रामचन्द्र पाण्डे : वैद्य हुँदै कविराजदेखि बरिष्ठ आयुर्वेदिक चिकित्सकसम्म

रामचन्द्र पाण्डे : वैद्य हुँदै कविराजदेखि  बरिष्ठ आयुर्वेदिक चिकित्सकसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर ६, २०७७

सामान्य परिवार । खेती किसानी पेसा । अनि गाउँको विकट भूगोल र प्रतिकूल परिस्थितिमा हुर्किएको केटो पछि आयुर्वेद विधामा वैद्य हुँदै कविराजदेखि  बरिष्ठ आयुर्वेदिक चिकित्सकसम्म  आफूलाई स्थापित व्यक्तित्वको रुपमा उभ्याउन सफल नाम हो रामचन्द्र पाण्डे । 

एउटा व्यक्तित्व निर्माणका लागि के कस्तो सङ्घर्ष र मेहनत आवश्यक पर्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो आलेख । 

जन्म र बाल्यकाल 

उहाँको बुवाको परिवार सङ्ख्या चालिस पुगेपछि मात्र छुट्टा भिन्न हुनुभएको हो । दुई जना काका अनि तीन काकी  । उहाँको परिवार मध्यम स्तरको परिवार हो । खेती किसानी नै प्रमुख आयस्रोत । बुवा आमा पनि कृषि पेसामा नै समर्पित । उहाँको भने पाँच दाजुभाइ अनि दुई दिदीबहिनी । उहाँ भने साहिँलो । 

उहाँको जन्म २०१८ साल वैशाख १९ गते भएको हो । गोरखाको त्यस बेलाको अश्राङ गाविसमा । आधिकारिक दस्ताबेजमा पनि यही नै छ ।  त्यस बेलाको खेलमा भने डन्डी बियो कपर्दी, गेम ढलाई तथा खोपी खेल्ने चलन थियो । फुटबल, भलिबल खेल्ने प्रचलन त्यति थिएन । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा गाउँकै नवजागृति चण्डी प्राविमा भएको हो । स्कुल भने घरबाट तीन चार मिनेटको पैदल दूरीमा नै थियो । उहाँ सुरु सुरुमा पढ्दा भने विद्यालयमा डेस्क बेन्च थिएनन् । पछि भने बिस्तारै डेस्क बेन्चको व्यवस्था भयो । पहिले त घरबाटै बस्नलाई चकटी बोकेर लानु पर्थ्याे । त्यस बेला कक्षामा करिब दश पन्ध्र जना विद्यार्थी हुन्थे मुस्किलले । केटीहरूको सङ्ख्या नगण्य नै हुन्थ्यो । 

उहाँको एक जना काका काठमाडौँमा बिकम पढ्दै हुनुहुन्थ्यो त्यस बेला । उहाँको बुबाले भने घरमै ज्योतिष बोलाएर पढेको बताउनुहुन्छ उहाँ । शायद उहाँहरू पढ्नु अनि पढाई लाई निरन्तरता दिनुमा काकाको पढाई पनि मुख्य कारण रहेको उहाँ बताउनुहुन्छ ।  

उहाँलाई उहाँको बुवाले रातो माटो पिसेर काठको पाटीमा बाँसको छेस्कोले कखरा सिकाउनु भएको हो । परिवारको पेसा कृषि भएका कारण उहाँलाई बिहान पनि काम गर्न जानुपर्थ्यो । स्कुल गएर आएर घरमा तयार भएको खाजा खायो अनि फेरि जे काम छ त्यो गर्नुपर्थ्यो ।  घरमा गाई बाख्रा थिए । बिदाको दिन भने गोठालो पनि जानुपर्थ्यो । अनि खन्न सक्ने भएपछि खेतबारी खन्न पनि जानुपर्थ्यो । अरु बेला जे काम छ त्यसमा सघाइ पकाइ गर्नुपर्थ्यो । 

प्रावि पछि ज्योतिषको पढाई 

गाउँको प्राविमा पाँच कक्षासम्म मात्र थियो । त्यसभन्दा अगाडी पढ्न सदरमुकाम जानुपर्थ्यो । जुन सोह्र सत्र किलोमिटर टाढाको पैदल दूरीमा थियो । यस कारण पनि पाँचसम्म पढिसकेपछि अब पढाई पुग्यो भन्ने कुरो आयो उहाँको घरमा । चिठी लेख्न र सामान्य अक्षर चिनेपछि भैगो । अब अरु किन पढ्नु पर्‍यो भन्ने कुरा आयो । अब त्यस बेला बोल्न सक्ने कुरो थिएन । अनुशासन एकदमै कडा थियो । फलामकै अनुशासन । शायद त्यही अनुशासनकै कारण त्यत्रो चालीस जना परिवार एक ठाउँमा टिकेको होला, उहाँ भन्नुहुन्छ । 

