कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर १०, २०७७

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो । याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ विद्यार्थी तथा पाँच वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरिएको छ । दुई जना जिल्लाबाहिर सिफारिस गरिएकालाई समेत उक्त सामग्री प्रदान गरिएको छ ।
 
छपन्न कोरोना सङ्क्रमितलाई कम्बल, स्यानिटाइजर, मास्क, पञ्जा, थर्मोमिटर, जीवनजललगायतका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो । साथै कोरोना सङ्क्रमित दुई विद्यालयका ४९ बालबालिकालाई होम आइसोलेसनको अवधिभर बस्दा दिक्क नहोस् भनेर मनोरञ्जनका लागि खेलकूदका विभिन्न सामग्रीसमेत सहयोग गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
 
यस्तै युनिसेफले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामग्रीसमेत निःशुल्क सहयोग गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल दोर्जे लामाले जानकारी दिनुभयो । बर्थिङ सेन्टरका लागि १०० न्यानो झोला वितरण गरिएको छ । कोभिडलक्षित सामग्री २१६, जीवनजल एक हजार प्याकेट, बालबालिकालाई खेलौना छ प्याकेट र कोरोना सङ्क्रमितलाई ६० वटा कम्बल निःशुल्क सहयोग गरिएको हो ।
 
हिमालयन बाल होस्टलमा बालबालिका र कर्मचारी गरी ३२, कैलाश मानसरोवर चिल्डे«न होस्टलमा एक र धार्मिक गुम्बा विद्यालयका १९ जना गरी ५२ सक्रिय सङ्क्रमित छन् । चार शिक्षक कर्मचारी कोरोना सङ्क्रमित छन् भने अन्य सबै कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रछात्रा सङ्क्रमित छन् । अहिले उनीहरु सबैको अवस्था सामान्य हुनुका साथै जिल्ला अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको निगरानीमा रहेको ल्याब टेक्निसियन बलिराज भण्डारीले जानकारी दिनुभयो ।