ्कलन र भण्डारणका लागि सरकारी अनुदान लिएर म्याग्दी उद्योग वाणिज्य सङ्घले बेनीमा बनाएको भवन भाडामा लगाएको छ । प्रदेश सरकारको अनुदानमा कार्यालय भवनको तला थपेको म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)लाई कोठा भाडामा लगाएको हो । डिभिजन वन कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०७५/७६ मा सङ्घले सहकारीमार्फत जडिबुटी उत्पादन, खेती विस्तार, भण्डारण, प्रशोधन र बजारीकरण कार्यक्रमका लागि  १४ लाख २५ हजार रुपैयाँ अनुदान पाएको थियो । 

सो अनुदानबाट सङ्घले कार्यालय भवनको माथिल्लो तलामा एक कोठा बनाएको थियो । कूल रु १७ लाख ८१ हजार लागत अनुमान गरिएको कोठा बनाउन सङ्घले ३० प्रतिशत लगानी गरेको देखाएको छ । सो कोठामा प्रवासी नेपाली म्याग्देली सङ्घ ९मोना० अन्तर्राष्ट्रिय कार्यसमितिको प्रधान कार्यालय राखिएको छ । जडिबुटी हुनुपर्ने कोठाभित्र सोफा, दराज, कुर्ची र टेबुल छन् । 

डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले अघिल्लो आर्थिक वर्षमा निर्माण भएको उक्त भवनको सम्झौता अनुसारको काम भएपछि भुक्तानी भएको बताउनुभयो । अनुदान लगेर उद्देश्यअनुसार काम नगर्नेलाई के गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था नहुँदा समस्या भएको उहाँको भनाइ छ । 'अघिल्लो आर्थिक वर्षमै बनेको भवन हो,' उहाँले भन्नुभयो,'जे उद्देश्य हो त्यही अनुसार प्रयोग भए राम्रो हुने हो । उद्देश्य विपरीत प्रयोग गर्नेलाई के गर्ने भन्ने स्पष्ट व्यवस्था छैन् ।'

म्याग्दीका गुर्जा, मुदी, चिमखोला, कुइनेमङ्गलेलगायतका उच्च पहाडी क्षेत्रका जङ्गलमा जडिबुटी पाइन्छ । जङ्गलमा सङ्कलन गरेर ल्याएको जडिबुटी भण्डारण गर्ने सुविधा सम्बन्धित ठाउँका कृषकलाई छैन् । उनीहरुले आफ्नै घर–घरमा जडीबुटी भण्डारण गर्छन् । जडिबुटी सङ्कलन हुने ठाउँमा बनाउनुपर्ने पूर्वाधार बजारमा बनाउँदा कृषकले सुविधा नपाएका हुन् । 

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले भने भवन बनाए पनि जडिबुटी सङ्कलकले चासो नदेखाएका कारण रित्तै राख्नु भन्दा मोनाको कार्यालय सञ्चालनका लागि भाडामा दिएको बतानुभयो । उहाँका अनुसार मोनालाई कोठा भाडामा दिएको पाँच महिना भयो । 

जडिबुटी सङ्कलक तथा निकासीकर्ताले माग गरेमा भवनको भूइँ तलामा खाली हुन लागेको कोठामा भण्डारणको व्यवस्था मिलाउने अध्यक्ष कर्माचार्यले बताउनुभयो । 'एक वर्षसम्म खाली राख्यौं, कोही व्यापारी र सङ्कलक सम्पर्कमा आउनुभएन्,' उहाँले भन्नुभयो, 'खाली राख्नुभन्दा मोनाको कार्यालयका लागि दिएका हौँ । जडिबुटी भण्डारणका लागि आउनुभयो भने तल्लो तलाकै कोठा उपलब्ध गराउछाैं ।'

गाउँबाट ल्याएर निकासीका लागि लैजाने क्रममा बेनीमा अनुमति लिने समयसम्मका लागि राख्नका लागि सो कोठा बनाइएको हो । तर व्यापारीले जडिबुटी थोरै हुँदा आफूसँग राख्ने गर्छन् । डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा म्याग्दीबाट १९ प्रकारका जडिबुटी सङ्कलनलाई पूर्जि जारी भएको थियो । अतिसजरा, विष, नागबेली, खिरौले, लोक्ता, भिरमह, रातो च्याउ, निरमसी, कुट्कीजरा, सतुवाको गानो, पदमचालजरा, पानीअमला, पाषणभेद जरा, सुगन्धवाल, कुरिलोजरा, शिलाजित, अल्लो, मजिठोको डाँठ र चिराइतो सङ्कलनका लागि पूर्जि जारी भएको हो ।  

कोरोनाको जोखिमले गत वर्ष यार्सा गुम्बा सङ्कलन तथा छोडपूर्जि जारी भएन् । कूल २६ हजार ३४२ केजी जडिबुटी सङ्कलन गर्न छोडपूर्जी जारी भएको सहायक वन अधिकृत नवीन विश्वकर्माले बताउनुभयो । 'सङ्कलन पूर्जि जारी गरेवापत चार लाख सात हजार ८५० रुपैयाँ राजश्वसमेत सङ्कलन भएको छ', उहाँले भन्नुभयो 'सङ्कलन पूर्जि लगेका सबैले कोरोनाका कारणले निकासीका लागि छोडपूर्जी भने लिएका छैनन् ।'

रासस