‘देब्रे आँखा’ पश्चात् रेशम विरहीको अर्को निबन्ध संग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

‘देब्रे आँखा’  पश्चात् रेशम विरहीको अर्को निबन्ध संग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर ७, २०७७

काठमाडाैँ । रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । ‘देब्रे आँखा’ नामक निबन्धसंग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् । 

उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन् । रेशम विरही यति ज्याद्रा लेखक हुन्, सत्तरीको भन्ज्याङ छुन लाग्दा पनि उनी कतै बिसिएनन्, हिँडिरहे, हिँडिरहे – अविश्रान्त हिँडिरहे । जीवनयात्रामा उनी रित्तै कहिल्यै हिँडेनन् । पिठ्यूँमा कहिले पत्रकारिता कहिले कविता, कहिले उपन्यास र कहिले निबन्धका ढाकर बोकिरहे । समाज, व्यक्ति र राजनीतिलाई नजानिँदो पाराले घुच्याउने र विम्बका घुएँत्रोले चोटिलो निशाना दिनु उनको विलक्षण गुण हो । लोभ र प्रपञ्चका कित्ताभन्दा अलग्गै पहिचान बनाउने रेशमलाई साक्ष्यभावले उभिएको टापु समेत भन्न थालिएको छ ।

भाव र प्रभाव गरी दुई भागमा विभाजित निबन्धसंग्रहमा २५ वटा निबन्धहरु रहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको उक्त निबन्धसंग्रहको मूल्य ३२५ रहेको छ ।