सुन्दरबजारकाे बलिथुङमा एक घर, एक धारा जडान

सुन्दरबजारकाे बलिथुङमा एक घर, एक धारा जडान

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ८, २०७७

लमजुङ । सुन्दरबजार नगरपालिका– ८ बलिथुङमा एक घर एक धारा जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ५९ लाख ८५ हजार ८८८ रुपैयाँ र  च्वाइस नेपाल जिल्ला शाखा लमजुङको ११ लाख रुपैयाँ आर्थिक सहयोगमा यहाँका ५५ घरमा घरैपिच्छे धारा जडान गरी पानी झारिएको छ ।  

टोलमा खानेपानीको कुनै स्रोत नहुँदा दुई घण्टा समय धाउनुपर्ने बाध्यता घरैपिच्छे धारा जडानले सहज बनाएको छ । एकहत्तर वर्षीया आइतमाया नेपालीले भन्नुभयो, 'हामीलाई गाउँमा धेरै पानीको दुःख थियो । म बूढी मान्छे गाग्रीमा पानी बोकेर टाढाबाटा ल्याउन पनि नसक्ने तर नल्याएर पनि सुख थिएन । अहिले घरमै धारा जडान गरेर पानी आएपछि त धेरै सहज भएको छ । ' 

उहाँ मात्र होइन यहाँका अन्य बूढापाका तथा बालबालिकालाई समेत बढी फाइदा पुगेको छ । सबैले भने जति पानी उपयोग गर्न पाएको स्थानीयवासी बताउँछन् । वडाध्यक्ष कृष्णकान्त अधिकारीले भन्नुभयो,'हामीलाई  सबैभन्दा ठूलो आवश्यकता खानेपानीको थियो, अहिले पूरा हुँदा सबैलाई सहज भएको छ ।' विगतमा यहाँका बासिन्दाले खानेपानी अभावले डेढदुई घण्टा टाढा बूढी कुवा, वीरस्वाँरा र बेँसीशहर नगरपालिका–१ नयाँ गाउँसम्म पानी बोकेर ल्याउने गरेको उहाँले बताउनुभयो ।' 

वडाध्यक्ष अधिकारीका अनुसार सो टोलमा मात्र नभई वडाका अन्य स्थान रामदी, अकला र घोक्रेस्वाँरामा एक घर एक धारा जडान भइरहेको छ । रामदीका ८५ घरमा घरैपिच्छे धारा जडान गरी पानी पुर्‍याउनका लागि हाल ५० हजार रुपैयाँ र २० हजार रुपैयाँको खानेपानी ट्याङ्की निर्माण भइरहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
 
यहाँ च्वाइस नेपालले  ३५ लाख रुपैयाँको लागतमा घरघरमै धारा पु¥याउन लागेको संस्था लमजुङका संयोजक सुकराम दुलालले बताउनुभयो । त्यस्तै अकलाका १६० घरमा च्वाइसले नै ५३ लाख रुपैयाँमा घरैपिच्छे धारा पु¥याउने भएको छ । सो घरका लागि एक लाख रुपैयाँ बराबरको ट्याङ्की निर्माण प्रक्रिया अघि बढेको छ ।

त्यस्तै प्रदेश सरकारको लगानीमा घोक्रेस्वाँरामा ४७ घरमा घरैपिच्छे धारा जडान तीव्रगतिमा भएको छ । १०–१० हजार रुपैयाँका तीन  ट्याङ्की निर्माण गरी सो घरमा धारा जडान गरेर पानी लैजाने कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । 

प्रदेश सरकारले लिएको लक्ष्य पछ्याउँदै जिल्लाका विभिन्न गाउँ तथा टोलमा एक घर एक धारा अभियान धमाधम लागू भइरहेको छ । प्रदेश सरकारले प्रदेशकै पाँच लाख १७ हजार घरमा पानीको धारा पु¥याउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार प्रदेश सरकारले सबै जिल्लामा लगानीसमेत गरिरहेको छ ।