कोरोना विरुद्धको खोप: तीन कम्पनीका प्रभावकारी ! आधा दर्जन परीक्षणको अन्तिम चरण !! मंसिर २६ बाट अमेरिकामा लगाइँदै !!!

कोरोना विरुद्धको खोप: तीन कम्पनीका प्रभावकारी ! आधा दर्जन परीक्षणको अन्तिम चरण !! मंसिर २६ बाट अमेरिकामा लगाइँदै !!!

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ९, २०७७

कोरोना भाइरसको महामारीका कारण विश्व आक्रान्त बनेको एक वर्ष पुग्न लाग्दा भने अब एकपछि अर्को गर्दै धमाधम कोरोना भाइरसविरुद्धका खोपहरू  उत्पादन र परीक्षण सफल भइरहेको समाचारले विश्वलाई केही हदसम्म आश्वस्त हुने अवस्था सृजना भएको छ । 

फाइजर र बायोएनटेक कम्पनीले बनाएको खोप ९५ प्रतिशत प्रभावकारी रहेको घोषणा प्रस्तुत गरे लगत्तै अर्को कम्पनी मोडेर्नाले बनाएको खोप पनि ९४.५ प्रतिशत प्रभावकारी भएको खबर सार्वजनिक भएको छ । यी खबर सङ्गै  कोरोना भाइरसविरुद्धको लडाइमा सहजता महसुस गर्न थालिएको छ । 

सोमबार मात्रै अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप समेत ७० प्रतिशत प्रभावकारी भएको समाचार आएपछि खोपको यात्रामा अर्को सफलता पनि नजिकै रहेको विश्वस्त हुने आधार देखिन थालेको छ । 

अमेरिकीले २० दिनभित्र खोप पाउने ! 

अमेरिकी नागरिकहरूले पहिलो पटक ११ डिसेम्बरसम्म कोभिड–१९ विरुद्धको प्रभावकारी खोप पाउन सक्ने कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लावीले जानकारी दिएका  छन् । उनले कोरोनाविरुद्धको खोपले स्वीकृति पाएको २४ घण्टाभित्र खोप पुर्‍याइने योजना रहेको बताएका छन् । अमेरिकामा देशव्यापी रूपमा कोरोना भाइरसका नयाँ सङ्क्रमितको संंख्या तीव्र रुपमा बढिरहेका बेला कोरोना भाइरसविरुद्धको खोपको समाचारले सकारात्मक सन्देश सञ्चार गराएको  बताएका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक करोड २० लाख बढीलाई कोरोना सङ्क्रमण भएको छ भने दुई लाख ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

फाइजर र बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका थिए । दुई पटक लगाउनुपर्ने यो खोपको परीक्षणमा ९५ प्रतिशत प्रभावकारी देखिएको छ । परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा सो भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । खोप लिएपछि कोरोना भाइरसविरुद्ध लड्न शरीरले रोगसँग लड्ने एन्टीबडी र टी–सेलहरू आफैँ बनाउँछ । फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ । 

कोरोना भाइरसको सङ्क्रमणपछि विश्वका कतिपय देशमा कोरोना भाइरसविरुद्धको खोपको आविष्कार एउटा अभियानको रुपमा अघि बढ्यो । यस कारण यति बेलो धेरै खोपहरू परीक्षणको चरणमा रहेका छन् । आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्क पनि सार्वजनिक हुने तयारीमा छन् ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे १० डिसेम्बरमा छलफल गर्दैैछ । डा.स्लावीले अनुमति पाएको दुई दिनमै खोप दिन सकिने बताए । डा.स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए । तर स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने छ । अर्को कम्पनी मोडेर्नाले बनाएको खोप पनि परीक्षणका क्रममा ९४.५ प्रतिशत प्रभावकारी देखाएको छ । आगामी केही साताभित्र मोडेर्नाको सो खोपले पनि स्वीकृति पाउने विश्वास लिइएको छ । 

अक्सफोर्डको खोप ७० प्रतिशत प्रभावकारी

युनिभर्सिटी अफ अक्सफर्डले बनाएको कोरोना भाइरसविरुद्धको खोप ७० प्रतिशत मानिसमा प्रभावकारी देखिएको छ । अक्सफोर्डले बनाएको खोप फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोप भन्दा धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ ।

नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भए यो खोपले कोरोना भाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफोर्डका वैज्ञानिकहरूले १० महिनामा सम्पन्न गरेका थिए ।

खोप निर्माणकी प्रमुख योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन्, ‘आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोना भाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ ।’ यो खोप सफल भएपछि बेलायत सरकारले १० करोड मात्रा लिने बताइसकेको छ । 

यो खोप परीक्षणमा २० हजार स्वयंसेवकहरू सहभागी भएका थिए । जसमध्ये आधाभन्दा बढी बेलायत र बाँकी ब्राजिलका थिए । दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भएको थियो भने डमी अर्थात् नक्कली खोप दिएका १०१ जनालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो ।

स्वयंसेवकहरूलाई दुई पटक उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखिएको थियो । तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो ।

यस्तो भिन्नता देखिनुको कारण भने अझै स्पष्ट भइसकेको छैन । ‘हामी परिणामबाट साँच्चै सन्तुष्ट छौँ,’ प्रमुख अनुसन्धानकर्ता एन्ड्र पोलर्डले भने । उनका अनुसार ९० प्रतिशत प्रभावकारिताको तथ्याङ्क उत्साहजनक छ । 

अन्य खोपको विकास पनि तीव्र

कोरोना भाइरसको सङ्क्रमणपछि विश्वका कतिपय देशमा कोरोना भाइरसविरुद्धको खोपको आविष्कार एउटा अभियानको रुपमा अघि बढ्यो । यस कारण यति बेलो धेरै खोपहरू परीक्षणको चरणमा रहेका छन् । आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्क पनि सार्वजनिक हुने तयारीमा छन् । 

तेस्रो चरणको परीक्षणमा रहेका खोपहरूमा 

१.क्यान्सिनो, चीन, 

२.गामालेया रिसर्च इन्स्टिच्युट, रुस

३. जान्ससेन

४.बेइजिङ इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन

५.सिनोभाक र बुटानटान, ब्राजिल

६.वुहान इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, चीन

७. नोभाभाक्स, अमेरिका छन् ।