दुई दिनमै बिग्रियो ३ करोडको अक्सिजन प्लान्ट

दुई दिनमै बिग्रियो ३ करोडको अक्सिजन प्लान्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरेको देखिएकाले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा छानबिन र कारबाहीका लागि उजुरी दिने तयारी गरेको जानकारी दिए । 

प्रतिष्ठानका अनुसार ३ करोड २४ लाख रुपैयाँ लगानी गरेर गत माघ २४ मा जडान गरिएको अक्सिजन प्लान्टले आधा मात्र उत्पादन गर्छ । जडान गरेको दुई दिनमै प्लान्टको एउटा जेनरेटर बिग्रिएको थियो । प्लान्टले उत्पादन गर्ने अक्सिजनको शुद्धता पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप छैन ।

प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्न तत्कालीन उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासका पालामा २०७३ वैशाख २९ गते टेन्डर खोलिएको थियो । काठमाडौं बस्ने विज्ञान अर्यालको डाइग्नोकेन इन्टरनेसनल प्रालिले अक्सिजन प्लान्टको टेन्डर पारेका थिए । उनले २०७५ भदौ ८ सम्म प्लान्टको सामान झारेका थिएनन् । डाइग्नोकेन प्रालिलाई प्लान्टको शतप्रतिशत भुक्तानी भने दिइसकिएको थियो । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।