ज्येष्ठ नागरिकले बनाए विश्रामस्थल

ज्येष्ठ नागरिकले बनाए विश्रामस्थल

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ११, २०७७


लमजुङ । जिल्लाको बेँसीशहर नगरपालिका–८ स्थित शेरा चौतारा नजिकै विश्रामस्थल निर्माण भएको छ । 
बेँसीशहर नगरपालिका–८ का ८५ वर्षीय बिर्खबहादुर पौडेलले रु तीन लाख चार हजार २७४ आफ्नै लगानीमा विश्रामस्थल निर्माण गर्नुभएको हो । 

सो विश्रामस्थलको संविधानसभा सदस्य जमिन्द्रमान घलेले बुधबार उद्घाटन गर्दै नगरभित्रका सार्वजनिक जग्गा हराउँदै गएको अवस्थामा यसको खोजी र संरक्षण गर्नका लागि नगरपालिका लाग्नुपर्ने बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णप्रसाद अधिकारी र नेपाली काँग्रेसका श्रीकान्त घिमिरेले नयाँ पुस्ताले समेत यस्ता सामाजिक र मानवीय कार्य गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औल्याउनुभयो । 

आफ्ना पूर्खा बाजे मेजर कृष्णनन्द पौडेलले २३४ वर्ष अघि शेरा चौतारा स्थापना गरेको र उहाँको स्मृतिमा नै सोही चौतारा नजिकै विश्रामस्थल निर्माण गरिएको पौडेलले बताउनुभयो । 

जस्तापाताको छानो भएको सो विश्रामस्थलमा करिब ६० जना बस्न मिल्नेछ । विश्रामस्थल निर्माण भएपछि यहाँ यात्रु, पर्यटक, ज्येष्ठ नागरिकलाई विश्राम गर्न तथा सुरक्षाकर्मीलाई घामपानीका बेला ओत लाग्नलाई मिल्नेछ । विश्रामस्थलको निर्माणसँगै बर पिपलको बोट रहेको चौतारालाई समेत संरक्षण गर्दै रङरोगन गरिएको छ । विश्रामस्थल निर्माणले स्थानीयवासी खुशी भएका छन् ।