सदरमुकाम पढ्न जाने अनुमति नपाए पनि ज्योतिष पढ्न जाने हो भने चाहिँ गए हुन्छ भन्ने कुरा आयो । उहाँको माहिलो दाइ र उहाँ एउटै कक्षामा पढ्नुहुन्थ्यो । उहाँहरूलाई लाग्यो घरको काम गरेर बस्नुभन्दा त ज्योतिष पढेकै ठिक । उहाँहरू गाउँको सीमा जोडिएको पर एउटा गाउँमा ज्योतिष पढ्न जानुभयो । करिब दश महिना । अनि फेरी अर्को दश महिना भने गोरखाकै नाम्जुङमा जानुभयो । 

वैद्यमा जानुभए पनि कविराज भन्थे उहाँलाई । अनि एक जना मानिस आउनुभयो । तपाईँको नाम भन्नुस भन्दा उहाँले कविराज भन्नुभयो । फेरि सोध्दा पनि उसले कविराज नै भन्यो । त्यो पनि अलि झर्केर । उहाँलाई पनि झोक चल्यो तपाईँको नाम भन्नुस न भन्नुभयो । यो सबै संवाद कार्यालय सहयोगीले सुनिरहनु भएको रहेछ । उहाँले मानिसको नाम नै कविराज हुन्छ भनेपछि उहाँ बल्ल शान्त हुनुभयो ।

अब निमाविको पढाई 

यही बिचमा करिब दुई बर्ष बित्यो । र, उहाँहरू पढेको त्यही चण्डी स्कुलमा सात कक्षासम्मको पढाई हुने भयो । उहाँको दाइ पोखरामा पढ्दै हुनुहुन्थ्यो । दाइले पनि घरमा यो ज्योतिष मात्र पढेर हुँदैन भन्नुभयो । अनि पढ्नलाई अरु थप जोड बल मिल्यो, उहाँ भन्नुहुन्छ ।

पढ्ने त भइयो तर, पैसा थिएन । उहाँको घरमा त्यस बेला बिस पच्चीस वटा बाख्रा थिए । बुवाले भर्खर बाख्रा बेच्नु भएको थियो । अब त्यो पैसाले पढ्ने बाटो खुल्यो । उहाँलाई याद छ करिब एकसय पचास रुपैयाँ लिएर उहाँहरू स्कुल भर्ना हुन जानुभयो । महेन्द्रको पालाको पैसा । आजकल त्यस्तो पैसा देखिंदैन्, उहाँ भन्नुहुन्छ । 

गाउँको उक्त स्कुलमा उहाँको दाइ तथा उहाँहरूकै पाण्डे खलकका ईश्वरी पाण्डे दाइ पनि हुनुहुन्थ्यो पढाउने । ईश्वरी दाइले ल यो पैसा चाहिँदैन बुवालाई लगेर फिर्ता दिनु भन्नुभयो । अनि उहाँ त्यो पैसा फिर्ता लिएर स्कुल भर्ना भएर आउनुभयो । त्यस बेला पुरानो शिक्षाबाट भर्खर भर्खर नयाँ शिक्षा लागु भएको थियो । त्यस्तै अरु के के कारणले उहाँ छ कक्षा भने पढ्नु भएन । एकै पटक सात कक्षामा भर्ना हुनुभयो । उहाँ बस्नलाई फस्ट बेन्चमा नै बस्नुहुन्थ्यो । र, पढ्न पनि प्रथम त्यस बेला । 

माविका लागि सदरमुकाम

सात कक्षा पास गरिसकेपछि पनि अब पढ्न पुग्यो भन्ने जस्तो कुरो आएको थियो घरमा । तर, त्यस बेला भने उहाँहरू पनि अलि बुझ्ने भइसक्नु भएको थियो भने घरका कुरामा अलि प्रतिवाद गर्न सक्ने समेत भइसक्नु भएको थियो । त्यसैले होइन हामी त पढ्ने नै हो यस पटक भनेर कड्किएरै भन्नुभयो । उहाँको कुरो लागू पनि भयो । 

अब भने माध्यमिकको पढाइका लागि उहाँको यात्रा सदरमुकाम तिर बढ्यो । गोरखाको सदर मुकाममा अवस्थित शक्ति माविमा ।  टाढा थियो । त्यसैले डेरामा नबसी धरै थिएन । आऊ जाऊ सम्भव थिएँ ।  उहाँको आफ्नो चिनजानको मान्छे बलराम भट्टराईको घर थियो सदर मुकाममा । त्यहाँ डेरा गरेर बस्नु भयो । भाडा भने तिर्नु परेन त्यस बेला । 

प्रत्येक शुक्रवार स्कुल छुटेपछि घर आयो अनि शनिवार बसेर घरमा भएका काम गर्‍यो ।  अनि फेरी आइतबार बिहान हप्ता दिनका लागि पुग्ने राशन तरकारी बोकेर स्कुल जाने रुटिन बन्यो । स्कुल पुग्न भने राति नै हिँड्नु पर्दथ्याे दश बजे बिहान पुग्नका लागि । 

