विद्यालयमा भूकम्प मापनयन्त्र जडान

विद्यालयमा भूकम्प मापनयन्त्र जडान

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर १०, २०७७

बाग्लुङ । विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान दिन यहाँको एक विद्यालयले भूकम्प मापनयन्त्र जडान गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेकोे शान्ति माध्यामिक विद्यालय परिसरमा भूकम्प मापनयन्त्र जडान गरेको हो ।
 
जैमिनी नगरपालिकाको चालू आर्थिक वर्षको कार्यक्रम अनुसार एक लाख ५० हजार रुपैयाँको लागतमा सो यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिनुभयो । 'व्यवहारिक शिक्षाको खाँचो छ, भूकम्पको विषयमा हाम्रा विद्यार्थी जानकार हुन आवश्यक छ', आचार्यले भन्नुभयो, 'भूकम्पसम्बन्धी शिक्षा, जनचेतना तथा सचेतना दिनको लागि यन्त्र उपयोगी हुने छ ।'

विद्यालयमा जडान भएको यन्त्रले २ दशमलव ५ रेक्टर स्केलमाथिको भूकम्पको मापन गर्नसक्ने उहाँले जानकारी दिनुभयो । 'सामान्य भूकम्पको धक्काको विषयमा विद्यालयमा नै जानकारी हुन्छ, जसका कारण नगरवासी सबैले सूचना पाउने माध्यम बन्छ', उहाँले भन्नुभयो, 'स्थानीयस्तरको २ दशमलव ५ माथि र चार रेक्टर स्केलभन्दा माथि नेपालभर गएका भूकम्पको जानकारी यन्त्रले दिन सक्छ ।'

 नगरपालिकाले शान्ति माध्यमिक विद्यालय आसपासका अन्य विद्यालयका विद्यार्थीको लागि समेत यो सिकाइ केन्द्र बनाउनुपर्ने भनेको छ । सात रेक्टर स्केलसम्मका विश्वभरका भूकम्पीय गतिविधि पनि यन्त्रले मापन गर्ने आचार्यले बताउनुभयो ।