सरकारी अस्पताल ठप्प, सरकार मौन

सरकारी अस्पताल ठप्प, सरकार मौन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

काठमाडाैं । कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपत्कालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गरेका छन् ।

संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि डाक्टर आन्दोलनमा छन् । विभेदकारी ढंगले समायोजन गरिएको भन्दै सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबारबाट ओपिडी सेवासहित आपत्कालीनबाहेकका अप्रेसन बन्द गरेका हुन् । 

राजधानीका सरकारी अस्पतालमा दैनिक एक सय नौभन्दा बढी अप्रेसन रोकिएको अस्पतालहरूले बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा मेजर र माइनर गरी दैनिक ३५ अप्रेसन हुँदै आएका छन् । वीर अस्पतालमा युरोलोजी, न्युरो, माइनर गरेर ५५ र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सातजनाको पूर्वयोजनाअनुसार अप्रेसन हुँदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।