हिंसा र कमाइको अन्तरसंबन्ध : महिलालाई स्वआर्जनले दिने आत्मसम्मान र आत्मविश्वास

हिंसा र कमाइको अन्तरसंबन्ध :  महिलालाई स्वआर्जनले दिने आत्मसम्मान र आत्मविश्वास

निर्जला कक्षपति  |  दृष्टिकोण  |  मंसिर ९, २०७७

बितेको ४ दशकलाई  फर्केर हेर्दा हामीले महिला अधिकारका कुरा धेरै गर्‍यौँ ।  यस अवधिमा महिलाले आफ्ना अधिकारका बारे जान्ने बुझ्ने केही हदसम्म मौका पाए र पाइरहेका छौँ ।  महिलाले आफ्नो अधिकार लिन लड्न सिकेका छन् । अधिकारबाट वञ्चित भएर बस्नु  हुँदैन भन्ने कुरा राम्रोसँग बुझाइएको छ । महिला माथि हुने अन्याय, महिला भएकै कारण गरिने विभेदलाई महिलाहरू आज आएर स्वयं अस्वीकार गर्नेदेखि र आवाज उठाउने काम गरिरहेका छन् ।

यो गणतान्त्रिक मुलुकको पक्ष हो । यद्यपि अहिलेको युगमा आएर पनि महिलाहरू दिनहुँ जसो हिंसामा परिरहेका छन्, किन त ? कारण कोट्याउँदै जाँदा आर्थिक कारणलाई प्रमुख मानिँदै आएको छ । जब महिला, आर्थिक रुपमा बलियो हुने गर्छन् ती महिलाले कसैको हेपाई र हिंसा खेप्नु पर्दैन । आर्थिक रुपमा बलियो हुने महिला माथि हिंसा र हेपाई पनि कम हुने गरेको  विभिन्न अनुसन्धानले देखाइसकेको छन् ।

हाम्रो जस्तो  पितृसत्तात्मक समाजमा आर्थिक रूपले महिला भन्दा पुरुष नै बढी बलिया रहँदै आएका छन् । घर, जग्गा धन सम्पत्ति सबै पुरुषकै वर्चस्वमा रहने गरेको छन् । त्यसैले बलियोले निर्धोलाई हेपेजस्तै आर्थिक रूपमा सम्पन्नले केही नभएको व्यक्तिलाई हेप्दछ र सम्पन्न व्यक्तिले केही नहुनेलाई जानी नजानी बोलीबाट या त व्यवहारबाट होस् हिंसा गरिरहेकै हुन्छन् ।    

 छोराले कमाउनु पर्छ भन्ने उक्ति अब छोरीले पनि कमाउनै पर्छ आफ्नो खुट्टामा उभिएर मात्र बिहे गरिदिनु पर्छ भन्ने मान्यता विकास गरिनुपर्छ । आफ्नो खुट्टामा उभिएकी महिलालाई जागिरबाट नटुटाउने प्रण र सर्त घरपरिवारले  स्वीकार गरिनुपर्छ । घरको सम्पूर्ण बोझ र जिम्मेवारी महिलालाई बोकाउने  अनि महिला स्वतन्त्र हुन सक्दिनन् अनि कसरी समाज र देश निर्माणको कुरा गर्न सकिन्छ ? अनि कसरी रुपैयाँ कमाएर आर्थिक रूपले सशक्त बन्न सक्छन् ? कुरा गम्भीर छैन र ? ।

