अन्ततः विवाद, र उत्कर्षकै बीचमा नेकपा सचिवालय बैठक सुरु

अन्ततः विवाद, र उत्कर्षकै बीचमा नेकपा सचिवालय बैठक सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३, २०७७

काठमाडौँ । अन्ततः विवाद, मनोमालिन्य, आरोप(प्रत्यारोपकाबीच नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक दिउँसो एक बजे  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा प्रचण्डसहित सचिवालयका सम्पूर्ण सदस्य सहभागी हुनुभएको छ । सचिवालयमा अध्यक्षद्वय सहित नौ जना हुने व्यवस्था छ । 

यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाउनु भएको थियो । तर, नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले  बैठक दुई बजेलाई सारिएको थियो । 

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठक सार्ने कोशिश गरिरहनु भएको थियो । अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अर्का अध्यक्ष प्रचण्डकहाँ खुमलटार पुग्नु भएको थियो । 

प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किनु भएको थियो । त्यसपछि साँझ बालुवाटारमा ओलीले आफू निकट नेताहरुसँग सघन संवाद पनि गर्नुभएको थियो ।