‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’

‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ७, २०७७

प्युठान । स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८  मा भारत तथा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोताैँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।  नगरपालिकाले चालु आवका लागि ५६ करोड ६० लाख ३३ हजार ४५९ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाभित्र थोरै लगानीमा केही व्यवसाय सञ्चालन गरेका र आर्थिक समस्याले गर्दा व्यवसाय फस्टाउन नसकेका व्यक्तिलाई थप सहयोग गर्नका लागि कार्यक्रमले फाइदा पुग्ने नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो । 

कोरोना सङ्क्रमणका कारण नगरक्षेत्रभित्र आएका व्यक्ति तेस्रो मुलुक तथा भारतमा सिकेको सीपलाई प्रयोग गर्न चाहेमा र नगरक्षेत्रका अन्य बेरोजगार व्यक्तिले पनि केही व्यवसाय गर्न चाहेमा यो कार्यक्रममा समेटिने उहाँले बताउनुभयो । कोभिड लक्षित कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहमार्फत अन्य बजेटसमेत विनियोजन भएकाले सोे कार्यक्रममार्फत  सबै बेरोजगारलाई रोजगारी बनाउने र व्यवसायी बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।  

कार्यक्रम सञ्चालन गर्नका लागि कार्यपालिकाबाट ‘स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७’  पारित गरिएको नगर प्रमुख क्षेत्रीले बताउनुभयो । त्यसका लागि नेपाल बैंक लिमिटेड भिङ्ग्री शाखासँग सहकार्य गरिने छ । सम्झौताका लागि केन्द्रीय कार्यालयमा पत्र पठाइएको छ । उहाँले भन्नुभयो 'अबको केही समयमा सम्झौता हुने छ ।' सम्झौतालगत्तै नगरपालिकाले वडामार्फत व्यवसाय गर्ने व्यक्ति तथा समूहको तथ्याङ्क सङ्कलन, व्यवसाय छनोट, संस्थागत र व्यक्तिगत व्यवसाय प्रकृतिका विषयमा तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो । 

सो कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका बाँझो खेतबारी कृषिमार्फत हराभरा हुनुपर्ने उहाँले बताउनुभयो । वडामार्फत बाँझो जग्गाको तथ्याङ्क सङ्कलन हुनेछ । बेरोजगारलाई आम्दानीको स्रोतसँगै  आगामी दिनमा सफल व्यवसायी बनाउने योजनासहित सोे कार्यक्रम अघि बढाइने  उहाँको भनाइ छ । नगरपालिकाले कार्यक्रमको कार्यविधिमा निम्न पिछडिएको, लगानी गर्न रकम नभएको र दलित वर्गलाई प्राथमिकता दिने उल्लेख गरेको छ । 

 नगरपालिकाले ५० लाख रुपैयाँ धरौटी बैंकमा राख्ने र बैंकले नगरपालिकाको धरौटी रकमको दोब्बर लगानी गर्ने छ । यसमार्फत संस्थागत कृषि व्यवसाय गर्नेले न्यूनतम २० लाख रुपैयाँ र व्यक्तिगत व्यवसाय गर्नेले न्यूनतम १० लाख रुपैयाँ ऋण लिन सक्नेछन् । नगरपालिकाले कृषिमा बाँझोबारीलाई हराभरा बनाउन, बाँझो बारी जोती कृषिमा आमूल परिवर्तन गर्नका लागि कार्यक्रमले सहयोग पुर्‍याउने नगर प्रमुख रोका क्षेत्रीले बताउनुभयो । 

नगरपालिकाले सो कार्यक्रमका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा ५० लाख रुपैयाँ बैंकमा धरौटी राखिने छ भने १० लाख रुपैयाँ प्रोत्साहनका लागि खर्च गरिनेछ । कोरोना सङ्क्रमणका कारण नगरपालिकाभित्र हालसम्म भारतबाट एक हजार ९६८  र तेस्रो मुलुकबाट १५० जना व्यक्ति आएको तथ्याङ्क छ ।