निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने

निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ८, २०७७

चितवन  । चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार  भागेका थिए ।
 
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकालाई स्थानीयवासी र जनप्रतिनिधिले हुलहुज्जत गरी भगाएका थिए । उनीहरुले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको अधिकारीले जानकारी दिनुभयो ।
 
घटनाअनुसार शनिबार राति १२ः१५ बजे निकुञ्जको भित्री इलाका नारायणी नदीको गोहीघाट आइल्याण्ड क्षेत्रमा गैरकानूनी तारबार निषेधित कार्य गरेका अभियोगमा तिनलाई पक्राउ गरिएको थियो । उनीहरुले माछा मार्न प्रयोग गरिने निषेधित तियारी जाल प्रयोग गरी राति माछा मार्ने तथा झुप्रा बनाई संवेदनशील क्षेत्रमा बसेर शङ्कास्पद गतिविधि गरेको देखिएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो ।
 
अवैध क्रियाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको र घटनाका विषयमा जाँचबुझ तथा आवश्यक  सोधपुछसमेत गर्न नदिइकन हुलहुज्जत गरी भगाउँदा सो क्षेत्रमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।
 
गैरकानूनी रुपमा माछा मार्न मात्र नभएर चोर– शिकारीलाई समेत नदीमा वारपार गराउन प्रयोगमा आएका आशङ्का गरिएका १३ डुङगा नष्ट गरिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो ।
 
पक्राउ परेर भागेकामध्ये दुई जना मध्यविन्दु नगरपालिका–३ का र अन्य २९ जना कावासोती नगरपालिका–१५ का बोटे, माझी र मुसहर छन् ।  तिनलाई यथाशक्य चाँडो खोजी गरी पुनःकानूनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
 
सोही क्षेत्रमा केही समय अगाडि चोर–शिकारीले दुर्लभ एकसिँगे गैँडा मारेका थिए । पछिल्लो समय गैँडा मारिने क्रम बढेको छ । चालु आर्थिक वर्ष शुरु भएयता चार गैँडा चोर–शिकारीबाट मारिएको अवस्थामा भेटिएका छन् । निकुञ्जले चोरीशिकार र प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि समिति बनाएर अनुसन्धान गरिरहेको छ ।