महर्षिको पुस्तकमा विमान चर्चा, पहिलो विमान बनाउने मानिस को ?

महर्षिको पुस्तकमा विमान चर्चा, पहिलो विमान बनाउने मानिस को ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र २४, २०७५

तपाई हामीमध्ये जसजसले तुलसीदासकृत श्री रामचरित्र मानस पढेका छौं, ती सबै जनालाई महर्षि भरद्वाजका बारेमा थाहा होला । रामायणमा महर्षिको खुबै प्रशंसा गरिएको छ । 

आयुर्वेदको पुस्तक चरकसंहिताका अनुसार यिनले इन्द्रबाट आयुर्वेदसम्बन्धी ज्ञान प्राप्त गरेका थिए । ऋग्वेदको छैठौं मण्डलका मन्त्र दृष्टा हुन् महर्षि भरद्वाज । यस मण्डलमा भरद्वाज रचित ७६५ मन्त्र रहेका छन् । अथर्व वेदमा पनि यिनका २३ मन्त्र संकलित रहेका छन् । भरद्वाजका पिता वृहस्पति र आमा ममता रहेको उल्लेख पाइन्छ । 

वैदिक परम्परामा भरद्वाजलाई अति सम्मान गरिएको छ, उनका लागि भनिएको छ – 

स तवं दक्षस्याव्रको वर्घो मत्र्येष्वा छदिर्यछ वितहत्वाय सप्रथो भरद्वाजाय सप्रथ:

ऋग्वेद ६–१५–५ 

महर्षि भरद्वाजले महर्षि भृगुबाट धर्मशास्त्रको शिक्षा ग्रहण गरी भरद्वाज स्मृति ग्रन्थको रचना गरेका थिए । भरद्वाजलाई व्याकरणशास्त्र, धर्मशास्त्र, शिक्षाशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, धनुर्वेद, आयुर्वेदका साथै भौतिक विज्ञानवेत्ताका रूपमा चिनिन्छ । यिनले ‘यन्त्र सर्वस्व’ भन्ने ग्रन्थको रचना गरेका थिए । वैदिक ऋषिहरूमा सबैभन्दा लामो आयुसम्म बाँचेको श्रेय पनि यिनलाई नै प्राप्त छ । ब्राह्मण ग्रन्थहरूले यिनलाई ‘दीर्घजीवितम’ भनी उल्लेख गरेका छन् । 

भारतीय धर्मशास्त्रमा महर्षिले इन्द्र र ब्रह्माबाट अग्निविद्याको ज्ञान प्राप्त गरेको उल्लेख पाइन्छ । यसै विद्याको ज्ञानबाट यिनले अमृत तत्वको प्राप्ति गरेका थिए । 

(तैत्तेरेय ब्राह्मण ३–१०–११) 
आज विज्ञान विषयक चर्चामा म यिनी पूर्वीय जगतका महर्षिलाई सम्झिन पुगें । कतिपय पाठकलाई यो प्रसंग वाहियात लाग्न सक्छ । दोष ती पाठकहरूको होइन, हाम्रो शिक्षा नीतिको हो । तथाकथित गुरु भनाउँदा आधुनिक जमातको पनि हो, जसलाई स्वयं नै आफ्नो महान् संस्कृति, धर्म, विज्ञान र महामनिषिहरूबारे केही थाहा छैन । अनि युवापुस्तालाई यसको ज्ञान कसरी हुनु ? 

पाठकगण महर्षि भरद्वाज आफ्नो समयका महान् वैज्ञानिक थिए । यिनी अग्नि तत्वका ज्ञाता थिए । अब तपाईंका लागि अग्नि तत्व भनेको पनि कुनै ‘टपरटुइयाँ’ गुरुको मुखबाट सुनेको पाँच तत्वले बनेको शरीर (पृथ्वी, जल, अग्नि, वायु र आकाश)मध्येको अग्नि त होला ! के हो यो अग्नि तत्व ? क्षमा गर्नुहोला, तपाईले सुनेको, पढेको, बुझेको, देखेको र भोगेको अग्नि वेद विज्ञानले भनेको अग्नि तत्व होइन । होस्... छाडि दिऊ यसको चर्चा यहाँ प्रासंगिक होइन । 

यो लेख त महर्षि भरद्वाज र हवाइजहाज विषयक हो । तपाईंलाई सोध्ने हो भने तपाईं हवाइजहाजको आविष्कारकमा ‘राइट बन्धु’ को नाम लिनुहुन्छ । ठीक पनि हो, आधुनिक युगमा हवाइजहाज आविष्कार गर्ने श्रेय राइट बन्धुलाई नै छ । 