तर, गाउँको चण्डी निमाविबाट प्रथम भएर आठ कक्षामा भर्ना भएको उहाँ त्यहाँ गएपछि भने प्रथम हुन सक्नु भएन । त्यहाँ भने विद्यार्थी पनि धेरै थिए । एउटा कक्षामा दुई वटा सेक्सन नै हुन्थे । एउटा सेक्सनमा करिब साठी जना विद्यार्थी हुन्थे । यसरी हेर्दा एउटा कक्षामा एकसय बिस तीसको हाराहारीमा । केटीहरू पनि थिए कक्षामा तर, पन्ध्र बिस जना मात्र । 

उहाँले शक्ति माविबाट २०३६ सालमा एसएलसी दिनुभएको हो । उहाँको त्यस बेला उच्चतम द्वितीय श्रेणी आएको थियो । 

भूतको कथा 

भूत हुन्छ कि हुँदैन उहाँलाई थाहा छैन अहिलेसम्म पनि । तर, एक पटक भयो के भने, त्यस बेला सबैसँग घडी हुने कुरै भएन । तर, उहाँको काकासँग भने घडी थियो रे ! 

शुक्रवार स्कुल आएर आइतबार बिहान स्कुल जानका लागि भनेर हिँडेको । उहाँको दाइ र अर्को एक जना छिमेकी साथी पनि हुनुहुन्थ्यो । वर्षाको समय । बादल लागेको थियो । हजुरआमाले ल उज्यालो हुन लाग्यो जस्तो छ, तिमीहरूको जाने बेला भयो होला ल उठ भन्नुभयो । काकाको घडी हेरेर समय ठिकै हो भनेर खाना खाएर पोका पन्तरा बोकेर हिँड्नु भयो ।

उहाँहरू झन्डै डेढ घण्टा हिँड्दा पनि उज्यालो भएन । आलेभञ्ज्यांग भन्ने ठाउँमा दुईचार वटा चिया पसल थिए । ती कुनै पनि पसल खुलेका थिएनन् । उहाँहरू पसलको बेन्चमा नै सुत्नुभयो । बल्ल उहाँलाई लाग्यो कि काकाको घडी त बिग्रिएको पो रहेछ त्यस दिन ।  घरबाट हिँडेको आधा घण्टामा एउटा उत्तर दक्षिण देखिने उकालो आउँथ्यो । अनि त्यहाँ लालटिन अथवा राँको हो वा के हो बालेर हिँडेको जस्तो देखियो । 

उहाँहरूले देख्दा भने टर्च बालेर मान्छे हिँडेको जस्तो देख्नुभयो । ए, उज्यालो हुन आँटेर मान्छे उठेर काममा गैसकेछन भन्ने लाग्यो । तर, त्यसको डेढ घण्टा हिँडेर आले भन्ज्याङ पुगेर एक निद्रा सुतेर उठ्दा समेत उज्यालो भएको थिएन । उहाँलाई त्यस बेला त केही जस्तो लागेन । तर, पछि घरमा आएर अरूहरूसँग कुरो गर्दा त्यो त राँके भूत हो भनेर भने । उहाँलाई पनि हो कि झैँ लाग्यो त्यसपछि भने । 

पहिलो अस्थायी जागिर 

उहाँ एसएलसी सकेपछि आठ दश दिनमा नै अस्थायी मुखियाको जागिर खान पुग्नु भयो । भयो के भने, उहाँहरू जुन घरमा पढ्नका लागि गोरखाको सदर मुकाममा बस्नु भएको थियो त्यो घरको घरबेटी जिल्ला प्रशासन कार्यालयमा सुब्बा हुनुहुन्थ्यो ।  उहाँ सरुवा भएर गोरखाको श्रीनिवास भन्ने ठाउँमा जानुभयो । त्यहाँ सीमा प्रशासन कार्यालय भन्ने हुन्थ्यो । अहिले पनि छ त्यो कार्यालय, उहाँ भन्नुहुन्छ । 

अनि घरबेटी बाहुनबाले जागिर खाने हो भनेर सोध्नुभयो । त्यस बेला त्यहाँ खाली रहेछ र उहाँले भर्ती गर्न मिल्ने रहेछ । उहाँले पनि पाए किन नखानु भन्नुभयो । त्यसपछि बाहुनबाले नागरिकता बनाउन पर्‍यो, फोटो ले भन्नुभयो । फोटोको व्यवस्था भयो । अनि आठ कक्षामा रजिस्ट्रेसन गरिएको जन्म मिति नै नागरिकतामा पनि पर्न गयो । यसरी उहाँको नागरिकता बन्यो । त्यो पनि त्यस बेला जन्म मिति र आधिकारिक मिति उही मिल्ने गरी । 

