स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव

स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ११, २०७७

मान्म । कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा  सिटामोलसमेत अभाव भएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छाडेकाले औषधिको अभाव भएको स्वास्थ्यचौकीका प्रमुख कमल बमले जानकारी दिनुभयो । 'गाउँपालिकाले २० लाख बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु । यहाँ आइपुगेको छैन', उहाँले भन्नुभयो,' सरकारले निःशुल्क दिने भनेको औषधि पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ ।'

मौसम परिवर्तन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्यचौकीका प्रमुख बमले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्वास्थ्यचौकीको अनुगमन गर्दा औषधि नभएको बताउनुभयो ।

स्वास्थ्यचौकीबाट  ४० प्रकारका औषधि निःशुल्क वितरण हुने सरकारको नीति रहेको छ । निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नुपरेको स्थानीयवासी कालीबहादुर बमले बताउनुभयो ।'हामीले निःशुल्क पाइने सिटामोल जस्ता औषधिसमेत हामीले मेडिकलबाट किनेर खानुपर्ने बाध्यता छ ।'