'लघुताभास,दरिद्र मानसिकता तथा अनुसन्धानको कमीले आयुर्वेदबाट पर्याप्त लाभ लिन सकिएको छैन’

'लघुताभास,दरिद्र मानसिकता तथा अनुसन्धानको कमीले आयुर्वेदबाट पर्याप्त लाभ लिन सकिएको छैन’

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर ११, २०७७

डा‍. प्रदीप केसी नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक हुनुहुन्छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण सम्पूर्ण विश्व नै आक्रान्त बनिरहेको छ । करोडौँ सङ्क्रमित भएका छन्, लाखौँले मृत्युवरण गर्नु परेको छ भने हजारौँको रोजीरोटी खोसिएको अवस्था छ । कोभिड–१९ का कारण भन्दा पनि काम र माम नभएका कारण मानिस मृत्युको मुखमा पुग्नु पर्ने अवस्था सृजना भएको छ ।  यसैबीचमा यो भाइरस सङ्क्रमण नयाँ भएको र औषधि तथा रोकथामका खास ठोस उपाय पत्ता नलागिसकेको अवस्थामा हाम्रो पुरानो आयुर्वेदिक पद्धति यसमा कारगर देखिएको छ । आयुर्वेदीय औषधि सेवन पश्चात् कोभिड–१९ को सङ्क्रमण कम भएको र सङ्क्रमित पनि बिस्तारै निको भई घर फर्किरहेको अवस्थामा नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक तथा डा‍. प्रदीप केसीसँग आयुर्वेदको वर्तमान कोभिड–१९ प्रतिको उपचार व्यवस्था, औषधि तथा अन्य समसामयिक अवस्थाको बारेमा लोकसंवाद डटकमले एक अन्तर्मन्थन गरेको थियो प्रस्तुत छ उक्त अन्तर्मन्थनको  सार संक्षेप । 

हालको कोभिड–१९ सङ्क्रमणको समयमा पुनः एक पटक आयुर्वेदतर्फ आकर्षण देखिएको छ, के साँच्चै यसले कोभिड सङ्क्रमण ठिक हुन्छ हो  ? 

प्रकृतिमा यस्ता भाइरल सङ्क्रमणहरू महामारीका रुपमा पहिला पनि आएका थिए र भविष्यमा पनि आउन सक्छन् । यस्ता भाइरल प्रकोपले शरीर कमजोर तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला बढी सङ्क्रमण हुने अवस्था हो ।  तर, यस्तो अवस्थामा प्रकृतिले हामीलाई पहिले नै यसका उपचारमा प्रयोग हुने विभिन्न औषधीय गुण भएका वनस्पति तथा जडीबुटी प्रदान गरिसकेको छ । जसलाई आयुर्वेदले वर्षौँको अध्ययन, अनुभव तथा प्रयोगका माध्यमबाट प्रमाणित गरिदिएको छ । महामारीले यसको उपादेयता बढाएको मात्रै हो । 

हाल आयुर्वेदमा प्रयोग हुने औषधि सङ्क्रमण निको पार्ने भन्दा पनि रोग प्रतिरोधात्मक क्षमता बढाई सङ्क्रमण हुनै नदिने र भइहालेमा पनि त्यसको असर कम भन्दा कम गर्ने हो  ।

एलोप्याथीको कुरा गर्दा यस्ता सङ्क्रमणको औषधि पहिले नै बन्ने कुरा भएन । र, औषधि हामीले सोचेजस्तो आजको भोलि नै उत्पादन हुने चिज पनि होइन । यसका लागि वर्षौँको अध्ययन अनुभव र लगानी पनि चाहिन्छ । 

र, प्रकृतिमा कुनै पनि चिजले केही न केही औषधीय गुण बोकेर आएको हुन्छ र त्यसको प्रयोग महामारीबाट जोगिनका लागि गर्ने हो । सकभर सङ्क्रमण हुन नदिने, भइहालेमा पनि सङ्क्रमण फैलिन नदिनका लागि यस्ता चिजको प्रयोग गर्ने हो । यस कारण पनि आयुर्वेदिक उपचार यस्ता महामारीमा अत्यन्तै उपलब्धिमूलक हुने गर्छन् । 

यति हुँदाहुँदै हामीले यसको विश्वसनीयता किन वृद्धि गर्न सकेनौँ ?

