सोलेडाँडामा शहीदोद्यान

सोलेडाँडामा शहीदोद्यान

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर ८, २०७७

बागलुङ । पर्यटकीय गन्तव्यस्थल सोलेडाँडामा शहीदोद्यानले नयाँ आकर्षण थप्ने भएको छ । गत वर्षदेखि बनाउन थालिएको उद्यान यसपाली पूरा गर्ने लक्ष्य छ । तमानखोला गाउँपालिका–४ मा निर्माणाधीन उद्यानमा शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराजशास्त्री र दशरथ चन्दको सालिक राखिनेछ ।

यस्तै १० वर्षे सशस्त्र सङ्घर्षमा तमानखोलाबाट शहादत प्राप्त गर्ने चार जनाकोसमेत सालिक राख्ने गाउँपालिकाको योजना छ । वडाध्यक्ष उदीमबहादुर छन्त्यालले गत आवमा पाँच लाख रुपैयाँ बजेटबाट उद्यानका लागि जग्गा छनोट, घेराबार, विश्रामस्थललगायतका संरचना बनाइएको जानकारी दिनुभयो ।

गाउँपालिकाले चालू आवमा उद्यानका लागि सात लाख रुपैयाँ बजेट छुट्याएको छ । 'यो वर्ष सालिक राख्ने, बगैँचा बनाउने काम हुन्छ', उहाँले भन्नुभयो । उद्यान वरिपरिको क्षेत्रमा पनि पर्यटनमैत्री हिसाबले संरचना बनाइने उहाँको भनाइ छ ।

शौचालय र खानेपानीको प्रबन्ध यसअघि नै गरिएको छ । पूर्वाधार खडा गर्दा स्थानीय स्रोत र सीपको प्रयोग गरिने भएको छ । शहीदको सम्मानमा उद्यान बनाउन लागिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

'सोलेडाँडाको पर्यटकीय विकासमा शहीद उद्यान पनि जोडिएको छ', उहाँले भन्नुभयो, 'आगामी पुस्तामाझ पनि शहीदको योगदान र स्मृतिलाई चीरस्थायी बनाउन उद्यानले सघाउँछ ।' २६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । हिमशृङ्खला र सूर्योदय÷सूर्यास्त अवलोकनका लागि उपयुक्त गन्तव्य हो सोलेडाँडा । चैत र वैशाखामा ढकमक्क लालीगुँरास फुल्दा सोलेडाँडाको सौन्दर्य अझ खुल्छ । सडकको सहज पहुँचले पछिल्लो समय त्यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस त्यहाँ पुग्छन् ।

गाउँपालिकाले काठेखोला गाउँपालिकाको घोडाबाँधे हुँदै ताराखोला गाउँपालिकाको डुडेलेक–सोलेडाँडा–बयलीको धुरी–पुथाले खोलेको ताल–मालिका–नौडल्ले हुँदै ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययनसमेत थालेको छ ।

म्याग्दीको मालिका गाउँपालिका–४ को सीमामा पर्ने सोलेडाँडामा दुवै जिल्लाकोतर्फबाट सजिलै आवतजावत गर्न सकिन्छ । बागलुङ सदरमुकामदेखि ११५ किमीको मोटर यात्रापछि सोलेडाँडा पुग्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीदेखिको दूरी अझै कम पर्छ । सडक पुगे पनि अन्य पर्यटकीय पूर्वाधारको भने कमी छ ।