हाँडीकोटमा पूर्वाधार अभाव

हाँडीकोटमा पूर्वाधार अभाव

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर ११, २०७७

बागलुङ । प्रकृतिको वरदान हाँडीकोट विकासमा भने ठगिएको छ । पूर्वाधार अभावले ओझेलमा छ हाँडीकोटको पर्यटन । निर्माण थालिएका संरचना पनि पर्यटनमैत्री छैनन् । हाँडीकोटको सौन्दर्यमा लिप्त हुने पर्यटक असुविधा देखेर भने खिन्न हुन्छन् ।

जैमिनी नगरपालिकास्थित हाँडीकोट भौतिक पूर्वाधारको पर्खाइमा छ । पर्यटकस्थलमा शौचालयसमेत नभएको स्थिति छ । खानेकुरा र पानी साथमै बोकेर जानुपर्छ । सडक अव्यवस्थित छ । पदमार्ग अपुरो छ । विश्रामस्थल छैन । उकालो चढेका पदयात्री चौरमै सुस्ताउनुपर्छ । 

पूर्वाधार अभावबाट गुज्रे पनि हाँडीकोट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट प्राकृतिक, जैविक एवं ऐतिहासिक हिसाबले समेत महत्वपूर्णस्थल हो । 

स्थानीय सरकार आएपछि पनि हाँडीकोटको मुहार फेरिन सकेको छैन । गुरुयोजना बनाएर काम थाल्ने नगरपालिकाको योजना कागजमै सीमित छ । विस्तृत परियोजना प्रतिवेदन बने पनि त्योअनुसार काम हुन सकेको छैन । हाँडीकोटको विकास र पर्यटन प्रवद्र्धनमा नगरपालिका नै उदासीन छ । लगानी भित्र्याउन सकेको छैन ।

तीन वर्षअघि शुरु भएको पदमार्ग निर्माणको काम अझै अपूर्ण छ । ‘भ्यूटावर’ निर्माणका लागि प्रदेश सरकारबाट आएको रु १० लाखबाट जगसम्म खनिएको छ । व्यक्तिगत लगानीमा बनाउन लागिएको मन्दिर अलपत्र छ । ऐतिहासिक शिव मन्दिर जीर्ण अवस्थामा छ । भुरे÷टाकुरे राज्यका पालामा बनेको दरबारको अवशेष नासिन थालेको छ ।

स्थानीयवासी यम पुनले पछिल्लो समय हाँडीकोटको चर्चा बढे पनि सोहीअनुसार पूर्वाधार विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले हाँडीकोटमा स्थानीय सरकारको ध्यान नै नपुगेको गुनासो गर्नुभयो । “हाँडीकोट पर्यटकीय दृष्टिले आकर्षक गन्तव्य भए पनि पूर्वाधारमा धेरै नै पछि छ”, उहाँले भन्नुभयो ।

हाँडीकोट युवा क्लबका सदस्यसमेत रहनुभएका पुनले पर्यटकका लागि न्यूनतम सुविधासमेत नहुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । सरकारी तवरबाट कुनै पनि निकायको नजर हाँडीकोटमा नपरेको स्थानीयवासीको दुःखेसो छ । बरु गाउँले मिलेर पर्यटन प्रवद्र्धनका लागि गत वर्ष हाँडीकोट महोत्सव गरेका थिए ।