सानो उदाहरण प्रस्तुत गर्ने अनुमति चाहन्छु । घरमा दुई भाइ छोरा र दुई बहिनी छोरी छन् । दुई भाइ छोरा र एक बहिनी छोरीले कमाउँछन् भने एउटी छोरीले एक रुपैयाँ पनि कमाउँदिनन् । कमाउने दुई भाइ छोरा र एक बहिनी छोरी मध्ये, त्यसमा पनि बढी रुपैयाँ कसले कमाउँछ घरमा उसकै चुरीफुरी बढी हुने गर्छ । अर्थात् बढी कमाउनेको कुरा नै घरमा बढी लागू हुने गर्छ । बढी कमाउने छोरालाई घरमा सम्मान र इज्जत बढी नै मिल्ने गर्छ । आम्दानी अर्थात् मान्छेले गर्ने कमाई यहाँ किन उल्लेख गरिएको हो भने आम्दानी, हिंसासँग जोडिएको विषय हो ।हाम्रा महिला दिदीबहिनीहरू आफ्नो घर बसाउनका लागि आफूले घरको काम थेगेर श्रीमानलाई काममा पठाउने गर्छन् ।  श्रीमानको करियर नविग्रि‌ओस  भनेर कहिल्यै कुनै खालको दखल पुर्‍याउँदैनन् फेरी पनि आफ्नै श्रीमानबाट  तीनै हिंसामा परिरहेका हुन्छन् । एक तथ्याङ्क अनुसार प्रतिदिन १० जना महिला हिंसाको सिकार बन्ने गरेका छन्  नेपालमा । 

कमाइधमाई गर्ने महिलाको कुरा नै बेग्लै हुन्छ । ती महिलाहरू हेपिएर कदापि बस्नु पर्दैन । माइतीमा रहँदा पनि दाजुभाइ जतिकै इज्जत पाउँछन् । बिहे भएर श्रीमानको घर गएपछि पनि कमाई गर्ने बुहारीलाई सासू ससुरा, नन्द आमाजू,  देवर जेठाजु कसैले पनि हेप्न सक्दैनन् । उल्टो घर खर्चमा समेत बुहारीको आम्दानीको अपेक्षा राख्न थाल्दछन् । तर जे होस् महिला माथि हिंसा हुन नदिन भए पनि महिला आफैँ आत्मनिर्भर हुनु  भने जरुरी छ । श्रीमानले महिनामा १ लाख दिएको रुपैयाँ भन्दा आफैँले महिनामा १० हजार कमाउने रुपैयाँमा १ लाखको भन्दा बढी तागत, सन्तुष्टि, आत्मसम्मान र आत्मविश्वास हुन्छ । 

अब कुरा आउँछ, महिला आफ्नै खुट्टामा उभिन के गर्ने त ? जागिर खोज्यो नेतालाई नचिनी पाइँदैन, भनसुन नगरी पाइँदैन, आफ्नो मान्छे नभई जागिर पाउँला भन्ने नै छैन । हातमा अरु केही सिप पनि छैन । धेरै महिलाबाट आउने उत्तर यही नै हो । कत्ति महिलाले त सानोमा पढ्न पनि पाएका हुँदैनन् । त्यसैले कतिको पढाई बिचमै टुटेको पनि हुन्छ । यस्ता महिलाहरूले पढाई नै आत्मनिर्भरको लागि बाधक ठान्ने गरेका छन् । 

आफ्नो खुट्टामा उभिन अथवा भनौँ आत्मनिर्भर हुन पढ्नै पर्छ भन्ने  छैन । बस् इच्छा शक्ति भने अति आवश्यक छ । म कसैको कमाई खाँदिन, आफ्नो खर्च आफैँ जुटाउँछु भन्ने अठोट हुनु पर्छ अनि काम, ठुलो र सानो भन्ने पनि हुँदैन । आफूले गर्न सक्ने काम गर्न लाज मान्नु पनि हुँदैन । यस्तो काम गर्दा मलाई फलानाले के भन्लान् कि ! ढिस्कानाले के भन्लान् कि ! भन्ने कुरा सर्व प्रथम महिलाले हटाउनु जरुरी छ ।  हामी महिलाको घरमा अत्यन्त ठुलो जिम्मेवारी हुने गर्छ । तर महिलाले निर्वाह गरेको जिम्मेवारीलाई प्रशंसा गर्ने र धन्यवाद दिने काम पितृसत्तात्मक समाजले गर्दैन त्यो हामी सबैलाई थाहा भएकै र भोगेकै  कुरा हो । 

