ढोंगी र पाखण्डी फौज जन्माउने शिक्षा : उधारो ज्ञान बोक्ने फगत भरिया मात्र !
मंसिर ५, २०७७

जीवन के हो ?

यस प्रश्नको जबाफमा अनेकौँले अनेकन् अवधारणा फ्यालेका छन् ।

कसैले जीवन 'ऋणम कृत्वा  धृतम  पीवेत’ कसैले  ‘तेन त्यक्तेन  भुजीथः’ भनेका छन् । द्वैत - अद्वैतको विचरणा भएको छ ।

 परमात्मादेखि जीवात्मासम्मको ‘रोडम्याप’ खडा गरिएको छ । यदि  जीवन कसैलाई आदर्श र त्यागको प्रतिमूर्ति बनेको छ भने कसैलाई भोग र ऐश्वर्यको मूर्त स्वरूप । कोहीले यसलाई सङ्घर्षको मैदान भन्छन् त म जस्ता हरिलट्ठकले  समर्पणरूपी समाधान दिन्छन् । स्वधर्म, जातिधर्म, राष्ट्रधर्म, समाजसेवा हुँदा हुँदै मानवतावादको व्याख्यासम्म जीवन परिभाषित हुँदै  आएको छ  । सोक्रेटस, प्लेटो, अरिस्टोटलदेखि अनेकन् महान् दार्शनिकहरूले जीवनबारे गहन विश्लेषण गरे तर यो भने अर्थात् जीवन  सधैँ ‘भ्यागुताको धार्नी’ नै बनी  रह्यो ।

यो प्रश्नले मलाई पनि खेद्दो, खेदिरह्यो । तर यसको उत्तर मैले कतैबाट पाइन । अन्ततः मैले बुझेँ यो प्रश्नको सार्थकता नै छैन, यो हाम्रो मस्तिष्कमा समाजले ‘डम्प’ गरेको निरर्थक बकवास मात्रै हो । जीवन यति  बहुआयामी संरचना हो जसलाई कुनै एक प्रकारले, एउटा व्याख्याले, कुनै  एक विशिष्ट खाले दर्शनले, एकमात्र सिद्धान्तले यसलाई परिभाषित  गर्न खोज्नु आँखा नजिक सुको- मोहोर  राखी सूर्यलाई हेर्नु सरह हो ।

 अब मेरा लागि जीवन सबै थोक हो ।  सुख पनि, दुख पनि, हार पनि, जीत पनि, प्राप्ति पनि, अप्राप्ति पनि, प्रेम पनि, घृणा पनि, क्रोध पनि करुणा पनि, भोग पनि, त्याग पनि,मित्रता  पनि, शत्रुता पनि, राग पनि, द्वेष  पनि, लोभ पनि, दान पनि, आहार पनि, विहार  पनि, भोक पनि, तृप्ति पनि, तृष्णा पनि, सन्तुष्टि  पनि, सङ्घर्ष पनि, समर्पण पनि, आदर्श पनि, अराजकता पनि, सज्जनता पनि, धूर्तता  पनि, काम पनि, ब्रह्मचर्य पनि, स्वास्थ्य पनि, रोग पनि, भाव पनि, अभाव पनि, नियमितता पनि, अनियमितता पनि, संयम  पनि, स्खलन  पनि, अँध्यारो पनि, उज्यालो पनि, दिन पनि, रात पनि, बाढी पनि, सुख्खा पनि, पहाड पनि, सागर पनि, सफलता  पनि, असफलता  पनि आदि आदि  सबै सबै सम्मिश्रण भोग्ने म प्रकृतिको एउटा ‘लिभिङ्ग एलिमेन्ट' हो । कमिलादेखि हात्ती सदृश्यको एउटा एउटा 'लिभिङ्ग  आर्गनिज्म’। 

मेरो मन पर्ने रङ्ग र आकारको लुगा लगाइले  मसँग प्रायः मित्रहरू सोध्ने गर्छन् - तपाईँको बुझाइमा जीवन के हो ?

