विद्यार्थीको आवरणमा धर्म प्रचार

विद्यार्थीको आवरणमा धर्म प्रचार

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

काठमाडाैं । विद्यार्थीको आवरणमा नेपालमा धर्म प्रचारमा संलग्न जापानीदम्पती पक्राउ परेका छन् । मोरिटा माहाहिरो र उनकी श्रीमती याकारी मसिमोटो इसाई धर्म प्रचारको आरोपमा पक्राउ परेका हुन् । 

अध्ययन भिसामा नेपालमा बस्दै आएका उनीहरू धर्म प्रचारमा संलग्न रहेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । ‘अध्यागमन कानुनअनुुुसार उनीहरूलाई जरिवाना गरी निष्कासन गरिनेछ,’ महानिर्देशक पौडेलले भने । रुपन्देहीको सैनामैना–१० सालझन्डीमा बस्दै आएका उनीहरूलाई धर्म प्रचार गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

विभागका अनुसार मोरिटिया पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भएका थिए । शिक्षा संकायमा स्नातक पढ्न भनेर भर्ना गरी सोही आधारमा अध्ययन भिसा लिएका थिए । उनकी श्रीमतीले डिपेन्डेन्ट भिसा पाएकी थिइन् । पढ्न नभई नेपालमा बस्न मात्र उनी कलेज भर्ना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नेपाल बस्नुको उद्देश्य नै धर्म प्रचार भएको अनुसन्धानमा आबद्ध अधिकारीले बताएका छन् । भिसाको प्रयोजनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा तीन महिनाअघि कैलालीबाट जापानी पक्राउ परेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।