र, अर्को कुरा यो नै उहाँको पहिलो जागिर समेत थियो । उहाँले यो जागिर तीन महिना गर्नुभयो । तलब तीन सय जति होला, उहाँ भन्नुहुन्छ । यो नै उहाँको पहिलो कमाई समेत थियो । जाँदा केही लुगाफाटा किनियो होला कि पहिलो तलबले, उहाँ भन्नुहुन्छ ।  जागिर सकिँदा यता एसएलसीको रिजल्ट पनि भयो । अनि उहाँ आउनु भयो काठमाडौँ । 

काठमाडौँ यात्रा 

उहाँ पैदल कुरिनटारसम्म आएर त्यहाँबाट गाडी चढेर काठमाडौँ आउनु भयो । यो नै उहाँको पहिलो काठमाडौँ यात्रा थियो । गाडी भाडा काकाले तिर्नुभएकोले कति पैसा हो थाहा भएन उहाँलाई । आउँदा साँझ साँझ परेको थियो । त्यस बेला गाडी रत्नपार्कमा रोकिन्थ्यो, उहाँ भन्नुहुन्छ । त्यस बेलाको काठमाडौँको झिलिमिली देख्दा उहाँ छक्क नै पर्नुभयो । 

एक जना कान्छा हजुरबाको छोरा तथा उहाँको दाइको साथीको कोठा थियो ठमेलमा । बसाई ठमेलको उक्त कोठामा नै भयो, उहाँ भन्नुहुन्छ । पढाई सुरु भएपछि पनि उक्त कोठा नै उहाँको डेरा बन्न पुग्यो । उक्त डेरामा उहाँको बसाई करिब एक वर्ष जति भयो । घरबेटीले त्यस बेला भुइँमा ओल्छ्याउन सुकुल दिन्थे । त्यसमा आफ्नो बिछ्यौना बिच्क्याएर सुत्नुपर्थ्यो । अनि बिहान उठेर ओछ्यान पट्टाएर राख्नुपर्थ्यो । 

कोठाको एक छेउमा स्टोभ बालेर भात पकाइन्थ्यो, उहाँ भन्नुहुन्छ । त्यो बेला स्टोभको चलन आइसकेको थियो । कसै कसैले भने दाउरा बालेर पनि पकाउँथे, उहाँ भन्नुहुन्छ । कोठा भाडा यकिन छैन, उहाँलाई । करिब सय रुपैयाँ हुनुपर्छ, उहाँ भन्नुहुन्छ । दाइहरू काठमाडौँ आइरहने अनि उहाँहरूले नै भाडा तिरिदिने हुनाले पनि याद नरहेको उहाँ बताउनुहुन्छ । 

एक वर्ष डेरामा बसेपछि भने होस्टेलमा बस्ने प्रबन्ध मिल्यो उहाँको । होस्टेल भने नयाँ बजारमा थियो त्यस बेला । कलेज भने हालको नरदेवी हस्पिटल रहेकै स्थानमा । महिनावारी एक सय पचासमा खाना खानुहुन्थ्यो होस्टलमा बस्दा । उहाँको काकाले काठमाडौँ आएर टिचिङ हस्पिटलमा एचए, पुलचोकमा इन्जिनियरिङ तथा नरदेवीमा आयुर्वेदको पढाइको लागि फर्म भरिदिनु भयो । 

आयुर्वेदको पढाई

पुलचोक तथा नरदेवीमा भने नाम निस्कियो उहाँको । टिचिङमा भने नाम निस्किएन । कहाँ पढ्ने भनेर दाइले अरु साथीहरूसँग समेत सल्लाह गरेर पुलचोक भन्दा नरदेवीमा आयुर्वेद नै पढ्नु ठिक छ भनेर उहाँ आयुर्वेदमा भर्ना हुनुभयो । 

उहाँ २०३७ सालको अन्तिमतिर भर्ना हुनुभएको हो । तर, दुई महिना जति पढेपछि विश्वविद्यालय सबै हडुताल भएका कारणे कलेजमा पढाई भएन । हडताल करिब छ महिना भयो । त्यसले गर्दा साँढे तीन वर्षको कोर्स पूरा हुन चार वर्ष लागेको बताउनुहुन्छ, उहाँ । 

उहाँले कलेजको फि भने तिर्नु नपर्ने । एसएलसीमा उच्चतम द्धितिय श्रेणीको नम्बर भएकोले उहाँले उक्त सुविधा प्राप्त गर्नुभएको थियो । बरु उहाँले छात्रवृत्ति बापत पैसा पो पाउन थाल्नुभयो । महिनाको झन्डै डेढ सय जति । त्यो भनेको त्यस बेलाको हिसाबमा राम्रै पैसा हो, उहाँ भन्नुहुन्छ । 