महान् गीताको महान् उपदेश  सुनेर ?  समस्त पराजय  पछि पनि धृतराष्ट्र प्रतिशोधमा भीमको वध गर्न अग्रसर भयो ।  र, यी दुबैजनामा  मृत्यु पर्यन्त यिनीहरुमा कुनै बोध घटित भयो भन्ने दृष्टान्त  सम्पूर्ण महाभारत  ग्रन्थमा कतै  पाइँदैन।  र, दुवैको मृत्यु पनि वनमा लागेको डढेलोमा परी भयो।  त्यो घटनाका साक्षी भएका व्यक्तिको  जीवनमा  कुनै रूपान्तरण  भएन भने आज ५१०० -५२०० वर्षपछि त्यो घटना सुनाएर तपाईँ हाम्रो जीवन रूपान्तरण गर्न चाहनुहुन्छ ? हामीलाई त्यसको महान् सन्देश दिएर शिक्षित- धार्मिक -आध्यात्मिक  बनाउन खोज्नहुन्छ ?


 म चिया खाएर, चुरोट सल्काएर वा मेरो नजिकमा जे सम्भव छ त्यो गरेर मौन तर क्रियात्मक जबाफ  दिन्छु । कसैले बुझ्दैनन् मेरा मित्र राम थपलिया बाहेक । हाम्रो मस्तिष्कमा भाषा र भाव यसरी ‘डम्प’ गरिएका छन् कि यी बाहेक हामी केही बुझ्नै सक्दैनौँ । मानव मस्तिष्क शब्द बिना पङ्गु  बनिसकेको छ तर के गर्नु शब्दमा सत्य निरूपण गर्न सक्ने सामर्थ्य नै  छैन ! शब्द उधारो ज्ञान मात्र हो, उधारोको पीडा  ऋणी  अथवा भुक्तभोगी बाहेक कसले बुझ्न सक्छ ? उधारोमा घर, फल्याट, मोटरकार, बाइक लगायतका विलासी वस्तु लिने मनसाय राखेका मानिसहरूले ऋणमा घर, खेत लिलामी हुन लागेका नरनारीको छटपटी नजर गरे वास्तविकता  बोध हुन्थ्यो, उधारोले कति मानसिक यातना दिन्छ !?  मन मस्तिष्कमै रहने तथाकथित ज्ञान पनि उधारो नै पर्‍यो भने झन् गति के होला !? 

सम्झना आउँछ विद्धान दुर्गा प्रसाद भण्डारीको ।  मसँग धेरैपटक उहाँले भन्नुभएको थियो,  ‘हेर  केटा मानिस र मानिसको जीवन पद्धति सुधार्ने हो भने सारा स्कुल,कलेज, यूनीभर्सिटीहरु पचास वर्षका लागि बन्द गरिदिनु पर्छ।  यिनीहरुले उधारो ज्ञान बाडेर प्राणीहरुलाई विक्षिप्त बनाउन बाहेक केही गरेनन् ।’

उहाँको भनाई फगत  मजाक मात्रै थिएन, बीसौ र एक्काइसौं शताब्दीको विद्रुप वास्तविकता परिलक्षित हुन्छ उहाँको अभिव्यक्तिमा ।

 विवेकहीन, प्रज्ञाविहीन भीड बढाई रहेको छ हाम्रो शिक्षाले । ‘जेएनयु'बाट मास्टरेट गरेको विद्यार्थी बीसौ  हजार मान्छे मार्ने अभियानमा हौसिन्छ  भने त्यो व्यक्ति माथि मात्र होइन, उसलाई प्रशिक्षित गर्ने संस्था माथि पनि प्रश्न चिन्ह लाग्नु पर्छ ।

रमाइलो पारिवारिक घटना सुनाउनु भयो एकदिन राम थपलियाले।  श्रीमतीज्यूले उहाँसँग गुनासो गर्दै भनिछन्-'हेरिस्यो न, छोरी पढ्नै मान्दिन, जति घेरेर पढाउन, होमवर्क  गराउन खोज्यो, नाना तबरले एउटा न एउटा कुरा झिकी आलटाल गर्छे, म त दिक्क भइ सके, हजुर नै उसलाई सम्झाइस्योस ।' 

उनले प्रतिउत्तरमा सोधे, तिम्रा पढेका सर्टिफिकेट कहाँ छन ? मेरा कहाँ राखेकी छेउ?

