वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको पाँच महिनापछि अन्त्येष्टि

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको पाँच महिनापछि अन्त्येष्टि

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ४, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार अन्त्येष्टि गरिएको छ ।

युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उहाँको हृदयाघातबाट मृत्यु भएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको  शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गर्नुभएको थियो ।

नेपाली समाज युएई र नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि  गरिएको जनाइएको छ । यसका लागि झापाको मेचीनगरमा रहेकी उनकी छोरी रीतु थापा र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९ को नोभेम्बर महिनातिर युएईको रसअल खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न जानुभएको थियो । उहाँले १३ नोभेम्बर २०१९ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिनुभएको थियो । यसैगरी उहाँले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ । बीमाको म्याद ५ अक्टोबर २०२२ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताउनुभयो ।

थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीहरुसँग मिलेर कोठा भाडामा बस्नुभएको र उहाँलाई दिउँसो २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपालीहरुसँगसँगै बसे पनि साथीलाई उहाँले आफ्नो घर ठेगानाबारे खुलाएका थिएनन् । उहाँको पासपोर्ट पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।