जीएसएद्वारा बाइडेनको जितलाई स्वीकार : समावेशी समूहसहित राष्ट्रपतिको सत्तारोहरणको तयारी

जीएसएद्वारा बाइडेनको जितलाई स्वीकार : समावेशी समूहसहित राष्ट्रपतिको सत्तारोहरणको तयारी

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ११, २०७७

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आगामी २० जनवरीको मध्यदिनबाट ह्वाइट हाउस प्रवेश गर्ने तयारी  गर्दैछन् । त्यसअघि उनले आफू नेतृत्वको प्रशासनमा रहने केही शक्तिशाली पदहरुमा मनोनयन गरेका छन् । उनले आफ्नो टिममा डेमोक्रेटिक पार्टीका प्रभावशाली नेताहरु, राष्ट्रपतिका पूर्व उम्मेदवारहरु र विज्ञहरु सम्मिलित टोली बनाइरहेका छन् । उनको टोली विगतमा ट्रम्पको प्रशासनभन्दा समावेशी र सबै क्षेत्रका व्यक्तिहरुलाई महत्वपूर्ण स्थान स्थान दिइएको छ । आफ्नो टिम घोषणा गर्दै बाइडनले भनेका छन्, ‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ ।’

गत ३ नोभेम्बरमा भएको निर्वाचनमा राष्ट्रपतिमा पराजित डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणलाई स्वीकार गरेपछि बाइडेनलाई गुप्तचर सूचना प्राप्ति, अन्तरिम प्रशासन सञ्चालन र त्यसका लागि खर्चको व्यवस्था भएको हो । 

सिनेटबाट अनुमोदन भएमा एभ्रिल हेन्स पहिलो महिला डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्स बन्ने छिन् भने ल्याटिन अमेरिकी मुलका अलेजान्द्रो मायोरकासलाई होमल्याण्ड सेक्युरिटीको जिम्मा दिइनेछ । 

बाइडेनले चुनावी अभियानदेखि नै आफू राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकाको गिर्दो शाख पुनः फर्काउने र अमेरिकालाई पुनः एकताबद्ध बनाउने बताउँदै आएका छन् । गृह राज्य डेलावेरमा बाइडनले अमेरिकाका विरोधीहरूसँग भिड्ने र सहयोगीहरूलाई साथ लिने आफ्नो नीति रहने उल्लेख गरेका छन् । यद्यपि अनावश्यक सैनिक द्वन्द्वमा भने नफस्ने उनको भनाइ छ ।

अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी रुपमा देखिएको कोरोना महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदार देशसँगको सहकार्यमा लगाउने बाइडनले बताए । उनले भने, ‘यो समूहले अमेरिका र हाम्रा जनतालाई सुरक्षित राख्ने छ । यो समूहले विश्वको नेतृत्व गर्न अमेरिका फर्किएको प्रतिबिम्बित गर्छ ।’

सन् २००० मा पनि हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो । त्यसबेला अल गोरले मतपरिणामविरुद्ध अदालतमा मुद्दा हालेका थिए । निकै झिनो मतान्तरका कारण उनले मुद्दा हालेपनि अन्ततः सफल हुन सकेनन् र जर्ज बुसले बाजी मारे । जीएसएले औपचारिक रूपमा परिणाम घोषणा नभएपनि सन् २०१६ मा निर्वाचनको भोलिपल्टै ट्रम्पलाई विजेताको मान्यता दिएको थियो । त्यसलगत्तै बाराक ओबामाले भोलिपल्टै ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए । 

बाइडेनको टिम

अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडेनले एक शक्तिशाली टोली निर्माणको अभियान सुरु गरेका छन् । जसमा राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीर्की प्रत्यासी समेत भइसकेकी उपराष्ट्रपति कमला ह्यारिस, सन् २००४ मा राष्ट्रपतिमा पराजित भएका जोन केरी, लामो समयदेखि आफ्नो सल्लाहकार रहेका एन्टोनी ब्लिङ्केनजस्ता प्रभावशाली व्यक्ति समेटिएका छन् । उनको कार्यकालमा पूर्वराष्ट्रपति बाराक ओबामाको पनि पर्दापछिबाट भएपनि सक्रिय सहयोग देखिने भएको छ । 

बाइडन प्रशासनमा विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएका ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने र अन्य देशलाई समेत सहकार्यमा ल्याउनुपर्ने आवश्वकता रहेको बताएका छन् । होमल्यान्ड सेक्युरिटीमा मनोनित क्युबामा जन्मिएका अलेकजान्द्रोे मायोरकास, गुप्तचरको निर्देशकमा एभ्रिल हेन्स, अर्थमन्त्रीमा ज्यानेट येलेनले जिम्मेवारी पाउने गरी बाइडेनले प्रारम्भिक टोली घोषणा गरेका छन् । यद्यपि यी सबैलाई सिनेटको

सुनुवाइ समितिले अनुमोदित गर्नुपर्नेछ । उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा पुनः सामेल हुने कार्यका लागि पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरिएको छ ।