यसको मुख्य कारण भनेको हाम्रो मानसिकता हो । हामीले हेर्दा देख्दा विदेशी जीवनशैली धेरै देखेका छौँ । अनि उनीहरूले हरेक कुरा प्रचारात्मक ढङ्गले अघि ल्याउँछन् । यसले गर्दा विदेशीले जे भने पनि हो जस्तो लाग्छ । आफ्ना कुरा ठिक हो भन्ने लाग्दैन । र, यसको वैज्ञानिक आधार सहितको कारण पेस गर्न सक्दैनौँ । त्यसको मुख्य कारण भनेको अनुसन्धान नहुनु हो । अनुसन्धानका लागि ठुलो धनराशि चाहिन्छ । जो हाम्रो जस्तो देशले उपलब्ध गराउन सक्दैन । यस कारण पनि यसको विश्वसनीयतामा कमी आएको हो । 

अहिले हामी कोभिड–१९ को भ्याक्सिनको पछाडि लाग्नुको कारण पनि यही हो कि भ्याक्सिनले चाहिँ लगाउने बित्तिकै ठिक हुने र हाम्रा औषधिले ठिक गर्दैन भन्ने मानसिकता नै हो । 

यो मानसिकतामा हामी कसरी परिवर्तन ल्याउन सक्छौँ त ?

सबैभन्दा पहिले हामीले आयुर्वेदलाई पनि अनुसन्धानको दायरामा ल्याउनु सक्नु पर्छ जसले गर्दा आम मानिसमा यो अनुसन्धान पछि निर्माण भएको हो भन्ने मानसिकताको विकास हुन जान्छ र उसले विश्वासका साथ यसको उपयोग गर्न थाल्छ । विश्वासका साथ प्रयोग गर्ने बित्तिकै यसले पनि सकारात्मक परिणाम देखाउन सुरु गर्छ । 

अर्को भनेको यसमा प्रविधिको प्रयोगलाई जोड दिने । तीतेपाती शरीरमा दल्दा लामखुट्टेले टोक्दैन भन्ने हामी आम मानिसलाई थाहा भएको कुरा हो । तर, हामीले यसमा प्रविधिको प्रयोग गर्न सकेनौँ । र, आफूमा भएको ज्ञान आफूमा नै सीमित हुन गयो । तर, अन्य देशले भने यसबाटै मलेरियाको औषधि  बनाए । 

यसमा मुख्यतया राज्यको नीति के हो भन्ने कुरामा भर पर्छ । अब गाँस, बास र कपास नै प्रमुख समस्या भएको हाम्रो जस्तो मुलुकमा राज्यले अनुसन्धानमा खर्च सक्दैन यस कारण पनि हामीले आम मानसिकतामा परिवर्तन गर्न सकेका छैनौँ । 

पूर्वीय मान्यतामा विश्वास राख्ने चीन, जापान, कोरिया आदि देशमा आयुर्वेदको एकदमै धेरै विकास भएको छ । उनीहरू आफू आयुर्वेदको औषधि खाएर हामी जस्तो जडीबुटी भएको राष्ट्रलाई भ्याक्सिन तथा पिपिई लगायत अन्य सामग्री बेचिरहेको छ । उनीहरू जडीबुटी तथा एलोप्याथीक दुबै औषधि बेचेर पैसा कमाइरहेका छन् । तर, हामी भने आफ्नो मानसिकता परिवर्तन गर्न नसकेका कारण आफ्नो घर आँगनमा भएको चिज नचिनेर अरूले कहिले औषधि देला भनेर कुरेर बसिरहेका छौँ, यो विडम्बना हो । 

लक्षण सहितको बिरामी हाम्रोमा आउने हुँदैन किनकि त्यस्ता खालका बिरामीलाई सरकारले अन्यत्रका कोभिड अस्पतालमा जान बताइरहेको छ । र, कोही लक्षण नभएका वा यसको रोकथामको लागि आउनेहरूलाई भने ज्येष्ठवासादी चूर्णको मात्रा घटबढ गरेर दिने गरेका छौँ । रुघाखोकी आदि लागेको छ भने दिनको तीन, चार पटक सेवन गर्न भनेका छौँ ।

नरदेवी चिकित्सालयमा कोही कोभिड–१९ का बिरामी आए भने चिकित्सालयले कस्तो उपचार वा औषधिको व्यवस्था गरेको छ ?

