जो बाइडेन जोर्जियामा फेरि विजयी

जो बाइडेन जोर्जियामा फेरि विजयी

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ५, २०७७

एजेन्सी । चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्याएर मतगणना गरिएको हो । 

बाइडेनले यस जितसँगै राज्यबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गर्नु भएको छ । 

बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ, र जोर्जियाको मत पश्चात बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ । राष्ट्रपति ट्रम्पको भने २३२ मत छ । 

अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २७० मत आवश्यक हुन्छ । 

सन् २०१६ मा जोर्जियामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भन्दा ट्रम्पले ५ प्रतिशत बढी मत ल्याएर विजयी हुनु भएको थियो । 

तर यस वर्षको चुनावमा डेमोक्रेट पार्टीले जोर्जिया राज्यमा निकै बढी ध्यान दिएको थियो । 

जोर्जियाका सिनेटका दुबै पदमा यसपटक चुनाव भएको थियो तर दुबै पार्टीका उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि आगामी जनवरीमा पुनः चुनाव हुँदैछ । 

जोर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी हुनु भएको हो । सन् १९९२ मा यहाँबाट बिल क्लिन्टनले विजय हासिल गर्नु भएको थियो ।