सिको फाइभ घडी

उहाँले छात्रवृत्ति बापत पैसा पाइने कुरा भन्नुभएको थिएन घरमा । अनि घरबाट कलेजको पैसा सोध्दा भने पर्दैन भन्ने गर्नुहुन्थ्यो ।  दसैँमा घर जाँदा उहाँले छात्रवृत्तिको त्यो पैसाले एउटा सिको फाइभ घडी किन्नुभयो गोरखामा । करिब एक हजार रुपैयाँमा । तर, घरमा भने थाहा थिएन ।

घरमा थाहा पाउँछन् भनेर उहाँ राति सुत्ने बेलामा घडी लाएर सुत्ने दिउँसो भने फुकालेर सिरानमुनि हाल्ने गर्नुहुन्थ्यो रे ! पछि घरमा थाहा त भयो । तर, आवश्यकताको चिज घरबाट पनि किनिदिन नसकेको हुनाले खासै केही भन्नु भने भएन, उहाँ भन्नुहुन्छ ।

वैद्यको जागिर

उहाँले २०४० सालमा आइए सरहको आयुर्वेदको पढाई सकाउनु भयो । पढाई सकिएपछि भने उहाँ एकतह मुनिको प्राविधिक नासु  सरहको जागिर खान जानुभयो ।   उहाँ आयुर्वेद विभाग जानुभयो । त्यस बेला विभागको अफिस कुपण्डोलमा थियो । जनशक्ति साह्रै कम भएको हुनाले त्यस बेला जागिरका लागि रिजल्ट कुर्नु पर्दैनथ्यो । 

निवेदन दिनुभयो उहाँले जागिर खान । तीन महिनाको अस्थायी जागिर दिन्थ्यो त्यस बेला । उहाँलाई मनाङ जान भनियो । तर, मनाङको नामै नसुनेको कहाँ हो कहाँ । अनि घर गएर सल्लाह गरेर आउँछु भनेर उहाँ लाग्नुभयो घरतिर ।  घरमा दाइ पनि आउनुभएको थियो त्यस बेला । घरमा सल्लाह गर्दा अस्थायी तीन महिनाको जागिर खान त्यति टाढा के जानु बरु रिजल्ट भएपछि जाने सल्लाह भयो । उहाँलाई ठिकै हो भन्ने लाग्यो । 

पन्ध्र दिन जति उहाँ घर तिरै बस्नुभयो । पन्ध्र दिन बसिसकेपछि यसरी घरै बस्यो भने त आफूले पढेको ज्ञान उपयोगमा आउँदैन भन्ने लाग्यो उहाँलाई । अनि घरबाट काठमाडौँ जान्छु भनेर आउनु भयो । विभागमा बुझ्न जानु पर्‍यो भनेर जाँदा त्यहाँ अरु नै मान्छे पठाइ सकेको जानकारी दियो विभागले । नियुक्ति भैसकेको चाहिँ जागिर खान नआउने भनेर हप्की खानुपर्‍यो उहाँले । 

उहाँले घर गएका कारण त्यस्तो भएको अब अन्त कतै भए जाने बताउनु भयो । स्याङ्जामा वैद्य पद खालि भएका कारण उहाँलाई स्याङ्जा जाने हो भनेर सोधियो । उहाँले अञ्चल पनि एउटै भएका कारण हुन्छ भन्नुभयो । उहाँले भोलिपल्ट गएर नियुक्ति लिनुभयो । तीन महिनाको लागि । तीन महिना पछि फेरी तीन महिना म्याद थप भयो । त्यस बेला उहाँको तलब सात सय पन्ध्र थियो ।

जागिर सकिँदा रिजल्ट 

उहाँले जागिर खाएको छ महिना भएको थियो । जागिर सकिँदा नसकिँदै रिजल्ट भयो । पहिलो वर्षमा भने फिजिक्समा पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न पत्र आएको हुनाले सबैले परीक्षा छोडे । त्यस कारण पहिलो वर्ष सबैको ब्याक लाग्यो । दोस्रो वर्षमा एक पटकमा पास गर्नेमा भने उहाँ एक मात्र पर्नुभयो । तेस्रो वर्ष पनि उहाँ सरासर नै पास हुनुभयो । 

अब भने कविराज

पास भरसकेपछि प्रमाणपत्र निकाल्न उहाँ फेरि काठमाडौँ आउनुभयो । सबै प्रमाणपत्र विभागमा बुझाएपछि उहाँलाई धादिङमा कविराज पदको अस्थायी नियुक्ति दियो विभागले । धादिङको ज्यामरुङमा । ज्यामरुङमा आयुर्वेद औषधालय थियो त्यस बेला । त्यहाँ उहाँले नौ महिना काम गरेपछि लोकसेवा खुल्यो । 

उहाँहरूको आयुर्वेदको कोर्स त्यस बेला साँढे तीन वर्षको थियो । जसमा हेल्थ असिस्टेन्टले पढ्नु पर्ने सबै कोर्स समेत पढ्नु पर्थ्याे । त्यस कारण त्यस बेला उहाँहरूले जागिर खान हेल्थ पोस्ट वा आयुर्वेद जहाँ जान पनि पाउनुहुन्थ्यो । यही कोर्सका कारणले ।   तर, त्यस बेला हेल्थ पोस्टमा लोकसेवा खुलेन। यता आयुर्वेदमा भने खुल्यो । त्यस कारण उहाँले स्थायी जागिर खाने त हो नि भनेर आयुर्वेदमा परीक्षा दिनुभयो । 

