पाँच फरार अभियुक्त पक्राउ

पाँच फरार अभियुक्त पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर ५, २०७७

पाँचथर । पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो ।
 
प्रहरीले बाल यौन दुराचारको अभियोगमा पाँच वर्ष पाँच महिना १५ दिन कैद सजाय तोकिएका एक अभियुक्तलाई ताप्लेजुङको तेल्लोकबाट पक्राउ गरेको छ । विसं २०७४ असार १ गते पाँचथरको हिलिहाङ गाउँपालिका–४ की आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेका ती अभियुक्तलाई इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको सहयोगमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । उनलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको र नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना १५ दिन कैद र चार हजार रुपैयाँ जरिवाना तोकिएका जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का नेत्रसिं दमाईलाई समेत पक्राउ गरेको छ । उनीमाथि ट्र्याक्टरले ठक्कर दिई वृद्धलाई गम्भीर घाइते बनाएको र घाइतेको उपचारका क्रममा मृत्यु भएको अभियोग लागेको छ ।

यस्तै प्रहरीले बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय तोकिएका जिल्लाको फिदिम नगरपालिका–९ का थिरमाया थेगिम, कुटपिट मुद्दामा तीन महिना कैद सजाय तोकिएका फिदिम–५ का धनसिंह भनिने चन्द्रकुमार राई र चोरी मुद्दामा तीन दिन कैद सजाय तोकिएका जिल्लाको कुम्मायक गाउँपालिका–५ का उत्तम भण्डारीलाई समेत पक्राउ गरेको जनाएको छ ।