बारा–पर्सा विपत् : त्रासमा बित्छ रात

बारा–पर्सा विपत् : त्रासमा बित्छ रात

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

बारा । फेटा ६ पुरैनियामा शनिबार राति बादल गर्जिन थाल्यो । हावाहुरीले टेन्ट हल्लाउँदै थियो । साताअघिकै जस्तो विपत्ति दोहोरिने त होइन भन्ने आशंकाले मोलायासा खातुनको मुटु पनि टेन्टभन्दा कम काम्दै थिएन । ‘टेन्टले ठूलो हुरी र वर्षा थाम्दैन । अँध्यारोमा लडदैपडदै बालबच्चासँग बाहिर निस्कियौं,’ उनले सुनाइन्, ‘छिमेकीको पक्की घरमा पुगेपछि मात्र मुटुको ढुकढुकी घट्यो ।’

बादलको गर्जनले सन्तानहरू पनि तर्सिएका थिए । खाना पकाएर पस्किने तरखर गरिहेका बेला हावाहुरी चलेकाले उनीहरू सबै भोकै भए । त्यस रात अरू घरकाले पनि हावाहुरीको त्रासका कारण खाना खान पाएनन् । कोही सुतेनन् पनि । ‘डरले परिवारका सबै रातभरि जाग्राम बस्यौं,’ मोलायसाले भनिन् ।

 

हसीबन खातुनले छिमेकीको कुटानी पिसानी मिलमा भोकै रात गुजारेको बताइन् । ‘बिहान मात्रै टेन्टमा फर्कें,’ उनले भनिन् । नजबुन नेसाले पनि दुधे छोरा लिएर गाउँलेको घरमा आश्रय लिएको बताइन् ।

स्थानीय रहिमा खातुनले हावाहुरी र बादलको गर्जनले महिला, वृद्धवृद्धा र बालबालिका त्रसित हुने गरेको बताइन् । ‘सुरक्षित घर नबनेसम्म गाउँका सबैको दिनचर्या त्रासमै बित्छ,’ उनले भनिन्, ‘टेन्टमा कोही पनि ढुक्कसँग बस्न पाउँदैन ।’ उनले सरकारले जतिसक्दो चाँडो घर निर्माण बनाइदिनुपर्ने बताइन् । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।