त्यस बेला लोकसेवाले आफ्नो अधिकार विभागलाई प्रत्यारोपण गरेको थियो । त्यस कारण लोकसेवाको प्रतिनिधि समेत बोलाएर विभागले परीक्षा लिन्थ्यो । स्थायी हुनका लागि लिखित परीक्षाको प्रचलन थिएन । केवल मौखिक परीक्षा पास गरेपछि स्थायी हुन पाइन्थ्यो । शायद जनशक्ति नै कम भएका कारण त्यसो गरिएको होला, उहाँ भन्नुहुन्छ ।

लोकसेवा पास गरेपछि अस्थायीबाट अब स्थायी हुनुभयो उहाँ । तर, जागिर भने ज्यामरुङमै भयो । सरुवा हुनुपरेन अन्त । स्थायी भएपछि तलब केही बढ्यो । लगभग नौ सय भयो तलब बढेर । स्थायी भएपछि उहाँ करिब साँढे तीन वर्ष जति बस्नुभयो ज्यामरुङमा । 

फेरि काठमाडौँ 

उहाँलाई लाग्यो अब यसरी यहाँ मात्रै बसेर हुँदैन । पढ्नका लागि काठमाडौँ जानुपर्छ । अब सरुवा मिलाउनु पर्‍यो भनेर उहाँ विभागमा कुरा गर्न आउनुभयो । तर, निर्दैशकले भने काठमाडौँमा कहाँ ठाउँ खाली हुनु भनेर गाली गर्नुभयो । अनि उहाँ त्यत्तिकै फर्किनुभयो ज्यामरुङ ।

त्यस बेला ज्यामरुङमा बिर्ताको जमिन थियो । त्यसको तिरो उठाउन भनेर राजा महेन्द्रको मावली खलक पर्ने बाबुसाहेब ठकुरीहरू बसेका थिए त्यहाँ । बाटोमाथि दरबार थियो भने  मुनि उहाँको अफिस । अनि त्यहाँ एक जना अवकाश प्राप्त मेजर साप कृष्ण विक्रम शाह जानुभयो ज्यामरुङमा । रहँदा बस्दा मेजर सापसँग उठबस राम्रै भयो उहाँको । 

मेजर सापले म काठमाडौँ जान लागेको तपाईँको केही छ कि कविराज सर भनेर सोध्नुभयो उहाँलाई । उहाँले आफू पढ्न जानका लागि काठमाडौँ सरुवा हुन खोजेको अब तपाईँलाई भनेर हुन्छ कि हुँदैन भन्नुभयो । मेजर सापले काठमाडौँ आउँदा भेट्न भन्नुभयो उहाँलाई । उहाँले भने काम हुने भए आउँछु नत्र किन आउनु भन्नुभयो । ल काठमाडौँ आएर भेट्नुस् भन्नुभयो उहाँले । 

मेजर सापको दाजुभाइ खलक विष्णु विक्रम शाह त्यस बेला दरबारको सहसचिव हुनुहुँदो रहेछ । उहाँसँग मेजर सापको केही मौखिक कुराकानी समेत भएको रहेछ उहाँको सरुवाको विषयमा । अनि काठमाडौँ आएर उहाँ जानुभयो भेट्न । मेजर सापले सहसचिवकोमा लैजानुभयो । अनि मेजर सापले उहाँले पढ्न काठमाडौँ सरुवा हुन खोजेको रे ! मान्छे उहाँ नै हो भनेर भन्नुभयो ।

सहसचिवले नाम सबै सोधेर टिप्नुभयो । अनि उहाँ भने फेरि विभागमा सरुवाका लागि कुरा गर्न जानुभयो । तर, निर्देशकले उही पूरा नै शैलीमा हकार्नुभयो । टिक्न खान नै दिनुभएन । त्यसपछि उहाँ फर्केर आउनु भयो ।  पछि उहाँलाई विभागमा गएर भेट्नुस्, भन्दिएको छ भन्ने खबर आयो । अनि हिजोसम्म खाउँला जस्तो गर्ने निर्देशक त दरबारको सहसचिवको फोन आएपछि पखाला लागेको बिरामी जस्तो पो हुनुभयो । 

उहाँको बोल्ने, कुरा गर्ने र व्यवहार गर्ने शैलीमा तीन सय साठी डिग्रीको परिवर्तन भयो अब । हुन्छ सरुवा गरौँला भनेर निर्देशकले भन्नु त भयो । तर, यसअघिको व्यवहारले उहाँलाई भने विश्वास लागेको थिएन्  । उहाँ आठ दश दिनको बिदा लिएर घर जानुभयो । चार पाँच दिन बसेपछि ज्यामरुङ जानुभयो । पुगेको चार पाँच दिनपछि उहाँको नाममा एउटा चिठी आयो । 