सुरुमा यसलाई क्वारेनटाइन, आइसोलेसन अनि उपचारको एउटा छुट्टै कक्ष बनाउने भन्ने एउटा मापदण्ड तयार गरिएको थियो । तर, घना बस्तीको भएको हुनाले त्यो सबै सम्भव भएन । त्यस कारण यसलाई कोभिड अस्पताल बनाइएन । 

अब कोभिडका लागि के गर्न सकिन्छ भन्दा आफूसँग भएको ज्ञान र विज्ञान दुवैको प्रयोग गर्ने विचार हामीले गर्‍यौँ । यसमा हामीले समयद्वारा प्रमाणित, प्रभावकारी साथै सहज रुपमा बनाउन र वितरण गर्न पनि सकियोस् भन्ने कुरामा विचार गरेर हामीले पहिलेदेखि मौसमी रुघाखोकीमा प्रयोग हुने तर कसैले वास्ता नगरेको ज्येष्ठवासादी भन्ने एक प्रकारको सिंहदरबार बैद्यखानको उत्पादन थियो । जो स्वादमा तितो तर ज्यादै नै प्रभावकारी औषधि थियो यसलाई हामीले पुर्न उत्पादन गर्ने निधो गर्‍यौं । 

यसको प्रयोग हामी लगायत साथीभाइ र परिवारले पनि गर्‍यौं र यसको सकारात्मक नतिजा आइसकेपछि यसको निःशुल्क वितरण गर्न सुरु गरेका हौँ ।  यसमा प्रयोग भएका केही जडीबुटी ऐन्टी भाइरल छन्, केही एन्टी ट्युसिक, केही नाक बन्द भएको खुलाउने तथा केही ज्वरो कम गर्ने जडीबुटी यसमा रहेका छन् । 

अलि स्वादका लागि आफ्नै प्रकारको जडीबुटी पनि थप गरियो जसले गर्दा सेवन गर्न सकिने भयो । जसलाई भदौ एघार गतेदेखि हामीले निःशुल्क वितरण थाल्यौँ । माग धान्न पनि गाह्रो भएको अवस्था पनि थियो । तर, अहिले भने बिस्तारै तिहार, छठपछिको अवस्थामा भने यो सामान्य देखिएको छ । 

यसलाई  विशेष गरी कोभिडको रोकथाम मूलक औषधिको रुपमा विकास गरिएको हो । र, यो बिहान बेलुका चियाको रुपमा सेवन गर्दा पानीको मात्रा पनि शरीरमा पुग्ने तथा यसमा भएका जडीबुटी पानीमा घुल्न गई यसले कोभिड रोकथामका लागि प्रभावकारी कार्य गर्ने हुँदा हामीले यसलाई अगाडि सारेका हौँ । 

हाम्रो अभिलेख अनुसार अस्पतालमा आएर नै चालीस हजार मान्छेले लगेको देखिन्छ भने अस्पताल, तथा विभिन्न सरकारी निकाय लगायत सङ्घसंस्थामा पनि हामीले वितरण गरेका छौँ । 

कोभिडका सन्दर्भमा कुरा गर्दा के हामीले स्यानिटाइजर नै प्रयोग गर्नुपर्ने हो वा यसको विकल्पमा हामी केही प्रयोग गर्न सक्छौँ ?

यसमा फेरी हाम्रो मूल्यमान्यताको कुरा आउँछ । हामीलाई घ्यू तथा गाउँघरमा उत्पादन हुने तेल खान लाउन नहुने कुरा सिकाइयो । अनि पाम आयल मिसाएको डब्बाका तेल खान सिकाइयो । यसरी हाम्रो मान्यतामा व्यापारिक प्रहार भयो ।  त्यस्तै स्यानिटाइजरको प्रयोग भन्दा निमको तेल लगायत अन्य तेलको प्रयोग स्वास्थ्यको लागि लाभदायक हुन्छ । तेलले भाइरस शरीरमा प्रवेश गर्न नदिन छेकबारको रुपमा काम गर्छ । तर, फेरी व्यापारिक प्रयोगका खातिर हामीलाई स्यानिटाइजर प्रयोगमा जोड दिइयो । यस्ता कुराका बारेमा हामी आफैँ पनि सचेत हुनुपर्छ । 

लक्षण नदेखिएका र देखिएका बिरामी चिकित्सालयमा आए भने उनीहरूको उपचारको प्रक्रिया कस्तो रहन्छ ?

