शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड

शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

काठमाडाैं । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले गरेका छन् । त्यसका लागि उनीहरूले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरे । 

वरिष्ठ नेता नेपाल पक्षले मापदण्डका आधारमा जिल्ला नेतृत्व टुंग्याउनुपर्ने भन्दै अलग सूची बनाएपछि ओली र प्रचण्डले शीर्ष तहका नेताहरूसँग बेग्लाबेग्लै छलफल थालेका हुन् । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेललाई पनि उनीहरू मनाउने प्रयासमा छन् । 

सचिवालय सदस्य पोखरेलले छलफलका लागि अध्यक्षद्वयले आफूलाई सोमबार प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएको जानकारी दिए । ‘एकताको बाँकी काम अब छिटो टुंग्याउनुपर्छ, ढिलाइ गर्दा थप समस्या हुन्छ,’ पोखरेलले भने, ‘भेटका लागि उहाँहरूले सोमबार बोलाउनुभएको छ, तर किन हो थप जानकारी छैन ।’ 

अध्यक्षद्वयले शीर्ष नेताहरूसँग एकताका विषयमा बेग्लाबेग्लै छलफल सुरु गरेकोबारे आफूलाई थाहा नभएको उनले प्रस्ट्याए । वरिष्ठ नेता नेपालले सचिवालयबाट विधि, प्रक्रिया र मापदण्ड नबनाई जिल्ला नेतृत्वको नाम पारित गर्न खोजिए प्रतिवाद गर्ने रणनीति अपनाउँदै बेग्लै समानान्तर सूची बनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।