अब उहाँले मागेको ठाउँ सिंहदरबार वैद्यखानामा उहाँको सरुवा भयो । जागिर खान उहाँले क्षेत्रपाटीमा डेरा लिनुभयो । त्यस बेलासम्म बैद्यखाना सरकारी नै थियो । २०५२ सालमा मात्र विकास समितिमा परिणत भएको हो । 

बिएएमएसको पढाई 

उहाँले बिएएमएसको पढाईको लागि प्रवेश परीक्षा दिनुभयो । पहिलो पटकमा नाम निस्किएन । त्यसपछि हडतालले गर्दा लगभग तीन वर्ष कलेज पुरै बन्द भयो । यही बिचमा उहाँको दाङ सरुवा भयो । उहाँ त्यहाँ तीन वर्ष बस्नुभयो । अनि त्यहाँ अर्को मान्छे आएपछि उहाँको सरुवा नुवाकोट भयो । अब भने कलेज पनि खुल्ने भयो । उहाँको कविराजबाट डाक्टर हुने सपना पूरा हुने दिन आएजस्तो लाग्यो उहाँलाई ।

२०५३ सालमा कलेज खुल्यो । प्रवेश परीक्षामा पनि उहाँले नाम निकाल्नुभयो र बिएएमएस पढ्न थाल्नुभयो । वर्षामा कलेजको छत चुहिन्थ्यो त्यस बखत अनि छाता ओढेर पढ्नु  पर्थ्यो उहाँले विगत कोट्याउनु भयो । त्यस बेला त्यो ब्याचमा पन्ध्र जना थिए पढ्ने । केहीले छोडे । बाँकीले भने आफ्नो पढाई पूरा गरे । 

२०५३ सालमा निजामती सेवाबाट स्वास्थ्य सेवा भिन्न हुने ऐन आयो । निजामती ऐन हुँदासम्म आन्तरिक प्रतियोगिताको व्यवस्था थियो । जसमा सय जनाको दरबन्दीमा कम्तीमा पच्चीस जना आन्तरिक प्रतियोगिताबाट छानिएर एकता बढुवा हु नपाउने व्यवस्था थियो । 

त्यस बेला लोकसेवा खुल्यो । नियमावली आइसकेको भए प्रतियोगितामा भाग लिन पाइने थिएन । यसर्थमा उहाँ आफूलाई भाग्यमानी पनि ठान्नुहुन्छ । नाम निस्कियो । उहाँ पढ्दा पढ्दै अधिकृत हुनुभयो । उहाँले बिएएमएस अर्थात् ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी गर्नुभयो । मास्टर्स गर्नु पनि मन थियो उहाँलाई । तर, नेपालमा त्यसको पढाई थिएन । इन्डिया जानुपर्थ्यो । 

तर, त्यस बेलासम्म इन्डियाले बिआएमएसलाई त्यही अनुरूपको मान्यता दिएको थिएन । पछि खगराज अधिकारी स्वास्थ्य मन्त्री भएका बेला उहाँको पहलमा यसलाई इन्डियाले पनि मान्यता दियो । हाल भने वर्षको आठ दश जना विद्यार्थी छात्रवृत्तिमा पढ्न जाने अवसर पाउने गर्नुभएको छ, उहाँ भन्नुहुन्छ । 

अब भने धेरै समय भएको हुनाले उहाँलाई मास्टर्स गर्ने इच्छा रहेन उहाँ भन्नुहुन्छ । बरु अब बच्चा बच्चीलाई पढाउँला भन्नुहुन्छ, उहाँ । अबको छ महिनामा उमेर हदका कारण उहाँ सेवा निवृत्त समेत हुँदै हुनुहुन्छ । 

विवाह 

उहाँको विवाह भने अलि समय अगावै भएको ठान्नुहुन्छ उहाँ । उहाँको उमेर चौध पन्ध्रको होला त्यस बखत । उहाँ सात कक्षामा पढ्दै हुनुहुन्थ्यो । एक प्रकारले भन्नुपर्दा गैर कानुनी पनि भन्न सकिन्छ भन्नुहुन्छ उहाँ । तर, त्यो समय त्यस्तै थियो, उहाँले प्रस्ट्याउनु भयो । त्यो बेलाको प्रचलन पनि त्यस्तै थियो अनि मध्यम परिवार भएका हिसाबमा धेरैले केटी दिन पाए हुन्थ्यो जस्तो गर्थे भन्नुहुन्छ, उहाँ । 

अब घरमा पनि खेती किसानको काम गर्नुपर्ने हुँदा पनि छिट्टै बिहे भएको बताउनुहुन्छ । उहाँका दुई सन्तान । एक छोरा अनि एक छोरी । छोरा भने इन्जिनियरिङ सकेर हाल न्यूजिल्याण्डमा हुनुहुन्छ । छोरी चाहिँ बिएस्सी एजी सकेर अष्ट्रेलियामा हुनुहुन्छ । 

