पछिल्लो समय कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै

पछिल्लो समय कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ९, २०७७

चितवन । चितवनमा  पछिल्लो समय कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । 
 
कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र  झाट्न  यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो  । अर्कोतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना कृषकले खरिद गर्न कठिन हुने गरेको छ । उहाँले भन्नुभयो, 'सरकारी अनुदान नपाउनेले आफैँले किनेर पनि उपकरण प्रयोग गर्न थालेका छन् ।' 
 
यन्त्रको प्रयोग गर्दा मजदूर खर्च ६० प्रतिशत बच्ने र कूल लागतमा २५ देखि ३० प्रतिशत खर्च घट्ने उहाँले जानकारी दिनुभयो । बीउ राख्नका लागि सिडर, रोप्नका लागि ट्रान्सप्लान्टर, काट्नका लागि रिपर र कम्बाइन हारबेस्टर र पराल उठाउनका लागि बेलरको प्रयोग हुँदै आएको छ । 
 
कतिपय उपकरण गहुँ र मकैलगायत बालीमा पनि प्रयोग हुने गर्दछन् । कतिपय भने एउटा बालीमा मात्रै प्रयोग हुने गर्दछ । प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना अझै पनि कृषकहरुले उपकरण प्रयोग गर्दा आफूले पनि काम गर्नुपर्ने भएकाले झन्झट मानेको बताउनुहुन्छ । उहाँ पूरै काम गर्ने गरी खर्च बढी भए पनि मजदूर लगाउने गरेको बताउनुहुन्छ । 
 
उहाँले भन्नुहुन्छ, 'यन्त्रको प्रयोग बढेको छ तर अपेक्षाकृत अझै बढ्न सकेको छैन ।' उहाँका अनुसार, स्थानीय पालिका, प्रदेश र सङ्घीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएका छन् । कृषकले यो अनुदानलाई ९० प्रतिशतसम्म दिनुपर्ने माग गर्ने गरेको छन् ।
 
तराई ÷मधेश क्षेत्रका जिल्लामा धेरै पहिलेदेखि नै जोत्नका लागि ट्र्याक्टरको प्रयोग हुने गरेको थियो । पछिल्ला वर्षमा अन्य उपकरणसमेत प्रयोग हुन थालेको  परियोजना प्रमुख तिमिल्सनाले जानकारी दिनुभयो । सबै कृषकलाई उपकरणका बारेमा ज्ञान नभइसकेकाले ठूला चक्लाबन्दी फर्महरुमा सामूहिकरुपमा तालीम दिन सकेमा यन्त्रीकरणको प्रयोग बढ्दै जाने उहाँको भनाइ छ । सानासाना जग्गा र सहज उपकरण नपाउँदा पनि कृषकले यसको उपयोग कम गरेको पाइन्छ । सरकारी अनुदान हुँदा पनि धेरै रकम आफैँले लगानी गर्नुपर्दा जति आकर्षण हुनुपर्ने हुन नसकेको कृषकहरु बताउँछन् । 
 
जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको बृहस्पति आधुनिक कृषि फर्मका सल्लाहकार मित्रराज दवाडी यन्त्रीकरण बढाउनका लागि सरकारको अनुदान ९० प्रतिशत हुनुपर्ने सुझाव दिनुहुन्छ । वर्षमा एक महिना धान रोप्ने प्लान्टर खरिद गर्न रु २५ लाख खर्च हुने जनाउँदै उहाँले वर्षभरि नै उपकरणको प्रयोग नहुने भएकाले लागत मूल्य बढी पर्ने बताउनुभयो । 
 
उहाँले धान रोप्ने, काट्ने, झाट्ने, गहुँ छर्ने र काट्ने उपकरणबाटै गर्दै आएको जानकारी दिनुभयो । जमीनलाई चक्लाबन्दी गरेर एकीकृत रुपमा यन्त्रीकरण प्रयोग गरी खेती गरेमा उत्पादन बढाउन र लागत घटाउन सकिने उहाँको भनाइ छ । 
 
अहिले नेपालमा भित्रिएका उपकरण सस्ता र कम टिकाउ हुने उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका दवाडीले लामो समय टिक्ने र राम्रा उपकरण भित्र्याउनुपर्ने सुझाव दिनुभयो । 
 
जिल्लाका पूर्व, पश्चिम र माडी क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । प्रदेश सरकारले चक्लाबन्दी खेती गर्ने कृषकलाई यन्त्रीकरण र अन्य कामका लागि अनुदान दिँदै आएको छ । अनुदान पाएसँगै यन्त्रको प्रयोग बढ्दै गएको हो । पुरातन खेती प्रणालीमा लागत मूल्यसमेत नउठ्ने भएपछि युवा पुस्ता यन्त्रीकरणतर्फ आकर्षित भएका छन् ।