निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ५० योजनामा

निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ५० योजनामा

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ३, २०७७

गोरखा । निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त चार करोड गोरखा विभिन्न ५० योजनामा बाँडफाँड गरिएको छ । 

कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क) मा प्राप्त दुई करोड रुपैयाँबाट विभिन्न २५ आयोजना र निर्वाचन क्षेत्र (ख) का लागि प्राप्त दुई करोड २५ रुपैयाँ योजनामा खर्च गर्ने गरी विनियोजन भएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोजकुमार गुरुङले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं २ (क) मा प्राप्त रकमले दुई वटा सडक स्तरोन्नतिमा २५ लाख रुपैयाँ छुट्याइएको प्रदेशसभा सदस्य हरिशरण आर्चायले जानकारी दिनुभयो । जसमध्ये गोरखा नगरपालिका कार्यालयदेखि सिमलगैरी नौबिसे सडक स्तरोन्नतिलाई २५ लाख रुपैयाँ र ठाँटीपोखरी चोकदेखि समिचौतारा देउराली सडकलाई २५ लाख रुपैयाँ विनियोजन गरिएको हो ।  पालुङटार नगरपालिका–२ को रातडाँडा युवा क्लब खेलमैदान निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
  
त्यस्तै गोरखा नगरपालिका–९ को शिखर सामुदायिक भवन निर्माण गर्न १० लाख रुपैयाँ, वडा नं १० स्थित चाइनिज क्याम्पदेखि सिर्दीखोलासम्मको सडक निर्माणमा पाँच लाख रुपैयाँ र चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतिलाई चार लाख रुपैयाँ छुट्याइएको सांसद आर्चायले बताउनुभयो । महिला समूहको भवन, नयाँ सडकको ट्र्याक, सामुदायिक भवन, खानेपानी आयोजना, बाख्रा फार्म,  खेलमैदान र मन्दिर निर्माणलगायत शीर्षकमा पनि बजेट विनियोजन गरिएको सांसद आर्चालले जानकारी दिनुभयो
  
त्यस्तै निर्वाचन क्षेत्र २ (ख) मा प्राप्त  दुई करोड रुपैयाँ मध्ये बारपाक सुलिकोट गाउँपालिका–२ पर्ने राङरुङ कोदेफेदी तुम्सीका मोटरबाटो बनाउन  २५ लाख रुपैयाँ, अजिरकोट गाउँपालिका– ४ स्थित बसेल कृषि तथा पशु फार्म निर्माण गर्न २५ लाख रुपैयाँ र सिरानचोक गाउँपालिका–५ मा चाँदनी हरिबले लालीगुराँस सामुदायिक भवन बनाउन २० लाख रुपैयाँ विनियोजन गरिएको प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो ।
 
कार्यक्रमअन्तर्गत क्षेत्र नं २ (ख) मा प्राप्त रकमबाट सिरानचोक–३ हार्मीमा चम्पावती माविमा घेराबार बनाउन १० लाख रुपैयाँ, वडा नं–८ मा रहेको चिप्लेटी खप्टे उम्रुङ सामुदायिक भवन बनाउन  ९ लाख रुपैयाँ,  वडा नं–६ मा नामरुङ आमा समूहको भवनका लागि  ९ लाख रुपैयाँ, बारपाक सुलिकोट– ३ मा रहेको माझथर मावि घेराबारका लागि ८ लाख रुपैयाँ, बारपाक सुलिकोट ३ को हुवामे ठोमो, छेलिङ, बौद्ध समाज घर अधुरो भवन बनाउन  ७ लाख रुपैयाँ र  अजिरकोट– ४ को हिमालय माविको घेराबारलाई  ८ लाख रुपैयाँ विनियोजना गरिएको उहाँले बताउनुभयो ।
  
त्यस्तै खोप केन्द्र, मन्दिर, कृषि तथा पशुपालन पूर्वाधार, सिँचाइ आयोजना, कृषि समूह भैँसीबाख्रा गोठ,  युवा क्लबको खेल मैदान, विद्यालयमा घेराबार र सामुदायिक भवन निर्माणलगायत शीर्षकमा बजेट बाँडफाँड गरिएको सांसद दवाडीले जानकारी दिनुभयो ।