सैनामैनाका कृषकलाई मौरीका घार

सैनामैनाका कृषकलाई मौरीका घार

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ५, २०७७

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाका कृषकलाई आधुनिक मौरीका घार वितरण गरिएको छ । नगरपालिकाले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि बिहीबार ३० वटा घार वितरण गरिएको हो ।
 
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि विकास शाखामार्फत नगरमा मौरीपालन गर्ने कृषकलाई मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा व्यावसायिकरूपमा मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ कृषकलाई दुई–दुईवटाका दरले मौरीको घार प्रदान गरिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
 
मौरीपालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने महमदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काड्ने जाली, चक्कुलगायतका १७ वटा सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिनुभयो । माहुरी स्रोत केन्द्र सञ्चालनले आगामी वर्ष २० देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिएको छ ।