श्रीमतीले जबाबमा , मैले दराजको लकरमा सुरक्षित राखेकी छु भनिन् ।

ऐ, त्यसो भए सर्टिफिकेट लकरमा जतनसाथ राख्नलाई छोरीेले नपढी भएन तिम्राे लागि ? मैले मास्टर डिग्री गरेर के नापे ? दिनभरी लुगा सिलाउने, स्वेटर बुन्ने, कामदारहरुसँग माथापच्ची गर्छु, तिमी घर समालेर, भात पकाएर बस्छेउ । के तिम्राे डिग्रीले भात पकाउन सघाएको छ, लुगा धुन, कोठा सफा गर्न कुनै भूमिका निर्वाह गरेको छ ? छाडी देउ छोरी पढ्दिन भने ‘टेन्सन’ लिने कुनै काम छैन । प्रकृतिले उसलाई जन्माएको हो, बाँच्न पनि सिकाउँछ । मैले छोरीले साइन्टिस्ट, डाक्टर, इन्जीनियर हुने जस्तो केही अपेक्षा लिएको छैन । जीवनले उसलाई डोर्‍याएर जे बनाए पनि,  जहाँ पुर्‍याए पनि मलाई  कुनै आपत्ति छैन ।

साच्चै के सिकाएको छ हाम्रो शिक्षा पद्धतिले हामीलाई? के सिकाउँछौं हामी आफ्नो भावी पुस्तालाई ?? के यो शिक्षणले सम्यक जीवन जिउन कुनै प्रकारले केही मद्दत गर्छ ??? ठूलो मान्छे बन्न,सफलता प्राप्त गर्न, पैसा कमाउन, अरुको भन्दा अगाडि  बढ्न बाहेक अरु के नै सिकाउँछ हाम्रो शिक्षा पद्धतिले ! प्रतिफलस्वरुप समाजका सबै वर्गमा व्यापक  विसङ्गति आउँदा दोष कसरी एउटा वर्ग या व्यक्तिलाई मात्र दिन सकिन्छ ?  न्यायधीशले रिश्वत खाइ न्याय संपादन गर्नु, डाक्टरले हुँदै नभएको पत्थरीको अप्रेशन गरी दिनु, प्रशासकले घुस नलिइ काम नगर्नु,  नेताले भ्रष्टाचार गर्नु,  इन्जीनियरले भवन पुल, सडक आदि निर्माणमा अनियमितता गर्नु,  तथनामका धार्मिक - आध्यात्मिक गुरुहरुले विभिन्न  उपक्रमबाट मानिस ठग्नु,  सबैका पछाडी मूल कारण भने एउटै होईन ? पैसा आर्जन गरी समाजलाई आफू सफल भएको देखाउनु । सफलताको एकमेक मापदण्ड पैसा पैसा, र पैसा... ।

के कुनै बुआ -आमाले आफ्ना कलिला छोरा छोरीलाई असल मानिस बन्न प्रेरणा दिन्छन् ? आधुनिक, युगीन , प्रतिस्पर्धी शिक्षा दिने नाममा खोलिएका स्कूल- कलेजले जुन चर्को शुल्क अविभावकसँग लिने गर्छन त्यसको भरपाई तलब कमाईबाट हुन नसक्दा भ्रष्टाचार गर्नु अपरिहार्य हुन्न र ?  त्यो स्कूलले विद्यार्थीलाई जतिसुकै आदर्श र नैतिकताको सैद्धान्तिक पाठ पढाए पनि विद्यार्थीको आँखा स्कूल मालिकको शान -शौकत- ऐश्वर्य -वैभवको प्रयोगात्मक शिक्षा हासिल गरिरहेका हुन्नन् र ? यूजी कृष्णमूर्तिले भनेकै ठीक होइन र , ‘मानव जीवन र समाज एक दुष्चक्रमा फसी सकेको छ बाहिर आउने कुनै उपाय  छैन ?’

