अस्थायी कोभिड अस्पतालका लागि चिकित्सक अभाव

अस्थायी कोभिड अस्पतालका लागि चिकित्सक अभाव

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर ५, २०७७

जुम्ला । जुम्लाका सात स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएको छ । सङ्घीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ । तत्काल तीन महिनाका लागि बजेट व्यवस्थापनसहित यहाँका स्थानीय तहमा सङ्घीय सरकारले रु १० लाखका दरले बजेट पनि पठाएको छ । 

जिल्लाका सात स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गर्न बजेट पठाइए पनि सातै स्थानीय तहले एक  चिकित्सक पनि पदपूर्ति गर्न नसकेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो । सरकारले कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा एकएक  ल्याब टेक्निसियन र कार्यालय सहयोगी राख्न बजेटसहितको व्यवस्थापन गरेको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गशेष शाहीले बताउनुभयो ।

यहाँका स्थानीय तहले १५ दिनको समयावधिमा दुई पटकसम्म विज्ञापन आह्वान गरेकाम एक चिकित्सकले पनि विज्ञापनमा दरखास्त नदिएको गुठीचौर गाउँपालिका स्वास्थ्य संयोजक बालकराम नेपालीले बताउनुभयो । सरकारी तलब स्केलमा बजेट पठाइए पनि मेडिकल अधिकृतले न्यूनतम एक लाख रुपैयाँ माग्ने भएकाले कसैको दरखास्त नपरेको हुन सक्ने जनाइएको छ  । 

चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले सो नगरपालिकामा मेडिकल अधिकृत छन् । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भन्नुभयो, 'पत्रिकामार्फत विज्ञापन पनि गरायौँ । व्यक्तिगत रुपमा खोजी भए पनि मेडिकल अधिकृत पाउन सकिएन ।' गाउँपालिकाले थप बजेट व्यवस्थापन गर्ने भनिए पनि चिकित्सक पाउन नसकिएको अध्यक्ष रावलले बताउनुभयो ।' स्टाफ नर्स र अन्य कर्मचारीका हकमा ठूलो सङ्ख्यामा आवेदन परी परीक्षा लिई उत्तीण हुनेलाई भर्ना गरिसकिए पनि मेडिकल अधिकृत अहिलेसम्म पाउन नसकिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । सङ्घीय सरकारले पहिलो पटक तीन महिनाका लागि १० लाख रुपैयाँ पठाएको छ । चार लाख ५० हजार रुपैयाँ तलब र  पाँच लाख ५० हजार रुपैयाँ अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाइएको छ ।