राजस्थानलाई हराउँदै कोलकाता शीर्षमा

राजस्थानलाई हराउँदै कोलकाता शीर्षमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २५, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

आइतबार राती भएको खेलमा राजस्थान रोयल्सलाई पराजित गरेसँगै कोलकाताले दुई स्थान सुधार गरेको हो । यसअघि कोलकाता अंक तालिकाको तेस्रो स्थानमा थियो । 

आइतबार राती भएको खेलमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १३९ रनको सामान्य स्कोर खडा गरेको थियो । राजस्थानले आक्रामक ब्याटिङ गर्न नसकेपछि टिमले गतिलो योगफल बनाउन सकेन । उसका लागि स्टिभन स्मिथले ५९ बलमा अभिजित ७३ रन जोडे । यस्तै जोस बटलरले ३४ बलमा ३७ रन जोडे । कप्तान अजिंक्या रहाने ५ रन र राहुल त्रिपाटी ६ रनमा आउट भएका थिए ।

कोलकाताका हेरी गुन्नीले बटलर र त्रिपाटीको विकेट लिए । रहानेको विकेट प्रसिद कृष्णाले लिए । 

१४० रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १३.५ ओभरमै लक्ष्य भेटायो । प्रारम्भिक ब्याट्सम्यान क्रिस लिन र सुनिल नारायणले आक्रामक ब्याटिङ गरेपछि कोलकाताले दुई विकेट गुमाएर लक्ष्य भेटाएको हो । लिनले ३२ बलमा ५० र नारायणले २५ बलमा ४७ रनको पारी खेले । यस्तै, रविन उथप्पाले १६ बलमा २६ रनको योगदान दिए । 

कोलकाताको दुई विकेट श्रेयस गोपालले लिए ।