पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ११, २०७७

बागलुङ . प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र  रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नं ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गर्नुभयो ।

उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको काम शुरु गरिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो । चार सय मिटर दूरीको पदमार्ग छ महिनाभित्र बनाइसक्ने लक्ष्य लिइएको छ । पदमार्ग निर्माणका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक जुटाएका छन् । सहयोग अभियानबाट हालसम्म रु ६५ लाख सङ्कलन भएको जनाइएको छ ।

जापानमा रहनुभएका प्रेम कँडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियान चलिरहेको वडाध्यक्ष कँडेलले बताउनुभयो । 'जापान, युरोप, अमेरिकादेखि सबै देशमा रहेका बिहुँकोटे यो अभियानमा जोडिनुभएको छ', उहाँले भन्नुभयो, 'पदमार्गसँगै ऐतिहासिक बिहुँकोट संरक्षणको योजना पनि शुरु हुँदैछ ।'

हालसम्म सङ्कलित रकम पदमार्गमा मात्रै खर्च हुने देखिएकाले बिहुँकोट संरक्षण योजनाका लागि थप सहयोग जुटाउन आर्थिक सङ्कलन समिति क्रियाशील छ । दुवै योजनामा झण्डै  डेढ करोड बजेट लाग्ने अनुमान छ । पदमार्गका लागि वडा नं ६ लेसमेत छ लाख ३४ हजार बजेट छुट्याएको छ ।

पदमार्ग बनाउँदा स्थानीय स्रोत र सीपको प्रयोग गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताउनुभयो । उहाँका अनुसार पदमार्गमा ढुङ्गा, माटो नै बढी प्रयोग गरिने छ । पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउनुपर्ने स्थानीयवासी भरत सापकोटाले बताउनुभयो ।'ठाउँ–ठाउँमा विश्रामस्थल, रेलिङ बनाउनुपर्छ', उहाँले भन्नुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ । पदमार्गबाट मनोरम हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिने छ । पुष्पलाल मध्यपहाडी लोकमार्गबाट रामकोट नजिकै रहेकाले मोटरमासमेत सजिलै पुग्न सकिन्छ । रामकोटलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन राज्यका निकायदेखि जनस्तरबाट लगानी र सहयोग जुटिरहेको छ । रामकोटलाई तीर्थस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।