म : म

म : म

दयाकृष्ण राई  |  साहित्य  |  मंसिर ६, २०७७

म अनि म 
कस्तो गजबको होला 
यो खाजाको नाम
सहरबजार सबै मःम ले पिटेको छ  
भेज, चिकेन, पोर्क, बफ मध्य
बफ मःम सबैको प्रिय खाजा !

गाउँबाट काठमाडौ पढन आएको छोरा 
भेटन आए पण्डित बा... 
खाजा खान छोरासँग रेष्टुराँ प्रवेश 
छोराको प्रियखाजा बफ मःम अर्डर
रेष्टुराँको कामदार दलित बालमजदुर 
नाम उनको (कान्छा) ले सर्भ गरेपछि 
टिम्बुर हालेको गोलभेडाको अचारसँग क्वाप्प टोक्दा 
नैवेदको स्वाद भन्दा अझै असली स्वाद

संस्कृत पढेका पण्डीत बा... 
अङ्ग्रेजी भाषा भैसी बराबर
छोरालाई प्रश्न गर्छ 
बफ भनेको के हो बाबु ?
छोराले उत्तर दिन्छ बफ भनेको खसी हो बा...
सडेगलेको बफलाई किमा बनाएर 
पीठोले मोहोरे पछि बन्दछ
स्वच्छ र ज्यादै स्वादिलो मःम 

पण्डीत बा निर्धक्क विश्वासको शिखर चढेर 
चपाइरहेछ बफ मःम र नियाली रहेछ  
मःम जस्तै सहरका मान्छेहरु 
बाहिरबाट झुठो पर्दाले ढाकेपछि
के देख्न सकिन्थ्यो 
सडेगलेको भित्री मनको किमा....

मःम खाएर मःम जस्तै बनेको छ छोरा
अनि....
आफ्नो  अमुल्य मतले चुनाब जितेर
सहर पसेका सबै नेताहरु मःम जस्तै भएका छन 
सडेर गल्न लागेको कालो सम्पतिको 
किमा बनाएर बफ मःम लाई ढाक्ने
सेतो पीठो जस्तै कुनै सेतो पदार्थको 
खोजी मै व्यस्त भएपछि 
गाउँमा भेटिनु त परै जावोस
काठमाडौमा आएर पनि नेताको दर्शन नपाई नै
गाउँ फर्किन्छ पण्डित बा....
पण्डीत बालाई के थाहा  
नेता मःम जस्तो 
छोरा मःम जस्तो 
सबै सहरका मान्छे 
मःम जस्तो 
उनीहरुको मन भित्रका नानाथरि किमाहरु 
आ- आफ्नै प्रकारले ढाकेर
गाउँका मान्छेहरुका लागि  
मःम जस्तै बनिसकेका छन्
सहरिया मान्छेहरु ।

 
हालः बेलायत