दसौँ अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सव मङ्सिर १० देखि १३ सम्मा, २८ वृतचित्रहरुको प्रदर्शन गरिने

दसौँ अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सव मङ्सिर १० देखि १३ सम्मा, २८ वृतचित्रहरुको प्रदर्शन गरिने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर ९, २०७७

काठमाडौँ ।  नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजना नेपालमा साङ्गीतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले  आगामी २५ देखि २८ नोभेम्बर (२०७७ मङ्सिर १० देखि १३ गते) सम्म Music Museum of Nepal को अनलाइनमा युट्युब https://www.youtube.com/channel/UCm3rzLekXpplyr9Rr4nDuwQ  मार्फत 'जीवनको लागि सङ्गीत र बाँच्नको लागि सङ्गीत' भन्ने नाराका साथ ४ दिने दसौँ अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सव आयोजना गरिने  सङ्ग्रहालयले जानकारी दिएको छ । 

  नेपाली लोकबाजा सङ्ग्रहालयले २०७७ मङ्सिर ८ गते एक प्रेस विज्ञप्ति जारी गरी उपरोक्त कुराको जानकारी  गराएको हो । विज्ञप्तिमा  भनिएको छ 'हाम्रा अमूल्य अमूर्त सम्पदाहरू लोकगीत, लोकसङ्गीत, लोकबाजा लोकनाच, लोकसंस्कृति, लोक परम्परा र लोक जीवनका विविध पक्षहरूको अध्ययन अनुसन्धान र प्रचार–प्रसार गर्न लोक सङ्गीत फिल्म महोत्सवको मुख्य उद्देश्य रही आएको छ । 

साथै विश्वका विभिन्न राष्ट्रहरूले आ–आफ्ना मौलिक लोक संस्कृतिको अध्ययन अनुसन्धान र संरक्षणको लागि के–कस्ता कार्यहरू गरिरहेका छन्, मौलिक संस्कृति संरक्षण गर्न के कस्ता कार्य गर्नु पर्ने रहेछ भन्ने अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गरी, हाम्रा अभौतिक साङ्गीतिक सम्पदाहरूलाई कसरी व्यवहारिक रुपमा संरक्षण, संवर्धन तथा विश्वव्यापी प्रचार प्रसार गर्ने भन्ने विषय समेत यस महोत्सवको उद्देश्य रहेको  समेत उल्लेख गरिएको छ ।

सङ्ग्रहालयले दिएको जानकारी अनुसार  यस वर्षको दसौँ अन्तर्राष्ट्रिय लोक सङ्गीत चलचित्र महोत्सव कोभिड १९ को महामारीमा दिवङ्गत हुनु भएका सम्पूर्ण ज्ञात तथा अज्ञात संगीतकर्मीहरुको लोक सङ्गीत प्रेम र जीवनभरको योगदानको सम्मान स्वरूप वहाँहरूको नाममा समर्पण गरिएको छ । मङ्सिर १० गतेको दिन साँझ काठमाडौँको  त्रिपुरेश्वर स्थित महादेव मन्दिरमा १०८ वटा दियो प्रज्वलन गरेर दिवङ्गत आत्माहरूको सम्मान समेत गरिने छ ।

 दैनिक ११ बजे देखि ४ बजेसम्म दुई सो प्रर्दशन गरिने यस महोत्सवमा विभिन्न देशका लोक सङ्गीत संस्कृति, जीवनशैली, सम्बन्धी वृत्तचित्रहरुले भाग लिएकोमा आमन्त्रित, अप्रतियोगी, र प्रतियोगी गरी २४ वटा देशका २८ वृतचित्रहरुको प्रदर्शन गरिने कार्यक्रम रहेको छ  । गतका वर्षहरूमा जस्तै यस पटक पनि विगत नौ दशक देखि अविच्छिन्न रुपमा परम्परागत नेवारी दापा सङ्गीत संस्कृतिको संरक्षण संवर्द्धन र प्रवर्धनमा लागिरहनु भएका १०२ वर्षीय वरिष्ठ सङ्गीत शताब्दी पुरुष म्यें गुरु  रामलाल महर्जनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड समर्पण गरिने छ ।

सञ्चार तथा प्रविधिको माध्यमबाट नेपालका बढी भन्दा बढी युवाहरूलाई लोक सङ्गीत र संस्कृति प्रति आकर्षित गराउने उद्देश्यले यस चलचित्र महोत्सवको सुरुवात गरिएको नेपाली लोकबाजा सङ्ग्रहालयका सचिव  विजय परियारले जानकारी दिनु भएको छ ।