राजधानीका तरकारी किसानलाई ढुवानीको सास्ती, बसले तरकारी बोक्न नमानेपछि बोकेरै लैजान बाध्य

राजधानीका तरकारी किसानलाई ढुवानीको सास्ती, बसले तरकारी बोक्न नमानेपछि बोकेरै लैजान बाध्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २५, २०७५

काठमाडौं । अघिल्लो आइतबार साँखुकी रमिला राई तरकारीका तीन झोला बोकेर जोरपाटीस्थित तरकारी बजार जान हिँडिन् । बस चढ्न नारायणटार पुगेकी उनलाई गाडी चढ्न नै एक घन्टा कुर्नुपर्यो । 

‘गाडी नरोकिएपछि एक घन्टासम्म रोडमा कुर्नुपर्यो,’ उनले दुखेसो सुनाइन्, ‘खाली गाडी पनि रोकिएनन् ।’ 

गाडीले रोक्न नमान्दा तरकारी किसानलाई ढुवानीमा समस्या भएको उनको भनाइ छ । ‘तरकारीको भाडा पनि छुट्टै दिँदा पनि सहचालकले लैजानै मान्दैनन्, यसले तरकारी किसानलाई समस्या भएको छ,’ उनले भनिन् । 

साँखु रुटको गाडीले नरोक्ने गरेको उनको दुखेसो छ । 

बसले लैजान नमान्दा किसानलाई समस्या भएको उनको भनाइ छ । ‘एक हजारको तरकारी बेच्न ट्याक्सीमा पनि जान सकिँदैन,’ उनले पीडा सुनाइन् । 

तरकारी बोकेका यात्रुलाई बसले लैजान नमान्दा पछिल्लो समय बारीमा ग्राहक आउन छाडेको उनको भनाइ छ । ‘पहिले तरकारी किन्न बारीमै ग्राहक आउँथे । तर, अहिले आउन छाडेका छन्,’ उनले सुनाइन् । 

बसपार्क पुग्दा पनि तरकारी बोकेका यात्रुलाई सहचालकले लैजान नमान्ने उनको दुखेसो छ । ‘तरकारी बोेकेर बसपार्क पुग्दा पनि सहचालकले लैजान मान्दैनन्,’ नारायणटारका मति तामाङले दुखेसो पोखे, ‘सहचालकले लैजानै नमानेपछि कहिलेकाहीँ त बोकेरै बजार पुर्याएको छु ।’ 

यी प्रतिनिधि उदाहरण मात्रै हुन्, तरकारी बोकेर बसमा यात्रा गर्न नपाउँदा तरकारी किसान र व्यापारी मर्कामा परेका छन् । बसले नरोकेपछि कहिलेकाहीँ तरकारी बोकेरै पुर्याउनुपरेको उनीहरूको दुखेसो छ । तर, साँखु बस व्यवसायी समिति अध्यक्ष गोविन्द श्रेष्ठ जोसुकै यात्रुका लागि पनि बस रोक्ने गरेको दाबी गर्छन् । ‘यात्रुलाई सेवा दिन नै हामीले बस सञ्चालन गरेका हौं । त्यसैले यात्रुलाई नरोक्ने त कुरै आउँदैन,’ उनले भने । तर, धेरै तरकारी भने गाडीमा बोक्न नमिल्ने उनको भनाइ छ ।