यदि श्रीमानले रक्सी खाएर दिनहुँ राती कुट्छ भने आफ्नो खुट्टामा आत्मनिर्भर महिलाले श्रीमानले गर्ने हिंसाको प्रतिकार गर्न सक्षम हुन्छन् ।  कुट्ने श्रीमानसँग सँगै बस्न महिला बाध्य हुनु  नपर्ने अवस्था हुन्छ । आफ्नै खुट्टामा उभिन सक्ने भएपछि महिलामा पनि आँट र स्वाभिमान आउँछ । हैन भने रातो दिन हिंसा खेप्न बाध्य हुनुको विकल्प पनि हुँदैन । छोराले कमाउनु पर्छ भन्ने उक्ति अब छोरीले पनि कमाउनै पर्छ आफ्नो खुट्टामा उभिएर मात्र बिहे गरिदिनु पर्छ भन्ने मान्यता विकास गरिनुपर्छ । आफ्नो खुट्टामा उभिएकी महिलालाई जागिरबाट नटुटाउने प्रण र सर्त घरपरिवारले  स्वीकार गरिनुपर्छ । घरको सम्पूर्ण बोझ र जिम्मेवारी महिलालाई बोकाउने  अनि महिला स्वतन्त्र हुन सक्दिनन् अनि कसरी समाज र देश निर्माणको कुरा गर्न सकिन्छ ? अनि कसरी रुपैयाँ कमाएर आर्थिक रूपले सशक्त बन्न सक्छन् ? कुरा गम्भीर छैन र ? ।

पढे लेखेर मात्र केही काम गर्न सकिन्छ भन्ने भ्रमबाट महिला पनि मुक्त हुन जरुरी छ । हामी महिलाको हातमा यति धेरै सिप छन् कि वर्णन गरी साध्य छैन । कुरा यत्ति हो कि महिलाको हातमा भएको सिपलाई बजारीकरण गर्न महिलाले नजान्दा समस्या भएको हो । आफ्नो आमाले खाना पकाएको देख्दादेख्दै धेरै महिलाले खाना पकाउन नसिकीकन यत्तिकै खाना बनाउन जानेका हुन्छन् । बजारमा खानाको माग बढ्दो छ, अहिले त यस्तो भइसक्यो कि छोराछोरी सबै विदेश । नेपालमा बुढाबुढी मात्र । वृद्ध अवस्थामा खाना पकाएर खान गाह्रो नै हुने गर्दछ । दाल भात तरकारी पकाएर यस्ता बुढाबुढी भएका घरमा पुर्‍याउन सके पनि आम्दानीको बाटो राम्रो हुन सक्छ । घर सफा गर्ने काम पनि प्रमुख काम हो । मान्छेलाई घर सफा राख्न हम्मे हम्मे  परिरहेको हुन्छ ।  यसलाई हामी किन व्यवसायीकरण नगर्ने ?  धेरै महिलाहरूले गरिरहनु पनि भएको छ, गुन्द्रुक, मस्यौरा, सेल रोटी अचार जस्ता अनेकौँ परिकार बनाएर विक्री वितरण गर्न सकिन्छ। महिलाले बजार मात्र खोज्न सक्यो भने महिलाका हातमा हजारौँ सिप छन् ।

श्रीमानको कमाई खाएको छ भन्दैमा हिंसा खेपेर किन बस्ने ? लौ है छनौट महिलाकै हातमा छ । महिलाले हिंसा खेप्ने कि आत्मनिर्भर बन्ने ? सम्पूर्ण समस्या बताएर श्रीमानसँग भीख मागे जस्तो गरी रुपैयाँ माग्ने कि, आफैँ कमाएर आफ्नो कमाइमा सानले जीवन बिताउने निर्णय आफ्नै हो ।  महिला स्वयं आफ्नो खुट्टामा उभिने प्रयास गरौँ तः महिलाले आफैँले कमाएको रुपैयाँमा तागत, सन्तुष्टी, आत्मसम्मान र आत्मविश्वास कति हुन्छ ।