तर, के तपाईंलाई थाहा छ, महर्षि भरद्वाजले लेखेको पुस्तक ‘यन्त्र सर्वस्व’को विमान प्रकरणमा उनले आकाशमा उड्ने यन्त्रको चर्चा गरेका थिए । यस पुस्तकमा विमान बनाउनेदेखि विभिन्न प्रकारका विमानको पनि सविस्तार उल्लेख रहेको छ । 

महर्षि भरद्वाजले युग अनुसारका विमानको वर्णन गरेका छन् । युगको चलन र शक्ति अनुसार विभिन्न युगमा बेग्लाबेग्लै विमान हुने उल्लेख गरिएको छ उनको पुस्तकमा । 

त्रेता युगमा मान्त्रिक विमान (मन्त्र शक्तिबाट परिचालित हुने), द्वापर युगमा तान्त्रिक विमान (तन्त्र शक्तिबाट परिचालित हुने) र कलियुगमा यान्त्रिक विमान (यन्त्र शक्तिबाट परिचालित हुने) हुने भनिएको छ उनको पुस्तकमा । सत्य युगमा भने विमानको आवश्यकता नै हुन्न, यस युगमा मानव चेतना नै यति उन्नत र चैतन्य हुन्छ कि मानिसलाई यात्रा गर्न कुनै बाहिरी साधनको आवश्यकता पर्दैन । ऊ जहाँ पनि सोचेकै भरमा पुग्न सक्षम हुन्छ । 

रामायणमा वर्णित पुष्पक विमानलाई भरद्वाजले मान्त्रिक विमानको श्रेणीमा राखेका छन् । पुस्तक अनुसार अन्य विमान निम्न बमोजिमका हुन्छन् । 

शाक्युदगम –     विद्युत शक्तिले उड्ने विमान 
भूतवाह – अग्नि, जल र वायु शक्तिले उड्ने विमान 
धूम्रयान –    ग्यासले उड्ने विमान 
शिखोदगम –     तेल शक्तिले उड्ने विमान 
अंशुवाह –    सूर्य रश्मिले उड्ने विमान 
तारामुखी –     चुम्बक शक्तिले उड्ने विमान 
मणिवाह –     मणि माणिक्य शक्तिले उड्ने विमान 
मरुत्सखा –     वायु शक्तिले उड्ने विमान 

महर्षिका अनुसार कलियुगमा यान्त्रिक विमानको प्रचलन हुन्छ र यो सबै कोटिको विमानमा सबैभन्दा निम्न कोटिको हो । महर्षिकै ग्रन्थको आधारमा भारतको महाराष्ट्र राज्यका निवासी शिवकर तलपदेले ‘राइट बन्धु’भन्दा ८ वर्षपहिला नै उड्ने यन्त्रको निर्माण गरी मुम्बईमा प्रदर्शनसमेत गरेका थिए । 

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर रामचन्द्रन दीक्षितारले आफ्नो पुस्तक ‘वार इन द एन्सियन्ट इण्डिया इन १९४४’ मा लेखेका थिए– आधुनिक विमान विज्ञानशास्त्रमा भारतीय ग्रन्थको महत्वपूर्ण योगदान छ, प्राचीन भारतीय ऋषिले बनाएका अनेकौं रहस्यमय चित्रले विमानशास्त्रलाई प्रेरणा दिएको छ ।     

तपाईंहरूलाई तेलले उड्ने विमान सुन्दा कुनै अचम्म लागेन होला, किनकि धेरै जनाले ‘एटिएफ’बाट उड्ने विमानमा यात्रा गर्नुभएको होला । सोलार एनर्जीले विमान उडाउने परीक्षण सम्पन्न भइसकेको छ । विद्युत शक्तिले विमान उड्न सक्छ भन्ने कल्पना तपाईंका लागि अपत्यारिलो हुन्न होला । तेलले गर्ने काम ग्यासले गर्नु सम्भव छ, यसको प्रयोग तपाईंको आफ्नै जीवनमा सर्वत्र घटित नै भइरहेको छ । चुम्बक शक्तिको प्रयोगले रेल गुडेको सुनी नै सक्नुभएको होला । महर्षिले त हजारौ वर्षपहिला नै यी सबैको उल्लेख गरिदिनुभएको थियो । 

तपाईंलाई अहिले पत्याउन गाह्रो भए पनि अग्नि, जल, वायु र सूर्य किरणबाट इनर्जी प्राप्त गरी विमान उडाउनु कुनै नौलो कुरा नै हुन्न । आखिर त सबै इनर्जीकै रूप हुन् ।