बिरामीसँगको स्मरण  

उहाँ स्याङ्जा वैद्यमा नियुक्ति भएर जानुभएको थियो । त्यहाँ उहाँ लगायत एक जना कविराज र अन्य दुई जना कार्यालय सहयोगी हुन्थे । कविराज पद भने उहाँभन्दा सिनियर हुन्थ्यो । कविराज तलब खुवाउने प्रबन्धका लागि सदरमुकाम जानुभएको थियो । 

उहाँ वैद्यमा जानुभए पनि कविराज भन्थे उहाँलाई । अनि एक जना मानिस आउनुभयो । तपाईँको नाम भन्नुस भन्दा उहाँले कविराज भन्नुभयो । फेरि सोध्दा पनि उसले कविराज नै भन्यो । त्यो पनि अलि झर्केर । उहाँलाई पनि झोक चल्यो तपाईँको नाम भन्नुस न भन्नुभयो । यो सबै संवाद कार्यालय सहयोगीले सुनिरहनु भएको रहेछ । उहाँले मानिसको नाम नै कविराज हुन्छ भनेपछि उहाँ बल्ल शान्त हुनुभयो । त्यस बेलासम्म उहाँलाई मानिसको नाम कविराज हुन्छ भन्ने नै थाहा रहेनछ । यो घटना उहाँको मानसपटलमा अहिले पनि ताजै छ । 

अर्को घटना 

एक पटक दाङमा सात वर्षको पेट फुल्ने समस्या भएको बालक लिएर आउनुभयो एक जनाले । उक्त बालकलाई नेपालगन्ज लगेर बाल विशेषज्ञलाई समेत देखाएर ल्याइसकिएको रहेछ । 

नेपालगन्ज लगेर लेराएको केही समय ठिक भयो । समस्या पुनः बल्झियो । अनि उहाँका लिएर आएपछि उहाँले पेट सफा गर्ने औषधी दिनुभयो । औषधीको एक मात्राले ठिक भयो । यो अर्को स्मरण योग्य घटना रहेछ, उहाँको । 

एक पटक दाङमा दाउरा काट्ने क्रममा एक जना युवतीको हात नराम्रोसँग काटिएको रहेछ । घाउ भएको ठाउँमा  कपडाले बानेर ल्याइएको थियो । खोलेर हेर्दा त प्वाल परेको पाइपबाट पानी सिर्का हानेजस्तो रगतको सिर्का आयो ।  अब सिलाउने धागो थिएन । कि सदरमुकाम जानुस् नभए यहाँ भएको उपचार गर्दिन सक्छु भन्दा हुन्छ भनियो । अनि त्यसलाई अलि दह्रोसँग टाँका लगाएर सिलाइ गरेपछि रगत आउन बन्द भयो । यति भएपछि अरु त बिस्तारै ठिक हुन्छ भन्ने लाग्यो । र, ठिक पनि भयो । यस्ता अरु थुप्रै स्मरण छन् उहाँको यो लामो उपचारको अवधिमा ।  

यी कुराहरूको ज्ञान भने त्यस बेला उहाँले लिएका वीर अस्पतालदेखि प्रसूति अस्पतालसम्मका प्रशिक्षणका कारणले प्राप्त भएको उहाँको ठम्याई छ । डा.अञ्जनी कुमार शर्मा, आनन्द श्रेष्ठ, भरत झा जस्ता चर्चित हस्तीहरूले उहाँहरूलाई पढाउनु भएको हो । त्यस कारण पनि उहाँहरूको पढाइको गुणस्तर कायम रहेको ठान्नुहुन्छ, उहाँ । 

सङ्घसंस्थामा संलग्नता तथा तालिम 

उहाँ, नेपाल आयुर्वेद चिकित्सा परिषद्को दुई पटक रजिस्ट्रार समेत रहनु भयो । यसको अवधि चार वर्षको भए पनि दुबै पटक उहाँले पूरा अवधि काम गर्न भने पाउनु भएन । दुई पटक गरेर उहाँ लगभग साँढे पाँच वर्ष उक्त पदमा रहेर काम गर्नुभएको छ । 

तालिमका सन्दर्भमा भने इन्डियामा पन्ध्र दिने क्षारसूत्रको तालिम पनि लिनुभएको छ । यो विशेष गरी पायल्स तथा फिस्टुलामा प्रयोग हुने पद्धति हो । 

अन्त्यमा 

जीवनमा सहज र असहज दुबै परिस्थिति आउँछन् । विषम परिस्थितिमा पनि आफूमा विश्वास गरेर अगाडि बढ्न सके सजिलै लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुराको ज्ञान डा.पाण्डेको जीवनबाट लिन सकिन्छ ।