कसरी हुन्छ पद हस्तान्तरण

राष्ट्रपतिमा निर्वाचित भएको व्यक्तिलाई सत्ता हस्तान्तरण गर्ने कार्य निकै महत्वपूर्ण मानिन्छ । यसमा एउटा प्रशासनबाट अर्को प्रशासनलाई महत्त्वपूर्ण सूचना र कर्तव्यहरूको हस्तान्तरण हुन्छ । सरकारी निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) बाइडेनको जितलाई स्वीकार गर्दै सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने भएको छ । यसले नै आगामी प्रशासनलाई सहयोग गर्ने व्यवस्था रहेको छ । यसैले नै नयाँ राष्ट्रपतिमा निर्वाचित व्यक्तिलाई कोष, कार्यालय, प्रविधि र उपकरण सहयोग गर्छ । अमेरिकामा एउटा पदको मात्रै नभएर करिब ४ हजार राजनीतिक पदहरुको पूर्ति गरेर ह्वाइट हाउसलाई गति दिइने भएका कारण लामो अवधि हुन्छ । करिब ११ साताको अवधिमा राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले नयाँ प्रशासन सुरु भएकै दिनदेखि कामलाई गति दिनेगरी योजना निर्वाचन गर्न पर्याप्त समय पाउँछ । 

यस क्रममा कर्मचारी निर्धारण, विषयगत जानकारी प्रदान र राष्ट्रपतिको व्यस्त कार्यतालिकाको व्यवस्थापन गरिन्छ । दैनिक सुरक्षा जानकारी अर्को महत्त्वपूर्ण विषय हो । चुनावअघि सबै प्रमुख राष्ट्रपतीय उम्मेदवारले राष्ट्रिय सुरक्षाबारे केही सूचना पाएका हुन्छन् । तर राष्ट्रपतिमा निर्वाचित भएपछि नियमित र विस्तृत जानकारी उपलब्ध गराइन्छ । बाइडनले पनि अब दैनिक जानकारी पाउन थालेका छन् । जसमा भविष्यमा आउन सक्ने जुनसुकै विषयमा नयाँ प्रशासनलाई तयार राख्ने सुनिश्चितताको निम्ति निश्चित गुप्तचर सूचनाहरू हुन्छन् । 

११ सेप्टेम्बर, सन् २००१ मा भएको आक्रमणबारे छानबिन गर्न गठित आयोगले सन् २००० को चुनावपछि सत्ता हस्तान्तरणमा ढिलाइ हुँदा सो घटना रोक्न नसकिएको सम्भावना औँल्याएको थियो । त्यसबेला जर्ज डब्लु बुस र अलगोरबीच प्रतिस्पर्धा भएको थियो । अल गोर लोकप्रिय मत पाएर पनि राष्ट्रपतिमा पराजित बन्न पुगेका थिए । ह्वाइट हाउसमा राजनीतिक नियुक्ति हुने ४ हजार पदमध्ये १ हजार २ सय पदमा सिनेटको अनुमोदन चाहिन्छ । 

सरकारी अधिकारीहरूसँगको छलफलका साथै हस्तान्तरण समूहले सामान्यतया राष्ट्रपति निर्वाचित र विदेशी नेताहरूबीच संवादको आयोजना गर्न विदेश मन्त्रालयसँग समन्वय गर्छ । हालसम्म बाइडन समूहले अनौपचारिक संयन्त्रमार्फत् सम्पर्क गरिरहेको छ भने अब सरकारी इमेल र सुरक्षति संयन्त्रमा पहुँच हुनेछ ।

राष्ट्रपति निर्वाचित उम्मेमदवारका दम्पतीलाई ह्वाइट हाउसको भ्रमण गराएर उनीहरुको रुची अनुसार त्यहाँको आन्तरिक साजसज्जा गरिन्छ । 

राष्ट्रपतिको पद हस्तान्तरणको काम सामान्यतया जीएसएले नयाँ राष्ट्रपतिलाई पत्र लेखेपछि सुरु हुन्छ । यसवर्ष भने् २३ नोभेम्बरपछि मात्रै यो प्रक्रिया अघि बढेको छ । जीएसएले बाइडनको समूहको निम्ति कोष र अन्य स्रोतहरू उपलब्ध गराउन थालेको छ । 

सत्ता हस्तान्तरण कहिले हुने भन्ने कानुनी प्रावधान अस्पष्ट भएका कारण चुनावी परिणाममा विवाद झिकेर ट्रम्प प्रशासनले प्रक्रिया लम्ब्याउन खोजेको थियो । अमेरिकी कानुनअनुसार जीएसएले ‘स्पष्ट विजेता’ भएपछि हस्तान्तरण प्रक्रिया थाल्नुपर्ने भएपनि मिति निश्चित छैन । 

सन् २००० मा पनि हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो । त्यसबेला अल गोरले मतपरिणामविरुद्ध अदालतमा मुद्दा हालेका थिए । निकै झिनो मतान्तरका कारण उनले मुद्दा हालेपनि अन्ततः सफल हुन सकेनन् र जर्ज बुसले बाजी मारे । जीएसएले औपचारिक रूपमा परिणाम घोषणा नभएपनि सन् २०१६ मा निर्वाचनको भोलिपल्टै ट्रम्पलाई विजेताको मान्यता दिएको थियो । त्यसलगत्तै बाराक ओबामाले भोलिपल्टै ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए । 

सत्ता हस्तान्तरणका क्रममा हुने खर्च सरकारी रकम र निजी कोषबाट व्येहोर्ने गरिन्छ । जीएसएले राष्ट्रपति निर्वाचितलाई मान्यता दिएपछि संघीय कोषबाट करिब ७० लाख डलर प्रदान गरिन्छ । यो रकम समान्यतया राष्ट्रपति निर्वाचितले संकलन गरेको कोषबाट परिपूर्ति गरिन्छ । 

एजेन्सीको सहयोगमा