महिला सरकारी वकिलहरूको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु, ७२ जनाको सहभागिता

महिला सरकारी वकिलहरूको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु, ७२ जनाको सहभागिता

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १२, २०७७

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता दिँदै मिति २०७७ साल मङ्सिर ११ गते बिहीबार नेपालमा रहेका महिला सरकारी वकिलहरूको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु भएको छ ।  

उक्त सम्मेलनको भर्चुअल माध्यमबाट  महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा नायब महान्यायाधिवक्ताहरू, महान्यायाधिवक्ताहरू  लगायत ८० जनाको सहभागिता रहेको थियो । 

समारोहलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भौतिक उपस्थितिमा नै सम्मेलनको आयोजना गर्ने गरी तयारी गरिएकोमा कोभिड-१९ को महामारीका कारण अनलाइन zoom मार्फत नै यस प्रकारको राष्ट्रिय कार्यशालाको आयोजना गर्न लागिएको जानकारी गराउनुभएको थियो।

यस्तै उहाँले हाल नेपालमा १ जना महान्यायाधिवक्ता, १२ जना महान्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकिलहरू कार्यरत रहेकोमा जम्मा २ जना मात्र महिला सरकारी वकिलहरू ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको तर्फ स्मरण गराउँदै महिला सरकारी वकिलहरूलाई कार्यालय प्रमुखको जिम्मेवारी लिई कार्यसम्पादन गर्न प्रेरित गर्नुभएको थियो। 

यस प्रकारको कार्यशालाले महिला सरकारी वकिलहरूको नेतृत्व क्षमता विकासमा ठुलो टेवा पुग्ने तर्फ इङ्गित गर्दै कार्यशाला सफलताको शुभकामना दिनुभएको थियो ।उक्त कार्यशालाको अध्यक्षता महान्यायाधिवक्ता रमादेवी पराजुलीले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै महान्यायाधिवक्ता उर्मिला दाहालले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहायक महान्यायाधिवक्ता  रोशनी भण्डारीले गर्नुभएको थियो । 

दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकिलहरूको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसुर लगायतका विषयमा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू, माननीय महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरूको समुपस्थितमा छलफल सुरु भएको छ ।उक्त राष्ट्रिय कार्यशालामा ७० जना महिला सरकारी वकिलहरूको सहभागिता रहेको छ । कार्यशाला भोलि शुक्रवार निष्कर्षहरू जारी गर्दै समापन हुने समेत जनाइएको छ।