पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरीमा पर्यटक बढे

पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरीमा पर्यटक बढे

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर १०, २०७७

उदयपुर । कोभिड–१९ को कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको छ । भाइटीकापछि दैनिक रौता क्षेत्रमा पर्यटक बढेर अहिले दैनिक २०० हाराहारी आउने गरेको रौता होमस्टेका सदस्य तथा होटल व्यवसायी राजबहादुर मगरले बताउनुभएको छ ।

होटेल सञ्चालक खड्गकुमार राईका अनुसार, अहिले दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको र दैनिक उपस्थिति भएकामध्ये ५० प्रतिशत पर्यटक रौतामा नै बास बस्ने गरेको बताउनुभयो । सात–आठ महिनासम्म बन्द रौताका होमस्टे तथा होटल अहिले पर्यटकको उपस्थितिसँगै राम्ररी चल्न थालेको होटल सञ्चालिका अनुराधा मगर बताउनुहुन्छ ।पर्यटक बढ्दै गएकोबारे रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का यसो भन्नुहुन्छ, 'कोभिड सङ्क्रमणको प्रभाव अहिलेसम्म यस क्षेत्रमा छैन, लकडाउन खोलिएको छ भने हिउँद लागेसँगै अब रौता क्षेत्रबाट धेरै क्षेत्रका रमणीय दृश्य देखिने हुनाले पनि तिहारलगत्तै पर्यटक बढीरहेका छन् ।'

होमस्टे, होटेलदेखि सडक र बिजुलीसम्म व्यवस्था भइरहेकाले रौता क्षेत्र पर्यटकका लागि जिल्लाकै महत्वपूर्ण धार्मिक र सुन्दर पर्यटकस्थल बन्दै गएको समेत गाउँपालिकाका अध्यक्ष खड्काले बताउनुभयो ।

रौतापोखरी र पञ्चकन्या देवीको मन्दिर दर्शन, पूजा आराधनासाथै यहाँबाट देखिने मनोरम दृश्यका लागि पर्यटक आउने गरेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताउनुभयो । हिउँद लागेसँगै मौसम सफा हुने र चारैतिरको रमणीय दृश्य रौता क्षेत्रबाट देख्न सकिने हुनाले पनि धेरै पर्यटक यस क्षेत्रमा आउने गरेको वडाध्यक्ष राई बताउनुहुन्छ ।

समुद्र सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा रहेको रौता क्षेत्रबाट सगरमाथा, आमादब्लाम, ल्होत्से, चोयु, कञ्चनजङ्घा, अरुणबरुण क्षेत्रसहित आठवटा हिमशृङ्खला देख्न सकिने रौताका स्थानीय बमप्रसाद तिम्सिना बताउनुहुन्छ । यस्तै दक्षिणतिर तराईका मिथिला प्रदेश जनकपुर, कमला नदी, सिरहा, सप्तरी, सप्तकोशी नदी, सुनसरी, इटहरीसहितका दृश्य देख्न सकिन्छ ।

रौता क्षेत्रमा मुख्य गरेर नेपालको पूर्वी क्षेत्रको मोरङ, झापा, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाहीसहित उदयपुर, सिन्धुली क्षेत्रका पर्यटकको धेरै आउने होमस्टे सञ्चालक बुद्धिमान मगरले बताउनुभयो ।