मानुङमा पूर्वाधार निर्माण गरिने

मानुङमा पूर्वाधार निर्माण गरिने

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर ८, २०७७

तनहुँ । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिने भएको छ । मानुङमा तत्कालै केही पूर्वाधार निर्माणको आवश्यकता देखिएकाले व्यास नगरपालिकाले प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङ जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न र पर्यटक आराम गर्ने ‘सेड’ निर्माण गर्न प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी दिनुभयो । साथै मानुङमा पिउने पानीको लिफ्टिङ योजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको छ । 

गत हप्तामात्रै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मानुङको विकासका लागि चासो व्यक्त गर्नुभएको थियो । मानुङको अवलोकन गर्दै मन्त्री गुरुङले चालु आर्थिक वर्षमै मानुङमा पूर्वाधार निर्माणका लागि बजेट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसलगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कार्यक्रम संयोजक जुद्ध गुरुङको नेतृत्वको टोलीले मानुङको भ्रमण गरेको थियो ।

सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दशैं लगत्तैको शनिबार एकैदिन दश हजार भन्दा बढीले मानुङकोटको भ्रमण गरेका थिए । त्यसयता पनि दैनिक पाँचसयदेखि एक हजारसम्म पर्यटक मानुङ पुग्ने गरेका छन् ।