सुनेको छु प्रख्यात योगा मास्टर रामदेवले  भारत देशभरीबाट दस  हजार बाल-बालिका संकलन गरी आफ्नै खर्चमा उनीहरुलाई उच्च आदर्श र नैतिकतायुक्त  गूरुकुलकालीन  शिक्षण पद्धति अनुसार प्रशिक्षण दिइ समाज उपयाेगी मानव  बनाउने अभियान थालेका छन।  फेसबुकमा स्वामी रामदेवको  परिचयबाट पेश हुनुभएका प्रिय रामदेवज्यू एक्काइसौं शताब्दीको यस  इन्टरनेट र डिजिटल युगमा  जन्मेका बाल-बालिका  जसलाई तपाईँ वैदिक  परम्पराको उच्च गरिमामय पद्धतिको शिक्षण दिन गई राख्नु भएको छ, उनीहरुलाई तपाईंको 'जेड प्लस'  सुरक्षा, तपाईंसँग भएका  कारको लर्को, तपाईँको बोइगं यात्रा, राजकीय वैभव,  टि.भी. च्यानलहरुमा नितप्रति देखिने अनुहारले आकर्षित गर्छ कि आदर्श  नैतिकताको शिक्षणले ?

उनीहरुको भविष्यको सपनामा रमण  महर्षि , तैलंग स्वामी, स्वामी  रामतीर्थ, शिवपुरीबाबा,काली कमलीवाले बाबा रमण गर्छन कि आशाराम, नित्यानन्द, रजनीश, रामपाल, साईबाबा र स्वयं तपाई  ‘पेनेट्रेशन’ गर्नु हुन्छ ? म तपाईँ र प्रणव  पाँड्याले दिएको शिक्षाको कुनै औचित्य देख्दिन, यस्तो शिक्षणले समाजमा विक्षिप्त युवाहरुको भीड बढाउने कार्य नै गर्नेछ । वैदिक गुरुकुलकालीन शिक्षण दिने व्यक्ति स्वयं पनि सन्दीपनी जस्तो ऋषि  बन्न सक्नु पर्दछ ।

शिक्षा दिने व्यक्तिले स्वयं नै आफूले दिएको शिक्षा अनुसारको जीवन र शैली अपनाउँदै भने त्यसले समाजमा ढोंगी र पाखण्डीको फौज जन्माउने पुरुषार्थ मात्र गरी रहेको हुन्छ । म स्वयं  पनि यस्तै ढोंग र पाखण्ड बोकी हिडिरहेको थाहा पाउन उमेरको चालीस बसन्त बिताउनु पर्यो । बाल्यकालदेखि नै घर परिवार छर-छिमेक र शिक्षणालयहरूले गीताको उच्च आदर्श र सन्देश मस्तिष्कमा 'डम्प’ गरिदिएका थिए । मैले हजारौँ पटक गीताको दिव्य सन्देश लेखेर / भनेर प्रसारित गरे जीवनमा । आफ्नो जीवनयापनमा धृतराष्ट्र अनुगामी भएपनि अरू-अरूलाई अर्जुन बनाउने कृष्ण चरित्रको अभिनय  पाराङगताको साथ निभाएको थिए  मैले । मेरो त्यो भ्रम, ढोंग र पाखण्डबाट आत्मानुगत गराए एकजना भारती थरका सन्यासीले ।

कुँमायु  भ्रमणमा नैनीताल, रानीखेत,  अल्मोडा, भीमताल आदिस्थानको भ्रमण गर्दै कौसानी पुगेको थिँए । त्यहाँको शिव मन्दिरमा ५-७ वटा कोठा बनाइ बसेका थिए ती  भारती सन्यासी । कौसानीको सौन्दर्यले मुग्ध भइ म त्यहाँ  केही दिन बसे । शिव मन्दिरमा कौसानी घुम्न आउने पर्यटकले राम्रै दान दक्षिणा अर्पित गर्थे, खानपानको कुनै समस्या थिएन । त्यहाँ  पुगेका जो कोही साधुको बस्ने स्थल त्यही  शिव मन्दिर नै हुन्थ्यो  । एक दिन दिउँसो धर्म-अध्यात्म सम्बन्धी चर्चा चलिरहेको थियो । एकजना घुम्दै आइपुगेका सन्यासीले गीता माथी प्रवचन दिदै थिए  । गीताको कर्मयोग, राजयोग, सन्यास योग, कर्मसन्यास योग, आदि  बारे उनले विस्तारमा व्याख्या गर्दै भने- ’गीता जस्तो अन्य कुनै ग्रन्थ छैन।  भगवान  श्रीकृष्णले सबै ग्रन्थहरूको सार यसमा समेटिदिनु भएको छ । गीता मुक्तिदात्री  हो, गीताको परायणले  यो  यो लाभ हुन्छ ’ ।

