चामुण्डा बिन्द्रासैनी र आठबीसका जङ्गलका काठको तस्करी बढे

चामुण्डा बिन्द्रासैनी र आठबीसका जङ्गलका काठको तस्करी बढे

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर ८, २०७७

दैलेख । जिल्लाको पश्चिममा पर्ने चामुण्डा बिन्द्रासैनी र आठबीस नगरपालिकाका जङ्गलमा अवैध रुपमा सल्ला, साललगायत अन्य काठको तस्करी बढेको स्थानीयवासीले गुनासो गरेका छन् । सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेर विभिन्न पूर्वाधार निर्माण गर्ने कार्य पनि तीव्र बढेको छ । 

मध्यपहाडी सडकखण्डको तलमाथि रहेका काठका रुख वन उपभोक्ता समिति र पहुँचवालाको मिलोमतोमा फँडानी हुने क्रम बढेको छ । चामुण्डा बिन्द्रासैनीका उपप्रमुख ताराकुमारी शाहीले वन विनाश, र सार्वजनिक जग्गा अतिक्रमणको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि स्थानीय सरकार, वन कार्यालय, प्रहरी र प्रशासनको संयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुभयो । 

सुकेको, बूढो र  सडेगलेको रुखका लागि जिल्ला वन कार्यालयबाट सिफारिस लिएर वनले टाँचा लगाएपछि मात्र काट्नुपर्ने नियम भए पनि वन उपभोक्ता समितिले बलमिचाइ गर्दै वन फँडानी गर्ने क्रम बढेको जिल्ला वन कार्यालयका होमकुमारी खड्काले बताउनुभयो । वन जोगाउन सबै जिम्मेवार नागरिकको एक हुनुपर्ने खड्काको भनाइ छ ।