लक्षण सहितको बिरामी हाम्रोमा आउने हुँदैन किनकि त्यस्ता खालका बिरामीलाई सरकारले अन्यत्रका कोभिड अस्पतालमा जान बताइरहेको छ । र, कोही लक्षण नभएका वा यसको रोकथामको लागि आउनेहरूलाई भने ज्येष्ठवासादी चूर्णको मात्रा घटबढ गरेर दिने गरेका छौँ । रुघाखोकी आदि लागेको छ भने दिनको तीन, चार पटक सेवन गर्न भनेका छौँ । तर, यसमा के समस्या देखियो भने आयुर्वेदको औषधि त हो नि भनेर धेरै सेवन गर्दा रक्तचाप न्यून हुने समस्या देखिएकोले यसमा हाल भने रक्तचाप न्यून हुने जडीबुटीको मात्रा कम गर्ने गरिएको छ । 

यसमा मुख्यतया बाह्र वटा जडीबुटी पर्छन् । जसमा तालिसपत्र, नागकेशर, प्रियंगु, दालचिनी, असुरो, सुकुमेल, वंशलोचन, गुडुची, जेठीमधु, पित्तपापडा लगायत छन् । अलि तितो हुने हुनाले गुडुचीको केही भाग कम गरी जेठीमधुको मात्रा वृद्धि गरिएको छ । 

आयुर्वेदमै पनि कोभिड लगायत अन्य रोगका बारेमा समान धारणा देखिँदैन जसका कारण बिरामी अन्यौलता पर्ने गरेको छ, यो किन भइरहेको छ ?

आयुर्वेद भनेको ठुलो विधा हो । यो पनि एक प्रकारले भन्नुपर्दा सनातन हिन्द धर्म जस्तै हो । हिन्द धर्ममा जसरी केही गर्दा पनि हुन्छ र नगर्दा पनि हुन्छ, ठिक त्यसै गरी आयुर्वेदमा पनि पढेर आएका, सिकेर जानेका अनि फुटपाथमा बसेर चिकित्सक भन्दा पनि जान्ने बनेर जीविका चलाइराखेका छन् । अब उनीहरूको आआफ्नै धारणा छ । यो चाहिँ नियमनकारी निकायले नियमन नगरेका कारण यसो भएको हो । यदि नियमनकारी निकायले आफ्नो सक्रियता देखाउने हो भने यो सबै आफैँ हराएर जान्छ । 

डब्लुएचओ लगायतका संस्थाले कोभिडका सन्दर्भमा आज जारी गरेका सूचना तथा सन्देश भोलि ऊ आफैँले खण्डन गरिराखेको हुन्छ जसका कारण मानिसहरू दिग्भ्रमित भैरेका हुन्छन्, यसका लागि हामी के गर्न सक्छौँ ?

पहिलो कुरा भनेको भाइरसको संसारमा आजसम्म कुनै औषधि बनेको छैन । र, भाइरसको अध्ययन भनेको साह्रै सूक्ष्म तहको अध्ययन हो । अनि यो भर्खर देखिएको नयाँ भएका कारण पनि के हो भन्ने बारेमा डब्लुएचओ आफैँमा पनि पूर्ण जानकार छैन । यस कारण पनि उसका सूचना गलत हुन कि भन्ने देखिँदै छ । तर, हाम्रो जस्तो देशले भने सकभर आफ्ना परम्परागत उपचार विधिको प्रयोग गर्ने र गलत सूचना तथा भ्रम फैलन नदिन यसमा नियमनकारी भूमिका निर्वाह गर्ने हो भने धेरै हदसम्म यसबाट हामी सचेत रहँदै बाहिर आउन सक्छौँ । र, अहिलेको आवश्यकता भनेको पनि यही नै हो ।