 उनले एक ठाउँमा  विराम लिँदा  ती भारती सन्यासीले बडो  आदरका साथ सोधे- भगवन कुरुक्षेत्रमा भगवान् श्रीकृष्णले अर्जुनलाई गीता ज्ञान दिंदा क-कसले सुन्ने मौका पाएका  थिए ?

वक्ताले प्रसन्न हुँदै भने - योगेश्वर श्रीकृष्णको अर्जुनसँगको त्यो संवाद रथको ध्वजामा विराजमान  हुनु भएका श्री हुनुमानीजीले श्रवण गर्नु भयो, काटिएको बर्बरीकको टाउकोले भगवत कृपाले त्यों सुन्ने अवसर पायो । त्यस्तै वेद व्यासजी महाराजबाट दिव्य चक्षु  पाएका सञ्जयले त्यो प्रत्यक्ष हेर्नु /सुन्नु भयो र धृतराष्ट्रलाई सुनाउनु भयो । यिनै मात्र थिए  करोडौको त्यो भीडमा 'यो दिव्य घटना’का महाभागी श्रोता।

 भारती उपनामका सन्यासीले पुनः  सोध्नु  भयो- बर्बरीक त  पहिला नै आफ्नो नियतिमा पुगिसकेको थियो । हनुमानजी स्वयम अष्ट चिरञ्जीवी नै पर्नु भयो । त्यो बाहेक अन्य श्रोताहरूको त्यो दिव्य  ज्ञान श्रवण  पछि के गति भयो त्यो विस्तार पूर्वक भन्नुहोस।

अब भने गीता वक्ता अकमकिए, के बोल्नु, के भन्नु  उनी केही नभनी यता उता हेर्न थाले ।

 बोल्ने अभिभारा बोके पुनः  भारती  सन्यासीले, हेर भगवन गीताको दिव्य  ज्ञान श्रवण गरे पछि श्रेष्ठ नर अर्जुन करडौको संहार गर्न संलग्न  भयो,  मानी लिउ यो प्रभु कै मर्जी थियो ।  तर, साक्षात विश्वरुपको दर्शन पाएको सञ्जय र  त्यस घटनालाई ’लाइभ’ सुनेको धृतराष्ट्रको जीवनमा के परिवर्तन आयो, महान् गीताको महान उपदेश  सुनेर ?  समस्त पराजय  पछि पनि धृतराष्ट्र प्रतिशोधमा भीमको वध गर्न अग्रसर भयो ।  र, यी दुबैजनामा  मृत्यु पर्यन्त कुनै बोध घटित भयो भन्ने दृष्टान्त  सम्पूर्ण महाभारत  ग्रन्थमा कतै  पाईँदैन।  र, दुबैको मृत्यु पनि वनमा लागेको ढढेलोमा परी भयो।  त्यो घटनाका साक्षी भएका व्यक्तिको  जीवनमा  कुनै रूपांतरण  भएन भने आज ५१०० -५२०० वर्षपछि त्यो घटना सुनाएर तपाईँ हाम्रो जीवन रुपान्तरण गर्न चाहनुहुन्छ ? हामीलाई त्यसको महान सन्देश दिएर शिक्षित- धार्मिक -आध्यात्मिक  बनाउन खोज्नुहन्छ ? म त यसको कुनै सार वा विश्वसनियता  हेर्दिन ।

आहा ४४० भोल्टको करेन्ट नै प्रवाहित भयो शरीरदेखि मनसम्म, मनदेखि शरीरसम्म । एउटा सामान्य सन्यासीबाट मैले यति गहन विश्लेषणको अपेक्षा गरेको थिइन । उनले मेरो मनमा रहेको गीता गरिमा ’माउसको एउटा क्लिकमै डिलिट गरिदिए ’।  गुरु बटुल्ने क्रममा ती भारती सन्यासी पनि यस यायावरको एउटा गुरु हुन पुगे।


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।